विद्यार्थीले चलाए कृषि फार्म

विद्यार्थीले चलाए कृषि फार्म

ओखलढुंगा : रोजगारीका लागि युवा जनशक्ति बिदेसिने क्रम रोकिएको छैन। उच्च शिक्षा हासिल गरेकाहरू पनि वैदेशिक रोजगारीकै चक्करमा छन्। प्राविधिक शिक्षा लिएकाहरूलाई पनि विदेश मोहले छाडेको छैन। रुम्जाटार माविमा आईएसईएजी अध्ययनरत तीन युवा भने व्यावसायिक रूपमा कृषि फार्म सञ्चालन गरी स्वदेशमै श्रम खर्चिरहेका छन्।   

सोलुखुम्बुको नेचासल्यान–५ गैरीका गणेशकुमार श्रेष्ठ, पाँचथरको फाल्गुनन्द–२ इम्बुङका डिल्ली नेम्बाङ र ओखलढुंगाकै सिद्धिचरण–४ रुम्जाटारका सुजन ठटाल मिलेर त्रियुगा सिर्जनशील कृषि फार्म चलाएका हुन्। उनीहरू आईएसईएजी तेस्रो वर्षको रिजल्ट पर्खाइमा छन्। पढेर जागिरै खानुपर्छ भन्ने सोच चटक्क त्यागेर कृषिमा लागेको श्रेष्ठको भनाइ छ। ‘परीक्षापछि भौतारिनुभन्दा नतिजा आउन्जेल व्यवसाय गर्ने सोच पलायो’, उनले भने। स्वदेशमै श्रम गरे व्यावसायिक बन्न सकिने भएकाले विदेशको सपना आफूले नदेखेको उनले बताए।   

अर्ग्यानिक उत्पादन गर्न सञ्चालित फार्मका लागि उनीहरूले पाँच रोपनी जग्गा भाडामा लिएका छन्। मल्चिङ, थोपा सिँचाइ, ग्रिन हाउसलगायत प्रविधि अपनाएर काँक्रा, गोलभेंडा, तीते करेला, चिचिन्डा, काउली, बन्दा, भान्टा, अकबरे खुर्सानी, भेंडे खुर्सानी, बोडी, चिप्ले भान्टा आदि तरकारी लगाइएको छ। ‘प्रोसेसिङ’ गरी बजारमा आउने तरकारी विस्थापन गरी सहुलियतमा ताजा उपलब्ध गराउने योजना रहेको ठटालले बताए। बजारमा आयातित तरकारी खपत भइरहेकाले स्थानीय उत्पादनको व्यवस्थापनमा चुनौती नरहेको उनको भनाइ छ।   

‘प्राविधिक शिक्षा लिएका धेरैजसो युवामा जागिरै खानुपर्छ भन्ने सोच पाइन्छ’, उनले भने, ‘हामीले कृषि व्यवसायबाट पनि कमाउन सकिन्छ भन्ने सन्देश दिन खोजेका हौं।   ’ उनीहरूले आफ्नो पढाइमा विश्वास गरेर आफू व्यावसायिक बन्ने आँट गरेका छन्। नयाँ प्रविधिमा आधारित कृषि फार्म किसानका लागि अध्ययन केन्द्रका रूपमा विकास गर्ने उनीहरूको तयारी छ।   

विद्यार्थी व्यावसायिक बन्न थालेकामा खुसी लागेको प्रधानाध्यापक गोकर्ण बानियाँले बताए। उनका अनुसार बाली विज्ञानका विद्यार्थीले कृषि फार्म सञ्चालन गरेकाले अन्य तहमा पनि अभ्यासका लागि सहज भएको छ।   परम्परागत कृषिमा आश्रित किसानले अन्य पेसामा लाग्न विकल्प खोजिरहेका छन्। यस्तो समयमा विद्यार्थीले कृषिमै सम्भावना देखाउने गरी व्यावसायिक फार्म सञ्चालन गरी महत्त्वपूर्ण काम थालेको बानियाँको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.