पूर्वमा पेट्रोलियम पदार्थ सहज बन्दै
बिर्तामोड : भारतको पश्चिम बङ्गालस्थित पानीट्यांकीमा रोकिएका तेलवाहक नेपाली ट्याङ्कर नेपाल भित्रिएका छन्। मंगलबार रातिदेखि पूर्वी नाका काँकडभिट्टाहुँदै ट्याङ्कर नेपाल भित्रिएका हुन्। भारतको भन्सारमा अनलाइन इन्ट्री सिस्टममा ढिलाई हुँदा पश्चिम बंगालको पानीट्याङ्की भन्सारमा गत शुक्रबारदेखि पेट्रोलियम पदार्थ बोकेका ७२ वटा ट्याङ्कर रोकिएका थिए। मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालका अनुसार बुधबार बिहानसम्ममा सबै ट्याङ्कर नेपाल भित्रिएका छन्।
शुक्रबारदेखि नै ट्याङ्कर भारतमा रोकिँदा पूर्वी नेपालमा तेलको अभाव सुरु भएको थियो। तेल पर्याप्त नहुँदा झापासहित इलाम, पाँचथर र ताप्लेजुङका ६० पेट्रोल तथा डिजलपम्पमध्ये केही बन्द भएपछि पेट्रोलियम पदार्थको अभाव देखिन सुरु भएको थियो।
ट्याङ्कर नेपाल भित्रिएसँगै मंगलबार रातिनै तराईका जिल्लामा रहेका पम्पसम्म ट्याङ्कर पुर्याउने व्यवस्था मिलाइएकाले बुधबार बिहानदेखि पेट्रोलियम पदार्थ वितरणमा सहजता सुरु भएको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए। उनका अनुसार बुधबार बेलुकासम्ममा पहाडी जिल्लामा समेत ट्याङ्कर पुग्ने भएकाले तेल वितरणमा समस्या देखिने छैन।
प्रदेश १ का साविक मेची अञ्चलका चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको नेपाल आयल निगम चारआलीले जनाएको छ। भारतले गत शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न सुरु गरे पनि प्राविधिक सिस्टममा समस्या आएको भन्दै नेपाली ट्याङ्करलाई रोकेको थियो।