नागढुंगामा आफैंले बोकेको बम विस्फोट हुँदा दुई घाइते, जावलाखेल र ग्वार्कोमा शंकास्पद बस्तु
काठमाडौं : राजधानी काठमाडौं भित्रिने नाका नागढुंगामा बम ल्याउँदै गरेका दुईजना विस्फोटमा परेर घाइते भएका छन्। आफैंले बोकेर ल्याउँदै गरेको बम पड्केर दुईजना घाइते भएको काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले जानकारी दिए।
सिंहका अनुसार ती दुईजना मोटरसाइकलमा आउँदै थिए।
यता ललितपुरको जवालाखेल बसपार्कमा शंकास्पद प्रेसर कुकर भेटिएको जवालखेलका डीएसपी नारायण चिमोरियाले जानकारी दिएका छन्। अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ।
ललितपुरकै ग्वार्कोस्थित गुण सिनेमा हल नजिकै शंकास्पद बस्तु भेटिएको छ।
यसअघि सुकेधारा र घट्टेकुलोमा भएका विस्फोटमा चारजनाको मृत्यु भएको छ। घट्टेकुलोमा एकजनाको र सुकेधारा विस्फोटमा घटनास्थलमै दुई र ओम अस्पतालमा उपचारका क्रममा एकजनाको गरी तीनजनाको मृत्यु भएको छ।
सुकेधारा विस्फोटका पाँच घाइतेको अहिले ओम अस्पतालमा उपचार भइरहेको छ।