रिसइबीले आगलागी भएको आशंका

रिसइबीले आगलागी भएको आशंका

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुची बजारस्थित थापा जडीबुटी प्रशोधन केन्द्रमा बिहीबार राति भएको आगलागीको घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ।

१५ दिनयता बजार आसपासका क्षेत्रमा शृंखलाबद्ध आगलागीका घटना भइरहेका कारण प्रहरीले यस घटनालाई सूक्ष्म ढंगले अनुसन्धान सुरु गरिएको जनाएको छ। ‘दैनिकजसो बंगुरका खोर, मतान, परालमा आगलागीका घटना भइरहेका थिए’, घटनास्थलमै पुगेका उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले भने, ‘त्यहीँ शृंखलाबाट यो घटना पनि घटेको हुन सक्ने निष्कर्ष निकालिएका कारण चाँडै अनुसन्धान गरेर यथार्थ बाहिर ल्याउँछौं।’

उनले लगातार घटना घटेकोबारे प्रहरीलाई जानकारी नहुँदा जडीबुटी प्रशोधन केन्द्रमा आगलागीको ठूलो घटना भएको बताए। उनले भने, ‘यसअघिका घटना प्रहरीलाई जानकारी दिएको भए अनुसन्धान गरेर दोषी पत्ता लगाउने थियौं। प्रहरीले यसअघिका घटना थाहा नपाउँदा यति ठूलो क्षति हुन गयो।’ १५ दिनको अवधिमा आगलागीबाट चार जनाको भौतिक सम्पत्तिमा क्षति भइसकेकाले बाहिरबाट भन्दा पनि स्थानीयले रिसिइबीकै कारण घटना गराएको हुन सक्ने प्रहरीको अनुमान छ।

केही दिनअघि मात्र स्थानीय जगत आलेमगरको बंगुरको खोरमा आगलागी हुँदा बंगुर जलेर मरेका थिए भने खड्गीमाया लायो मगर, रीतबहादुर घिसिङको मतान, लोकबहादुर तामाङको ग्वाली आगलागीबाट ध्वस्त भएको स्थानीय गीता केसीले जानकारी दिइन्। उनले घटना कोही कसैबाट सञ्चालित गिरोहले गराएको हुन सक्ने अनुमान स्थानीय बासिन्दाले गरेको बताइन्।

बिहीबार पनि बन्द प्रशोधन केन्द्रमा पछाडिको ढोका फुटाएर आगो सल्काउनु र आगो निभाउने क्रममा कुलोबाट ल्याएको पानी पनि दुई पटकसम्म मारिनु अझ शंकास्पद रहेको स्थानीयको भनाइ छ। प्रशोधन केन्द्रमा लागेको आगो निभाउन कुलोबाट ल्याएको पानी प्रयोग गरिएको थियो। तर, आगो निभाउँदै गर्दा त्यही कुलो अज्ञात समूहले दुईपटक बन्द गरिदिएपछि आगो नियन्त्रणमा लिन कठिनाइ भएको प्रहरीको भनाइ छ।

मुर्कुची बजारको बीचमा रहेको थापा जडीबुटी तथा प्रशोधन केन्द्रमा भएको आगलागीबाट चार करोड बराबरको क्षति भएको छ। आगो राति अवेर मात्रै नियन्त्रणमा आएको थियो। बन्द प्रशोधन केन्द्रमा आगलागी हुँदा तेजपत्ता, अलैँची, चिराइतो, अम्रिसोको कुचोलगायत जडीबुटी र प्रशोधन केन्द्रको घर जलेको एसपी राईले बताए।

आगलागीबाट ४ लाख किलोग्राम तेजपत्ता, ६० मन अलैँची, २० क्विन्टल चिराइतो, ५ हजारवटा कुचो र गोदाम घर जलेर नष्ट हुँदा ठूलो क्षति भएको प्रशोधन केन्द्रका व्यवस्थापक श्यामलाल तामाङले बताए। ‘तेजपत्ताको जिल्लाकै ठूलो प्रशोधन केन्द्र हो’, उनले भने, ‘गोदाममा रहेको अधिकांश तेजपत्तालगायत जडीबुटी र प्रशोधन केन्द्रको घरमा पूर्णरूपले क्षति पुगेको छ।’

आगलागीको कारण अहिलेसम्म नखुले पनि रिसिइबीले कोही कसैले लगाइदिएको हुन सक्ने निष्कर्षमा प्रहरी पुगेको छ। साँझ ५ः३० बजेटबाट सुरु भएको आगो त्रियुगा र चौदण्डीगढी नगरपालिका, उदयपुर सिमेन्ट उद्योग, मदनभण्डारी लोकमार्गमा प्रयोग हुँदै आएका ४ वटा दमकल, स्थानीयबासी र प्रहरीको सक्रियतामा राति नियन्त्रणमा आएको थियो।

प्रशोधन केन्द्र विद्युत्विहीन घरमा छ। एसपी राईले भने, ‘बन्द प्रशोधन केन्द्रमा एक्कासि आगलागी भएको छ। कसैले रिसिइबीका कारण लगाइदिएको शंका छ।’ थापा जडीबुटी प्रशोधन केन्द्रका प्रोप्राइटर भरतबहादुर थापा बिहीबार बिहान मात्रै काठमाडौं गएका थिए। बिहान हिँड्नु र साँझ आगलागी हुनुले घटनालाई धेरै रहस्यम बनाएको प्रहरीको भनाइ छ।

‘भारतीय लोकसभाको निर्वाचनले सीमाक्षेत्र बन्द हुँदा एक महिनादेखि जडीबुटी निकासी भइरहेको थिएन’, व्यवस्थापक तामाङले भने, ‘एक साताभित्र लैजाने तयारी भइरहेका बेला आगलागीको घटना भयो।’

कोही कसैले आगो लगाइदिएको हुन सक्ने भन्दै घटनाको प्रभावकारी अनुसन्धानका लागि प्रहरीमा निवेदन दिइसकिएको तामाङले बताए। उदयपुरको तेजपत्ता भारत निकासी हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.