ग्राहकको अवस्था बुझेर पोलिसी सिफारिस गर्छौँ

ग्राहकको अवस्था बुझेर पोलिसी सिफारिस गर्छौँ

सानिमा ग्रुपले सञ्चालन गरेको सानिमा लाइफ इन्स्यारेन्स २०७४ भदौदेखि सञ्चालनमा आएको हो। बजार विस्तारमा आक्रामक देखिएको सानिमा लाइफ इन्स्यारेन्सले चाँडै नै प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्न लागेको छ। यसै विषयमा सानिमा लाइफ इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमिल्सिनासँग अन्नपूर्णकर्मी निर्दोष घोरसाइनेले गरेको कुराकानी:



बिमा बजारमा नयाँ कम्पनी थपिएसँगै प्रतिस्पर्धा बढेको छ। नयाँ कम्पनीको अनुभव के छ?

बजार प्रतिस्पर्धात्मक नै छ। सानो बजारमा प्रतिस्पर्धा हुने स्वभाविक हो। कम्पनीहरू थपिएसँगै सेवाग्राहीलाई छनोटको सुविधा पनि बढेको छ। सेवाग्राहीले रुचाउने खालको योजना ल्याउनुपर्नेछ। आकर्षक योजनाले मात्र सेवाग्राही आकर्षित गर्न सकिन्छ। अहिले जनसंख्याको १७ प्रतिशतमा मात्रै जीवन बिमाको पहुँच पुगेको छ। यो एक हिसाबले अवसर पनि हो। पहुँच नपुगेको जनसंख्यामा पहुँच पुर्‍याउने अवसर बाँकी नै छ।

बिमाको पहुँच कम हुनुमा जागरण नभएर हो कि, आयस्तर प्रमुख कारण हो?

हामीकहाँ बिमासम्बन्धी चेतनाको कमी छ। बिमाबाट प्राप्त हुने लाभबारे धेरैलाई जानकारी छैन। विकसित मुलुकमा शरीरका प्रत्येक अंगको बिमा गरिन्छ। यहाँ जीवन बिमा योजनामा सहभागी हुनेभन्दा नहुनेको संख्या धेरै छ। मानिसमा जीवन बिमा भनेको मृत्युपछि मात्रै लाभ प्राप्त हुन्छ भन्ने भ्रम छ। बिमाका विभिन्न पोलिसीमध्ये यो एउटा पाटो हो। बिमाबाट जीवित अवस्थामै थ्रुप्रै लाभ लिन सकिने योजना पनि छन्।

यसबारे सेवाग्राहीलाई पर्याप्त रूपमा सुसूचित गर्न सकिएको छैन। यसका लागि बिमा समिति र निजी कम्पनीबाट सेवाग्राहीलाई बिमासम्बन्धी जनचेतना जगाउने काम भइरहेको छ। तर, त्यो पर्याप्त छैन। बिमा क्षेत्रको मैदानी सिपाही बिमा अभिकर्ता हुन्। अभिकर्तालाई प्रभावकारी रूपमा परिचालन गर्न नसक्नु एउटा प्रमुख कारण हो। यसका लागि दक्ष अभिकर्ता विकास गरेर उनीहरूको कार्य क्षेत्र विस्तार गर्नुपर्छ। दक्ष अभिकर्ताका माध्यमबाटै बिमकको संख्या बढाउन सकिन्छ। दक्ष अभिकर्ताले सेवाग्राहीलाई सही सूचना प्रवाह गर्न सक्छन्। साथै कम्पनीका कर्मचारी पनि दक्ष हुन आवश्यक छ। बिमा गरेबापत हुने फाइदाको सही जानकारी दिन सकेमात्रै बजार बढ्छ।

बिमा कम्पनीलाई सहर केन्द्रित भएको भन्ने आरोप छ। सानिमाले कसरी सेवा प्रवाह गरिरहेको छ?

जनताको आवश्यकता अनुसार सेवा दिनुपर्छ भन्ने अवधारणा अनुसार कम्पनीले काम गरिहेको छ। हामी मार्केट टेकर नभएर मार्केट मेकर हौं। अरुले विस्तार गरेको बजारमा प्रवेश गर्नुभन्दा नयाँ बजार खोज्नेतर्फ केन्द्रित छौं। सहरी क्षेत्रमा बिमा कम्पनीको संख्या धेरै पुगिसकेको छ। नयाँ बजारका लागि गाउँ नै उपयुक्त हो। कम्पनीको सेवा गाउँ केन्द्रित गर्दै छौं। एक साता अघिमात्र जुम्ला र दैलेखमा नयाँ शाखा खोलेका छौं। निकट भविष्यमा अन्य स्थानमा पनि शाखा खोल्ने क्रममा छौं।

बिमा क्षेत्रमा नियमित पोलिसी नवीकरण नगर्ने समस्या छ। सानिमा लाइफको ल्याप्स रेसियो कति छ?

बिमा पोलिसीलाई सक्रिय राख्न नियमित पोलिसी नवीकरण गर्नुपर्छ। सेवाग्राहीमा बिमासम्बन्धी सही सूचना नपुगेमा यस्तो समस्या आउने गर्छ। बिमा पोलिसीलाई चलायमान राख्न नियमित प्रिमियम बुझाउनुपर्छ। आर्थिक अवस्थाले थेग्नेभन्दा धेरैको पोलिसी खरिद गरेमा पनि समस्या आउँछ। पोलिसी बिक्री गर्ने अभिकर्ता र कम्पनीले सेवाग्राहीको आर्थिक क्षमताका आधारमा पोलिसी बिक्री गर्नुपर्छ। सेवाग्राहीलाई भिडाउन मात्र पोलिसी बेच्नु हुँदैन। कमिसनको लोभले पनि सेवाग्राहीको क्षमताभन्दा धेरैको पोलिसी भिडाउने परिपाटी छ।

साथै सेवाग्राहीलाई प्रिमियम तिर्नुपर्ने म्यादका जानकारी दिन अभिकर्ता र बिमा कम्पनी चुकिरहेका छन्। पोलिसी नवीकरणको समस्या जिरो हुनुपर्छ भनेर सानिमाले काम गरिरहेको छ। यसका लागि कम्पनीले सेवाग्राहीको आर्थिक क्षमताको अध्ययन गरेर मात्र पोलिसी बेच्ने गरेको छ। साथै सेवाग्राहीलाई आवश्यक सुझाव पनि दिने गरेका छौं। एक प्रतिशतभन्दा थोरै पोलिसी नवीकरण नगर्नेको संख्या छ।

बजारमा उपलब्ध धेरै बिमा पोलिसी उस्तै खालका छन्। पोलिसी डुप्लिकेसनले पनि ग्राहकलाई बिमा योजनामा सहभागी हुन भ्रमित गरेका छन्? यस्तो समस्याको सामना सानिमाले कसरी गरिरहेको छ?

कुन बिमा पोलिसी खरिद गर्दा उपयुक्त हुन्छ भन्ने सेवाग्राहीमा चेतना हुन आवश्यक छ। पोलिसी खरिद गर्नुअघि यसमा समावेश गरिएका योजनाबारे राम्रोसँग अध्ययन गर्नुपर्छ। आफ्नो आर्थिक क्षमता र सामाजिक जटिलता हल गर्ने पोलिसी खरिद गर्नुपर्छ। सानिमाले बजारको मागअनुसार बिमा पोलिसी जारी गर्ने गरेको छ। पोलिसीबारे अध्ययन गर्न कम्पनीसँग छुट्टै युनिट छ। अन्य कम्पनीको पोलिसीसँग डुप्लिकेसन नहोस् भनेर साथीहरूले काम गरिरहनुभएको छ। हाम्रा पोलिसी अन्य कम्पनीको दोहोरोपना (डुप्लिकेसन) छैन। अद्वितीय र ग्राहक लाभाम्वित हुने पोलिसी छन्। बजारको आवश्यकता अनुसार पोलिसी कम्पनीसँग छ।

सेवाग्राहीले कम्पनीको योजनाबाट कसरी लाभ लिन सक्नेछन्?

सेवाग्राहीको लाभलाई ध्यानमा राखेर कम्पनीले पोलिसी तयार गर्ने गरेको छ। विभिन्न उमेर समूह र सामाजिक परिवेश सुहाउँदो पोलिसी छ। कम्पनीसँग यस्ता ८ वटा अद्वितीय योजना छ। महिनाको दुई सय रुपैयाँदेखि आर्थिक अवस्थाले थेग्नेसम्मको बिमा योजना छ।

कम्पनीको जीवन श्री योजनामा प्रतिहजार ७० रुपैयाँ बोनस र प्रिमियममा पनि लिमिटेड छ। यसको १० वर्षे पोलिसी खरिद गर्ने ग्राहकले ६ वर्षको प्रिमियम तिरे पुग्छ। बाँकी चार वर्षको कम्पनीले तिर्छ। बिमा परिपक्वता भएपछि पाउने सुविधा छँदै छ। यस्तो खालको योजना अन्य कम्पनीसँग छैन। साथै दम्पती बिमा योजना पनि छ। यसमा श्रीमान् श्रीमतीमध्ये एक जनाले बिमा गरेमा एउटा पोलिसीबाट दुवैले सुविधा पाउनेछन्। यस्तै बाल सौगातमा ६५ प्रतिशत ग्यारेन्ट बोनस छ। यो पोलिसीमा प्रस्ताव बस्नेको पनि नि:शुल्क बिमा हुन्छ। १७ देखि २१ वर्षसम्म बिमांकको २० प्रतिशत प्रत्येक वर्ष दिने गरेका छौं। परिपक्वतापछि पनि ५ वर्षसम्म बिमा जारी रहन्छ। यसका लागि सेवाग्राहीले प्रिमियम तिर्नुपर्दैैन। अर्को शुभ लक्ष्मी बिमा पोलिसी लिने सेवाग्राहीले तीन गुणा लाभ लिन सक्नेछन्।

सानिमाबाट नै किन बिमा पोलिसी खरिद गर्ने?

मुलुककै प्रतिष्ठित व्यापारिक घराना सानिमा ग्रुप यसको प्रवद्र्धकको रूपमा छ। यो ग्रुपले नेपालका साथै विश्वका अन्य मुलुकमा लगानी गर्दै आएको छ। ग्रुपमा एनआरएनएको लगानी छ। यो ग्रुपले बैंक, जलविद्युत्, निर्माण कम्पनी, मिडिया, हस्पिटल, शिक्षा, होटल, परामर्शदातालगायत क्षेत्रमा लगानी छ। सबै व्यवसायमा ग्रुप सफल छ। ग्रुपबाट पूर्ण आश्वस्त हुन सक्ने अवस्था छ।

बिमा भनेको बचतका साथै लाभ पनि हो। राम्रो प्रतिफल र लगानी सुनिश्चित गर्न बिमा गरिन्छ। यो सबै कुरा कम्पनीसँग छ। सेवाग्राहीको आवश्यकता अनुसार पोलिसी छ। आर्थिक अवस्था सुहाउँदो पोलिसी भएकाले सेवाग्राहीले सानिमा रोज्नुपर्छ। हालसम्म रोज्दै पनि आउनु भएको छ।

कम्पनीको भावी योजना कस्तो छ?

अधिकभन्दा अधिक सेवाग्राहीमाझ पुग्ने कम्पनीको योजना छ। हाल ५० शाखा सञ्चालनमा छन् भने १५ शाखा थप्ने क्रममा छौं। १४ वटा बैंकसँग बैंकासुरेन्स सम्झौता भइसकेको छ। एक साताभित्र थप २ बैंकसम्म सम्झौता गर्दै छौं। साथै सेवाग्राहीको आवश्यकता अनुसार पोलिसी थप्दै जाने तयारीमा छौं। निकट भविष्यमा चारवटा नयाँ बिमा योजना ल्याउदै छौं। यी योजना स्वीकृतिका लागि बिमा समितिमा पेस गरिसकेका छौं। छिट्टै नै स्वीकृति भएर आउनेछ। यसमा घातक रोगसम्बन्धी पोलिसी पनि छ। यस्तो रोगको उपचारमा ठूलो पैसा खर्च हुन्छ। त्यसको निराकर गर्ने पोलिसी हुन्छ।

अबको सेवा भनेको प्रविधिमैत्री हो। यसका लागि कम्पनीले काम गरिरहेको छ। कम्पनीको आफ्नै एप्स छ। साथै एसएमएमबाट पनि सेवा दिन लागिरहेका छौं। इन्ट्रिगेसनको काम हुँदै छ। अनलाइनमार्फत सेवा लिन सक्ने तयारीमा छौं। कम्पनीका कर्मचारी र अभिकर्तालाई दक्षता अभिवृद्धि गर्नुपर्छ। अहिले पनि बजारमा उपलब्ध कर्मचारी र अभिकर्ता योग्य छन्। कम्पनीको नीति र बजारको आवश्यकता अनुसार नविनतम विचार प्रवाह गर्नेछौं। सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा छ। वित्तीय अवस्था सुदुढ भएकाले आईपीओमा जान समस्या छैन। एक वर्षभित्र आईपीओ जारी गर्नेछौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.