घुस लिएको आरोपमा दुई कर्मचारी अख्तियारको फन्दामा
बिर्तामोड : आफू कार्यरत कार्यालयकै प्रशिक्षक कर्मचारीबाट घुस लिएको आरोपमा अख्तियारको टोलीले झापामा दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो अख्तियारको टोलीले भद्रपुर ८ स्थित व्यवसायिक तथा सीप विकास तालिम केन्द्रमा कार्यरत नायव सुब्बा राजकुमार धिमाल र केन्द्रका प्रमुख सुमेन्द्र मण्डललाई नियन्त्रणमा लिएको हो।
नायव सुब्बा राजकुमार धिमालले तालिम प्रशिक्षक कर्मचारीबाटै ३५ हजार घुस लिएको रकमसहित रंगेहात कार्यालयबाटै नियन्त्रणमा लिएको अख्यितार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्की बताए।
केन्द्रले सञ्चालन गर्ने विभिन्न तालिमका लागि प्रशिक्षार्थीबाट प्रमुख र नासुले रकम माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारले छापा मारेको कार्कीको भनाई छ।
विद्युत जडानसम्बन्धित तालिम कार्यक्रमका लागि आएको १ लाख बजेट मध्येबाट ३५ हजार घुस प्रशिक्षकबाट नायव सुब्बा राजकुमार धिमालले लिएको र सो घटनामा प्रमुखको पनि मिलेमतो हुनसक्ने भएकाले धिमालसहित प्रमुख सुमेन्द्र मण्डललाई नियन्त्रणमा लिएको उनको भनाई छ।
प्रहरी निरीक्षक कार्कीसहितको पाँचजनाको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इटहरी लगेको छ । घुस रकमसहित रंगेहात फेला परेका नायव सुब्बा धिमालले आफूले घुस नलिएको तर, प्रशिक्षक कर्मचारीले फसाएको प्रतिकृया दिएका छन्। 'केन्द्रकै तालिम प्रशिक्षक (कर्मचारी) दीर्घ धिमालले ३५ हजार रकम मलाई ल्याएर राख्न दिएको हो, सो रकम तालिममा सहभागी विद्यार्थीलाई बाड्ने भत्ता हो,' आरोपित धिमालले भने। रकम लिनेदिने दुबैको पारिवारिक सम्बन्ध समेत रहेको खुलेको छ।
उनले व्यक्तिगत रिसिबी निकाल्न कर्मचारीले अख्तियार बोलाएर आफूलाई पक्राउ गर्न लगाएको आरोप लगाएका छन्। केन्द्रका कर्मचारी स्रोतका अनुसार केन्द्रले २०७६ साल वैशाख ६ गतेदेखि खुजुरगाछीमा विद्युत जडानसम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेको छ।
धुलावारी घर भएका प्रशिक्षक दीर्घले सो तालिम मेचीनगरमा सञ्चालन गर्नुपर्छ भन्दै केन्द्रमा दबाब दिँदै आएका थिए। तर, केन्द्र प्रमुख धिमालले उनको दबाबलाई नमानेर सो तालिम खुजुरगाछीमा लगेर सञ्चालन गरेको र सोही निहुँमा अख्तियार बोलाएर कर्मचारीले कर्मचारीलाई नै पक्राउ गर्न लगाएको एक कर्मचारीले नाम नखुलाउने सर्तमा बताए। प्रहरी निरीक्षक राजन कार्कीले सो विषयमा पनि अनुसन्धान हुने बताए।