पत्रकारको आन्दोलन : कारागारमा सञ्चार सामाग्री बुझाइयो
परासी : पश्चिम नवलपरासीका पत्रकारले शुक्रबार कारागार कार्यालय नवलपरासीमा सञ्चार सामाग्री बुझाएका छन्। प्रतिनिधिसभामा पेश भएको मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलनरत पत्रकारले शुक्रबार विरोध प्रदर्शनपछि सञ्चार सामग्री कारागारमा बुझाएका हुन्।
सञ्चार सामाग्री कारागारमा बुझाउनु अघि सदरमुकाम परासीमा विधेयकविरुद्ध प्रदर्शन गर्दै पत्रकारले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका थिए।प्रदर्शनपछि कारागार पुगेका पत्रकारको टोलीले जेलर जगतबहादुर बस्नेतलाई सञ्चार सामाग्री बुझाएका हुन्।
विधेयकमा तोकिए अनुसारको जरिवाना पत्रकारले बुझाउन नसक्ने र कानुनअनुसार जेलमा जानु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरिएकाले जेलरलाई सञ्चार सामाग्री बुझाइएको पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष हरि शर्माले जानकारी दिए।
बुझाइएका सञ्चार सामाग्रीमा रेडियो, क्यामेरा, कलम, डायरीलगायत छन्। जेलमा समाचार लेख्न नपाए पनि सामाग्री देखेर पत्रकारिताप्रति थप उत्साह जाग्ने भएकाले उक्त सामाग्री जतनले राखिदिन पत्रकारले जेलर बस्नेतलाई आग्रह गरेका थिए।