नक्कली नोट लिन अन्सारी सालो लिएर विमानस्थल पुगेका थिए : यी हुन् कारोबारमा संलग्न ६
काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब आठ करोड भारतीय नक्कली नोट नेपाल भित्र्याउने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
शुक्रबार साँझ महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले कतारबाट नक्कली नोट ल्याउने तीन र रिसिभ गर्न विमानस्थल पुगेका तीन गरी ६ जनालाई सार्वजनिक गरेको हो।
पटकपटक नक्कली नोट कारोबारको मुद्दा खेपेर जेलसमेत भोगेका युनिस अन्सारी शुक्रबार भने सालोलाई लिएर नक्कली नोट लिन विमानस्थल पुगेका थिए।
ललितपुर महानगरपालिका १३ ताल्छीखेल बस्ने युनिस शुक्रबार बिहान ९ बजेतिर रौटहट जिल्ला रमौली बैरिया नगरपालिका १ बस्ने सालो सुयल खानलाई लिएर विमानस्थल पुगेका थिए। उनीहरुको गाडी चालक सूर्यविनायक नगरपालिका ५ बालकोट बस्ने सुदन रानाभाट थिए। प्रहरीले युनिससहित पैसा रिसिभ गर्न विमानस्थल पुगेका तीन जनासँगै कतारबाट पैसा लिएर विमानस्थल आइपुगेका तीन पाकिस्तानीलाई पक्राउ गरेको हो।
शुक्रबार बिहान ९ः४० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन तर्फको भन्सार क्षेत्रमा कतारको दोहाबाट काठमाडौं आएका तीन पाकिस्तानीले लगेजमा लुकाएर ल्याएको ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ रिसिभ गर्न अन्सारी सालोसहित विमानस्थल पुगेका थिए।
भारतमै प्रतिबन्धित दुई हजारको भारु नोट कसरी नेपाल भित्रियो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। दोहाबाट नक्कली नोटसहित विमानस्थल झरेका पाकिस्तानी नागरिक ४९ वर्षीय मोहमद अख्तर, ३९ वर्षीय नादिया अनवर र ६७ वर्षीय नसिर उद्दिन पक्राउ परेका छन्।
पाकिस्तानी नागरिकलाई विमानस्थल प्रहरी र भन्सार प्रहरीले पक्राउ गरेको हो। पैसा रिसिभ गर्न गएका तीन नेपालीलाई भने प्रहरीको विशेष ब्युरोले नियन्त्रणमा लिएको हो। प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार नक्कली नोट बरामदको विषयमा थप अनुसन्धान भइरहेको छ।
अन्सारी पटकपटक जाली नोट प्रकरणमा पक्राउ पर्दै रिहा हुँदै आएका व्यक्ति हुन्। तीन पाकिस्तानीले विमानस्थलसम्म ल्याएको नोट लिन शुक्रबार उनै अन्सारी विमानस्थल पुगेका थिए। विगत नेसनल टेलिभिजन सञ्चालनमासमेत संलग्न रहेका अन्सारी शुक्रबार प्रतिबन्धित भारु दुई हजारका नोट नेपाल भित्र्याउने क्रममा पक्राउ परेका हुन्।
रकम लिएर आउने पाकिस्तानी नागरिक तीन र रकम लिन विमानस्थल पुगेका अनसारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। नक्कली नोट र लागुऔषध ओसारपसार गरेको अभियोगपछि चार वर्ष कैद सजाय काटिसकेका अन्सारी पटकपटक पक्राउ पर्दै छुटेका थिए।
अन्सारी पहिलो पटक २०६५ मा त्रिपुरेश्वरबाट २५ लाख भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए। नक्कली नोट कारोबारपछि जेलपर्दासमेत उनले नक्कली नोट मगाउने गरेको रहस्य खुलेको थियो।
उनी कारागारमै हुँदा उनकै सेटिङमा २०६७ मा ४० लाख बढी नक्कली नोटसहित एकजना पक्राउ परेका थिए। अन्सारीमाथि २०६७ फागुन २६ गते केन्द्रीय कारागारभित्रै गोली प्रहार भएको थियो।