धन्यवाद प्रधानमन्त्रीज्यू

धन्यवाद प्रधानमन्त्रीज्यू

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार, 

सर्वप्रथमत तपाईंलाई धेरै-धेरै धन्यवाद। यो पत्र लेख्दै गर्दाको मेरो खुसी मापन गर्ने  यन्त्र सायदै बनेको छैन होला। त्यसैले त खुसी व्यक्त गर्न अक्षरको साहरा लिएकी छु। 

गुल्मीमा बसेर पत्रकारिता गर्दै सामाजिक अभियानमा सक्रिय छु। विगत ७ वर्षदेखि सुरक्षित महिनावारी राष्ट्रिय अभियानमा क्रियाशिल छु।  हुन त नेपालका झण्डै ३ करोड नेपालीलाई एक एक गरी चिन्न र बुझ्न तपाईंलाई सम्भव छैन। तर, हामी आम नागरिकले हाम्रो देशको प्रधानमन्त्रीलाई चिनेका छौँ। 

यसभन्दा अगाडि २०७३ साल जेठ ९ गते  अन्नपूर्णपोस्ट् डटकममार्फत् ‘महिनावारीको पीडा पोख्दै प्रधानमन्त्रीलाई किशोरीको पत्र’ शीर्षकमा मैले खुल्लापत्र लेखेकी थिएँ। 

त्यो पत्र पढ्ने फुर्सद मिलेको थियो वा थिएन। त्यो मलाई थाहा भएन। मैले यतिमात्रै बुझेकी छु। हामी नेपाली छोरीको महिनावारी पीडा  बुझ्नुभयो। आर्थिक वर्ष २०७६÷७७ को बजेटमा देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानेटरी प्याडको व्यवस्थाले किशोरीलाई पक्कै राहत हुनेछ।  

यस कार्यक्रमले हामी नेपाली छोरीलाई सम्बोधन गरेको छ। नेपाली छोरीको महिनावारीलाई स्वास्थ्य र पीडामुक्त बनाएको महसुस मैले गरेकी छु। महिलावारीको विषयमा सबैले बुझ्न जरुरी छ। किनकी कुनै एक छोरीको महिनावारी समस्या उसको मात्र हुनै सक्दैन। एक छोरीको समस्या र पीडाले सिंगो परिवार, समाज र राष्ट्रलाई प्रभावित बनाएको हुन्छ। 

केही वर्ष अगाडिसम्म हामीले महिनावारीलाई धर्मसँग जोडेर विभिन्न बहानामा दुःख पायौं। अझ भन्नुपर्दा कष्टकर जीवन बितायौं। महिनावारी हुनु भनेको पाप हो भनेर समाजले हामीलाई विभेद गर्यो। 

  अब किशोरीले स्यानेटरी प्याड नपाएर विद्यालयबाट घर फर्किनुपर्ने छैन।

माजले सिर्जना गरेको कथित पाप पखाल्न अनेक दुःख र कष्ट सहनु पर्यो। यही पापको मानसिकताले कयौं किशोरी, छोरी, बुहारी र आमाले ज्यान गुमाए। 

महिनावारी हुँदा खुसीले गद्गद् हुनुपर्ने छोरीको अनुहार पीडाले छोपिएको हुन्छ। कति किशोरी विद्यालय जान नसकेर घरमै लुकेर बस्न बाध्य छन्। अझ समाजकै दृष्टिकोणका कारण शरीरमा अनेकौं परिवर्तन भइरहँदा परिवारभन्दा टाढा एक्लै बस्न बाध्य छन्। 

महिलाले मात्र प्राप्त गर्ने यो अनुपम बरदानको समयमा उनी पीडामा छटपटाउनमात्र सक्छिन्। तर, दुःख कसैलाई साट्न सक्दिनन्। यो प्राकृतिक नियम हो। समाजका जस्तासुकै बन्धनले पनि यसलाई रोक्न सक्दैन। तर, पनि अनेक अल्झन राखेर यो सुन्दर चक्रलाई समाजले कुदृष्टि राख्नु नै किशोरीका लागि अभिषाप  हुन्छ। यो प्राकृतिक नियमलाई कष्टले होइन खुशी र उत्सवले पूरा हुन दिनुपर्छ। 

स्यानेटरी प्याड सम्बन्धी सरकारी घोषणा तत्काल कार्यान्वयन होस्। अब कुनै पनि किशोरी रजस्वला भएपछि पढ्न छोडेर विद्यालयबाट घर फर्किनु नपरोस्। अनि छात्राले स्कुल वरिपरी बर्खे भेलले बगाएर ल्याएको टालो खोजेर योनीमा लुकाएर राख्नु नपरोस्।  कक्षाकोठाको बेन्चमा रगत लत्पतिएपछि साथीको घृणा सहन नसकेर विद्यालय जान्न भन्नु नपरोस्। 

विश्वास छ यो सरकारी घोषणाले महिनावारी भएको थाहा पाएका  छात्र (केटा) साथीलाई  देख्दा दैनिक शिर झुकाएर हिड्नुपर्ने अवस्था हुनेछैन।  महिनावारी किशोरीको रहर होइन बाध्यता हो। यो पाठ हरेक विद्यालयका छात्रछात्रा सबैलाई सँगै राखेर पढाउनु आवश्यक छ। लुकेर होइन खुला रुपमा बहस गरेर यसको समाधान गर्नुपर्छ। 
    
प्रधानमन्त्रीज्यू आफैँ भन्नुहुन्छ, ‘सृष्टिको सबैभन्दा सुन्दर चिज खोजी गर्नुपर्यो भने प्रत्येक घरका महिलाको अनुहार हेरे हुन्छ।’ जसलाई विश्वभरका साहित्यकारले पनि अक्षरले वर्णन गर्न सक्दैनन्। समाजले अनेक बहानामा महिनावारी हुँदा दाग देखाइदिन्छ। अछुतको संज्ञा दिन्छ। यी अनेक कुरा समाजलाई बुझाउन सामाजिक चेतनाको आवश्यकता छ। 

बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले ‘सरकारी विद्यालयमा निशुल्क स्यानेटरी प्याडको व्यवस्था गरिने छ’, भन्ने शब्द उच्चारण गर्दा नै मेरो मन खुसीले गदगद भएको थियो। म मात्र होइन आम नेपाली छोरी खुसी  छौं। मलाई विश्वास थियो। साँच्चिकै सबै छोरीले सरकार भएको महसुस गरेका छौँ। यसलाई मैले महिलाप्रतिको सामाजिक सम्मानको रुपमा लिएकी छु। 

यत्तिबेला हामीले विगतदेखी नै स्यानेटरी प्याड उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र उद्योगमा कर छुट, विद्यालयमा स्वास्थ्य शिक्षकको व्यवस्थाको मागलाई अझ उठाउनुपर्ने ठानेका छौँ। यी सबै कुरा कार्यान्वयन हुन्। 

यो सरकारको घोषणाले स्यानेटरी प्याड उत्पादन गर्ने उद्योग देशमा खुल्नेछन्। र, गुणस्तरहिन प्याड उत्पादन  हुन सक्छ। जसले फेरि आम किशोरीको स्वास्थ्य खतरामा पर्न सक्छ। यसप्रति भने सरकार सचेत हुनुपर्छ। अनुगमनका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ। 

विदेशी स्यानेटरी प्याडलाई बन्द गरी स्वदेशी कच्चापदार्थबाट निर्माण भएका सामग्रीलाई प्रोत्साहन गर्नु पनि जरुरी छ। प्रयोग भएका स्यानेटरी प्याडलाई डिस्पोज गर्ने इन्सिनेटरको निर्माण पहिलो आवश्यकता देखिएको छ। अनि सुरक्षित महिनावारी समाजको निर्माणका लागि निरन्तर जनचेतनाका कार्यक्रम गर्नुपर्ने अवस्था छ। गुल्मीमा २०७० सालदेखि सुरक्षित महिनावारी राष्ट्रिय अभियानले स्थानीय गाउँपालिका र नगरपालिकालाई महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय घोषणा गर्दे आएको छ। हाल ६ वटा गाउँपालिकाका झण्डै १ सय विद्यालय महिनावारीमैत्री भएका छन्। यो अभियान देशव्यापी बनाउनु आजको आवश्यकता हो। स्वास्थ्य र सुरक्षित महिनावारीमैत्री समाज निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद।
गंगा खड्का, गुल्मी 

मे २२, २०१६ मा प्रकाशित पुरानो पत्र :
'महिनावारीको पीडा पोख्दै प्रधानमन्त्रीलाई किशोरीको पत्र'

सम्मानीय प्रधानमन्त्री ज्यु सञ्चै हुनुहुन्छ होला। तपाई सञ्चै भएको कुरा त हामीले प्रत्येक दिनको समाचारबाट थाहा पाउँछौं। तर हाम्रो अवस्था जानकारी गराउन हजुरलाई सम्बोधन गरेर यो पत्र लेख्दैछु।

मेरो नाम गंगा खड्का हो। मेरो घर गुल्मी हो। तपाईंले ल्याउनुभएका नयाँनयाँ योजना म दैनिक सुन्ने र पढ्ने गरेको छ। योजना कार्यन्वयन भए देशले निकास पाउनेछ। त्यसैले तपाईंका योजना सफल हुन् तपाईंलाई शुभकामना।

तपाईं भाग्यशाली प्रधानमन्त्री हुनुहुन्छ। जसले हजुरलाई जन्माउनु भयो उहाँ महानआमा प्रति म सम्मान ब्यक्त गर्दछु। तर हजुरलाई यो कुरा थाहा छ की छैन हजुर जन्मनु भन्दा अगाडी हजुरको आमा पनि प्राकृतिक अनुपम बरदानको रुपमा महिनावारी हुनुभयो।

महिनावारी वा रजस्वला हामी महिलाहरुमा हुने सामन्य प्राकृतिक प्रक्रिया हो। जुन प्रक्रियाले विश्वका त्यस्ता मानवहरु जन्मिन सकिरहेका छन्। त्यस्तै मध्येको हजुर पनि एक सपूत हो।

हामी महिलाहरुमा महिनावारी हुदैन्थ्यो त सायदै सृष्टिको निरन्तरता पनि सम्भव हुँदैनथ्यो होला। यस विषयमा म भन्दा तपाईं बढी जानकार हुनुहुन्छ। तर यहि प्रक्रियालाई हामीले किन अनुपम बरदानको रुपमा लिन नसकी शारीरिक पीडाको रुपमा लिनुपर्ने बाध्यतामा छौँ।

महिलाले प्राकृतिक वरदानका रुपमा पाउने यो चक्रको अनुभव हामी महिलाले जसरी लिएका छौं हजुरले चाहेर पनि लिनसक्नु हुन्न्। तर अनुभुत, महसुस त गर्न सक्नुहुन्छ होला नी हैन् ?

देशको नेतृत्व गर्ने पुस्ता प्रत्येक आमाको महिनावारी चक्र कै कारणले जन्मनु भयो। सोही चक्रको प्रणालीबाट तपाईंको जन्म भयो र संविधानसभाको सदस्य हुनुभयो। तर तपाईंले बनाएको संविधानमा तपाईंकै आमाको यो पीडाको विषयलाई किन कहिल्यै पनि उठाउन सक्नुभएन् ?

के आधा आकाश ओगटेका महिलाको पीडा भएकाले यो विषयलाई टेबुल गर्न नसकिएको हो ?

प्रधानमन्त्री ज्यू, हामी ग्रामिण ठाउँमा बस्ने छोरीहरु महिनावारीको समयमा कति संवेदनशील हुन्छौ भन्ने विषयमा तपाईंको कहिल्यै ध्यान गएको छ ?

सामन्यतया नेपालमा बस्ने हामी छोरीले महिनावारीको बेला रगत छोप्नलाई कपडा र बजारमा पाईने स्यानेटरीप्याड प्रयोग गरिरहेका छौ।

नेपालमा अशिक्षा र गरिबीका कारण कपडा प्रयोग गर्नेको संख्या धेरै छ। त्यसमा पनि फोहोर र सरसफाईमा ध्यान नपुर्याकै कारण धेरै महिला रोगले ग्रसित छन्। त्यतातिर हजुरको ध्यान खोइत ?

नेपालका ठूला ठूला नाम चलेका कलेजमा पनि छात्रामैत्री शौचालय छन् कि छैनन् भन्ने तपाईसँग कुनै तथ्यांक छ ? हामी आम नागरिकले तिरेको करबाट राज्य सञ्चालन भैरहेको छ तर नेपाल सरकारका कर्मचारीलाई स्यानेटरी प्याड डिस्पोज गर्ने इन्सिनेटरको ज्ञान नभएका कारण इन्सिनेटर बिहीन शौचालय, विद्यालय वा सरकारी कार्यलयमा धमाधम निर्माण भैरहेका छन्।

अब कसरि ति शौचालय महिला, छात्रामैत्री भए ? म बिगत ४ बर्षदेखि गुल्मीमा सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्चालनमा क्रियाशिल छु। सोही अनुसार जिबिस गुल्मीको सानो सहयोगमा महिनावारीका लागी सुरक्षित सामग्रीयुक्त विद्यालय बनाईरहेका छौ तर यो गुल्मीमा मात्रै सीमित हुन सक्दैन।

राज्यले यस्ता कार्यक्रमलाई अग्रस्थानमा राखेर सञ्चालन गर्न किन सकिरहेको छैन। हामीलाई गरेको बिभेद यहि हैन ? विद्यालयका शौचलय छात्रामैत्री हुनुपर्छ, आबश्यक महिनावारी सुरक्षित सामग्री उपलब्ध हुने ब्यवस्था हनुपर्छ। शैक्षिक गुणस्तरमा बृद्धि हुन सक्छ। महिनाको चार दिन छात्रा कक्षामा उपस्थित हुन सक्दैनन्। यसले शिक्षा क्षेत्रमा कति घाटा भैरहेको छ भन्ने कुनै एकीन तथ्याङ्क निकालिएको छैन।

यी आवश्यक सामग्रीको अभावमा छात्राहरुले कसरी ढुक्कसँग पढ्न सक्छन् ? फोहोर कपडाको प्रयोगले हाम्रा छोरीहरु कसरी स्वस्थ जीवनयापन गर्न सक्छन् ? जनचेतना र सरसफाइको कमीले सेतोपानी बग्ने समस्याबाट कति महिला ग्रसित छन् ?

खाडीमा गएर कमाएको श्रीमानको कमाई के कुरामा खर्च भैरहेको छ ? लाजका कारणले योनीमा भएको समस्या टाउको दुखेको बहानामा सिटामोल किनेर घर फर्किनुपर्ने अवस्था किन भएको छ ?

प्रधानमन्त्री ज्यू, जब महिलाहरुको स्वास्थ्यमा कुनै पनि समस्या हुन्छ त्यसपछि सहज रुपमा कार्यसम्पादन गर्न सक्छन् वा सक्छैनन् ? अनि देशको आर्थिक, शैक्षिक र सामाजिक विकासको कल्पना तपाईं कसरी गर्नसक्नुहुन्छ ?

सुन्दा आमसमाजको अगाडी सामन्य र लुकाईएको बिषय हो यो। महिलामा हुने फरक क्षमता हो महिनावारी। न निश्चित समयमा हुन्छ न निश्चित स्थान र ठाउँ। जहाँ जतिबेला जस्तो अवस्थामा पनि उसले आफ्नो चक्र पुरा गरेकै हुन्छ तर ब्यवहारिक र दैनिक जीवनमा हामी महिलाहरुले भोग्दै आइरहेको महत्वपुरर्ण र संवेदनशील बिषय हो।

समाजले बनाइएका नियममा बाँधिएर हामी छोरीहरु कति विद्यालय जानबाट बञ्चित छौँ ? कुनै लेखाजोखा छ ? हाम्रा कलिला सुदुरका चेलीहरु छाउगोठका नाममा कतिले ज्यान गुमाएका छन् ? कति असुरक्षित छन ? यो हिसाब कसले र कहिले हुन्छ ?

संविधानसभाको सदस्य हुनुभन्दा पहिले महिलाको शारीरिक परिवर्तनको चक्रमा प्रवेश गरेर पार्टीगत प्रतिनिधिको रुपमा कानुन र नियम बनाउन पुग्नुभएका हाम्रा महिलानेत्री आफ्नै स्वास्थ्यको बारेमा आवज उठाउन बिर्सिनुभयो हैन ? कि यो बिषयमा बोल्न लाज लाग्यो ? जवाफ हामी खोजीरहेका छौँ।

प्रसङ्ग ‘मे २८ महिनावारी सरसफाई दिवस २०१६’ हामीले गुल्मीमा दोश्रो पटक मनाउँदै छौँ। महिनावारी सरसफाई दिवस अथवा जेठ १५ गते प्रधानमन्त्री ज्युले नीति तथा कार्यक्रमका लागी बजेट प्रस्तुत गर्ने दिन तपाईंको नीति तथा योजनामा महिनावारी सम्बन्धी कार्यक्रम कतिको रुपमा अगाडी छ ?

हामी चाहान्छौ महिलाहरुले रगत छोप्नैकै लागी प्रयोग गर्ने स्यानेटरी प्याड उत्पादनमा सरकारले कर लिन जरुरी छ कि छैन ? के रहरले प्रयोग गर्ने हो स्यानेटरी प्याड ? एक सेकेण्ड पानी नपिएर बाच्न सजिलो होला तर रगत एक सेकेण्ड पनि रोक्न सक्दैनौ त्यसैले हामी सुरक्षित ब्यवस्थापनको लागी स्यानेटरी प्याड को साहारा लिनुपर्छ।

एकातर्फ सरकारले लिएको कर अर्फोतर्फ रगत सोस्ने टेपमा कम्पनीले कमाउने फाईदा यो अन्याय हामीले कसरी सहन सक्छौ ? आवश्यकतामा मात्रै प्रयोग गर्ने सामग्री देशका बिभिन्न ठाउँमा फरक फरक मुल्यमा उपलब्ध गराउनुको कारण के हो ? प्राथमिक उपचारका सामग्रीभित्र स्यानेटरी प्याडलाई लिन सकिदैन ?

गरिब छोरीहरुले सस्तो र धनी छोरीहरुले महँगो सामग्री प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना गरिएको छ। यसलाई समान बनाउन सरकारले केही गर्न सक्छ कि सक्दैन ? हामी सबै छोरीको स्वास्थ्य र पीडा एकै प्रकारको हुदैन ?

बजारमा पठाउने स्यानेटरी प्याडको गुणस्तरियता कसले मापन गर्छ ? सेवा उद्योगको रुपमा दर्ता गरी नेपालमै उत्पादन गरिएको एकै मुल्यको सामग्री गाउँसम्म पुर्याउनु पर्छ। के हाम्रो देशमा गुणस्तरिय स्यानेटरी प्याड उत्पादन हुन सक्दैन ?

दोश्रो मुलकबाट भित्रिएका महँगा सामग्री किन्ने सामथ्र्य हामीसँग छैन र अभावमा दीर्घकालिन रोगको संक्रमणले रोगी हुन पनि चाहाँदैनौ। हामीले प्रयोग गर्ने सामग्री हामी आफै उत्पादन गर्न चाहान्छौँ तर आवश्यक सहयोग सरकारले गर्न सक्छ कि सक्दैन ? जवाफ खोजिरहेका छौँ।

प्रधानमन्त्री ज्यू, हामी आशावादी छौं। जेठ १५ गते महिनावारी सरसफाई दिवसमा सरकारले नेपाली महिलाहरुलाई सम्बोधन गर्ने गरी महिलाको मासिक चक्रलाई सुरक्षित बनाउन केही न केही सम्बोधन गर्नेछ। किनभने तपाइले पटक पटक भनेको सुन्ने गरेको छु जायज कुरालाई आन्दोलन जरुरी छैन सम्बोधन हुन्छ।

नेपालीले हामी र हाम्रा चेलीको जीवन अब महिनावारी लुकाएर होइन उत्सव गरेर मनाउन सक्ने वातावरण बनोस्। अनि सबैले ढुक्क भएर महिलामैत्री समाजको महशुस गर्नसकौं। गंगा खड्का / गुल्मी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.