शहरभन्दा गाउँका सडक राम्रा
बिर्तामोड : गाउँका सडक भन्नासाथ धुलाम्मे, हिलाम्मे, साना र खाल्डाखुल्डी हुन्छ भन्ने बुझाइ धेरैमा हुन सक्छ। ठुला, चिल्ला सडक शहरी क्षेत्र र राजमार्ग मात्रै हुन्छन् भन्ने मान्यता पनि उत्तिकै छ। तर, झापामा यसको ठिक उल्टो छ। मुख्य शहरका सडक हिउँदमा धुलाम्मे र वर्षात्मा हिलाम्मे हुँदा गाउँका अधिकांश सडक सफा र राम्रा देखिएका छन्। गाउँ जोड्ने ठूला मात्र होइन साना सडक पनि कालोपत्रे गरेर चिल्लो बनाइएका छन्।
झापाको दक्षिणी क्षेत्र सडक सञ्जालका दृष्टिले पहिले दुर्गम मानिन्थ्यो। झापाका मुख्य शहर बिर्तामोड, दमक, अर्जुनधारा, काँकडभिट्टा र भद्रपुर जोड्ने बाहेक अन्य सडक पक्की थिएनन्। केही समयअघि दक्षिणी गाउँपालिका कचनकवलमा आयोजित कार्यक्रमलाई संघीय सांसद राजेन्द्र लिङ्देनले भनेका थिए, ‘पहिले यो स्थानका नागरिकले पक्की सडक हेर्न बिर्तामोड जानुपथ्र्यो। मोटरसाइकलबाट कचनकवल आउन कति सकस हुन्थ्यो तर अहिले त्यो अवस्था हटेको छ।’
जिल्लामा दुर्गम मानिने कचनकवल क्षेत्रमा अहिले कालोपत्रे दुई लेन सडक पुगेको छ। भद्रपुरबाट ३० किलोमिटर दक्षिणमा रहेको कचनकवल पुग्न पछिल्लो समय राम्रो सडक भएकाले स्थानीय लाभान्वित भएका छन्। ‘गाउँका नागरिक बजार पुगेर समयमै घर फर्किन्छन्। ठूलाठूला यात्रुबाहक बस गाउँमै पुग्छ’, स्थानीय रामेश्व अधिकारीले भने, ‘अहिले त काठमाडौंदेखि वनियानीसम्म सिधा बस सेवा सुरु भएको छ। स्थानीय खुसी छन्।’
कालोपत्रे सडक गाउँमै पुगेपछि स्थानीय उत्पादनले राम्रो बजार पाएको छ। गाउँमा आम्दानी बढेको छ। गाउँका पुराना बजार जोड्ने अधिकांश सडक कालोपत्रे गरिएका छन्। झापाको शिवसताक्षी, गौरादह, गौरीगञ्ज, झापाजस्ता गाउँपालिका जोड्ने सडक कालोपत्रे भइसकेका छन्। कच्ची सडकमा साइकलको लेन पच्छ्याउँदै पाइडल चलाउनु पर्ने बाध्यता हटेको बनियानीका धु्रव पौडेलको भनाइ छ। ‘गाउँको तुलनामा शहरका सडक फोहोर र खाल्डाखुल्डी छ’, उनले भने।
भद्रपुर दक्षिणका अधिकांश स्थानीय यसअघि परिवारका लागि मात्रै खेती गर्थे। सडक सुविधा पुगेपछि नगदे बाली लगाउन किसान बढ्नुका साथै आम्दानी पनि बढेको पौडेलको भनाइ छ। कालोपत्रे सडक पुगेपछि गाउँमा चहलपहल पनि बढेको छ। सडक फराकिलो हुँदा सवारीसाधनको संख्या बढेको छ। भद्रपुर–१ पृथ्वीनगरका व्यवसायी रोशन श्रेष्ठका अनुसार उक्त क्षेत्रको व्यापार पहिलेभन्दा दोब्बर बढेको छ।
सडक कालोपत्रे हुनुभन्दा अगाडि सडक छेउका घर धुलोले ढाकिएको हुन्थ्यो। अहिले गाउँका घर पनि रङरोगन गरेर चिटिक्क बनाउन थालिएका छन्। यसअघि भद्रपुर दक्षिणका स्थानीयको जनजीवन कष्टपूर्ण थियो। समयमा सवारी साधन नपाइने, भएका सवारी पनि सदरमुकामसम्म पुग्छ कि पुग्दैन भन्ने अवस्था हुन्थ्यो। बिरामीलाई अस्पताल लैजान झनै समस्या हुन्थ्यो। सडक कालोपत्रे भएपछि यी समस्याबाट स्थानीय मुक्त भएका छन्।
पहिले ट्र्याक खोलिएका सडक स्थानीय तहमा जनप्रतिनिधि आएपछि धमाधम कालोपत्रे र स्तरोन्नति भएको कचनकवल गाउँपालिका प्रमुख अञ्जार आलमले बताए। ‘यो क्षेत्र झापामा हेपिएको क्षेत्रका रुपमा चिनिन्थ्यो। अहिले विकासले फड्को मारेको छ’, उनले भने। आलमले सडकको अवस्था शहरभन्दा गाउँमा राम्रो र टिकाउ भएको आलमको भनाइ छ। ‘शहरका अधिकांश सडक धुलाम्य, हिलाम्य र खाल्डाखुल्डीमात्रै छन्’, उनले भने, ‘अहिले गाउँका सडक चिल्ला र टिकाउ देखिएका छन्।’