अन्नपूर्णकर्मी आचार्यसहित तीन पत्रकार सम्मानित
धरान : अन्नपूर्ण पोस्ट्का सुनसरी सम्वाददाता रत्नप्रसाद आचार्यसहित तीन पत्रकार सम्मानित भएका छन्। पत्रकारिताको माध्यमबाट सामाजिक विकृति र विसंगतिविरुद्ध काम गरेको भन्दै उनीहरूलाई धरानबाट प्रकाशित 'दिव्य रोशनी साप्ताहिक' को १५ औं वार्षिकोत्सवमा सम्मान गरिएको हो।
अन्नपूर्णकर्मी आचार्यलाई दिव्य रोशनीकी सम्पादक तथा प्रकाशक मनिता चाम्लिङले आफ्ना बाबु गोरखा भुतपूर्व सैनिक स्व. प्रभुराम राईको नाममा स्थापना गरिएको उत्कृष्ट सामाजिक पत्रकारिता पुरस्कार प्रदान गरियो। नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल, सम्पादक चाम्लिङ र अग्रज पत्रकार हर्ष सुब्बा र समाजसेवी मानबहादुर विक लगायतले आचार्यलाई नगद ५ हजार ५ सय ५ रुपैयाँसहित सम्मान पत्र प्रदान गरे।
क्रियाशील महिला पत्रकार पुरस्कार धरानकी जमुना श्रेष्ठ र सिर्जनशील युवा पत्रकारिता पुरस्कार तारा लामगादेलाई प्रदान गरियो। दुबैजनालाई नगद ५ हजार ५ सय ५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो।
महिला संजाल धरानकी अध्यक्ष सविता राई र समाजसेवी राजीव हलुवाईलाई पनि दोसल्ला ओडाएर सम्मान गरियो। राईले महिला तथा वालवालिकाको क्षेत्रमा र हलुवाईले स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्दे आएका छन्।