मध्यपहाडी र हुलाकीका २४ पुल रुग्ण

मध्यपहाडी र हुलाकीका २४ पुल रुग्ण

काठमाडौं : राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी र हुलाकी राजमार्गमा पर्ने करिब तीन अर्ब रुपैयाँ बराबरका २४ वटा पुल रुग्ण भएका छन्। २४ वटा पुलको ठेक्का अवधि समाप्त हुँदा पनि निर्माण कार्य अघि बढेको छैन।

मध्यपहाडी राजमार्गअन्तर्गत १४ र हुलाकी राजमार्गमा १० पुल समयमै निर्माण सम्पन्न नभएर रुग्ण भएका हुन्। मध्यपहाडीका यी पुल एक अर्ब एक करोड ४३ लाख रुपैयाँ बराबरको ठेक्का हो। हुलाकीको आठ वटा पुल एक अर्ब ५७ करोड ९५ लाख रुपैयाँमा ठेक्का लगाइएको छ। मध्यपहाडीअन्तर्गत पाँचथरका ओसमखोला पुल, सुखाखोला पुल, खण्डुवाखोला पुल, छाङ्खोला पुल, तेह्रथुममा खोरुंगा खोला पुल, धनकुटामा मङ्ममाया पुल छन्। खोटाङमा पंखुखोला पुल, भल्केखोला पुल र दोन्तोखोला पुल छ। सिन्धुलीमा बहादुरेखोला पुल, खाङ्साङ खोला पुल÷सोखु खोला पुल, बागलुङमा खहरे खोला पुल, पूर्वी रुकुममा रेली खोला पुल र जाजरकोटमा भेरीखोला पुल रुग्ण बनेका हुन्।

हुलाकीअन्तर्गत झापाको विरिङ खोला पुल, कन्काई पुल, धनुषामा कमला पुल, सिरहामा बलान पुल छन्। यसका साथै सर्लाहीमा बाँके नदी पुल, बागमती नदी पुल, पर्सामा तिलाबे पुल, तिनाऊ खोला पुल, दानव खोला पुल र कान्द्रा नदी पुल अलपत्र परेका छन्। चितवन राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्ने विभिन्न ९ वटा पुल पनि वर्षौंदेखि अलपत्र छन्। ठेक्का सम्झौता भई निर्माणमा गएका त्यस्ता पुल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन, मुआब्जा समस्यालगायतका कारण निर्माण कार्यमा अवरोध कायमै छ।

मध्यपहाडी राजमार्गमा कूल एक सय ३३ पुल बनाउनुपर्छ। त्यसमध्ये हालसम्म ७० ओटा पुल बनिसकेका छन्। २७ ओटा पुल निर्माणाधीन, १८ ओटा पुल ठेक्का सम्झौता भइसकेका र १९ ओटा ठेक्कामा जान बाँकी छन्। मध्यपहाडी राजमार्गमा संशोधित बजेट ८४ अर्ब रुपैयाँ पुगेको छ। यो १८०० किलोमिटर लम्बाइको सडक आयोजना हो।

हुलाकी राजमार्गमा २१९ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ८० निर्माण सम्पन्न भइसकेका छन्। ८० निर्माणाधीन छन् भने ५९ पुल ठेक्कामा जान सकेका छैनन्। १७९२ किलोमिटरको हुलाकी राजमार्गमध्ये ५४४ किमी सडक पनि टेन्डर हुन बाँकी छ। राजमार्गको निर्माणको क्रममा पुल बनाउने भन्दै ठेक्कामा लगाए पनि सरकारी अनुगमन र ठेकेदारको लापारबाहीको कारण रुग्ण बन्न पुगेको हो। हुलाकी राजमार्गमा रुग्ण बनाइएका १० पुलमध्ये २ वटा ठेक्का सम्झौता तोडिएको सडक विभागले जानकारी दिएको छ। तिनाउ खोला र दानव खोला पुल निर्माणको जिम्मा पाएको पप्पु बम्ती जेभीसँगको ठेक्का सम्झौता तोडिएको हो। यी निर्माण व्यवसायीले समयमा काम नगरेका र विभागको पत्रको जवाफ नपठाइ सम्पर्कमा नबसेकाले ठेक्का सम्झौता रद्द गरिएको हो।

संघीय संसद्को प्रविधि तथा विकास समितिले मध्यपहाडी (पुष्पलाल) राजमार्ग र हुलाकी राजमार्गमा रहेका रुग्ण पुलको निर्माण कार्य तत्काल अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिले शुक्रबार भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, मन्त्रालयका सचिवलगायतसँग छलफल गरी उक्त निर्देशन दिएको हो। सांसद गौरीशंकर चौधरीले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न सक्नु पर्ने बताए। सांसद गणेश पहाडीले भने, ‘केही ठेकेदारले मोबिलाइजेसनको रकम घर जग्गा खरिदमा प्रयोग गरिरहेका छन्। यस्ता ठेकेदारलाई कालो सूचीमा राख्नुपर्छ।’ सरकारले चार वर्ष भित्रमा मध्यपहाडी र हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।

पूर्वप्रधानमन्त्री एवं समितिका सदस्य झलनाथ खनालले मध्यपहाडी र हुलाकी राजमार्ग दूरगामी महत्वका आयोजना भएकोले समयमा सम्पन्न गर्न जोड दिए।

समितिकी सभापति कल्याणीकुमारी खड्काले चार वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्यअनुसार दुवै राजमार्गको काम अगाडि बढाउनु पर्ने बताइन्। उनले अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिइन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले सरकारको लक्ष्यअनुसार २०७९÷८० भित्रमा यी दुई राजमार्ग निर्माण गर्ने दाबी गरे। ‘यी राजमार्गको निर्माण कार्य वर्षदेखि सुरु गरिएको हो। वर्तमान सरकारको कारणले मात्र यो आयोजना ढिलाई भएको हैन’, महासेठले भने, ‘अर्थ मन्त्रालयले पनि यसलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। भौतिक मन्त्रालयले त्यही लक्ष्य अनुसार काम गर्नेछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.