सिभिल सहकारी आंशिक बन्द

सिभिल सहकारी आंशिक बन्द

काठमाडौं : सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्था आंशिक बन्द भएको छ। निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सहकारी आंशिक बन्द भएको हो। आफैं साहू र आफै ऋणी बनिरहेको सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ उच्च जोखिममा छ। चरम संकट बढेसँगै सहकारी नेतृत्वले गत जेठ १५ गतेदेखि सिभिल सहकारी बन्द गर्ने निर्णयमा पुगेको हो।

संस्थाका नियमित काम प्रभावित भए पनि संस्थाले निक्षेपकर्तालाई बढीमा २ लाखसम्म निक्षेप फिर्ता दिने गरेको सिभिलका एक कर्मचारीले बताए। आफ्नो पैसा फिर्ताका लागि निक्षेपकर्ता धाउन थालेपछि नेतृत्वले संस्था बन्द गर्ने घोषणा गरेको हो। संस्थामा रहेका १७ जना कर्मचारी कार्यालय आउन छाडेका छन्।

सिभिलको आर्थिक वर्ष ०७४/७५ को लेखापरीक्षण प्रतिवेदनअनुसार आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा सिभिल ग्रुपका संस्थापक इच्छाराज तामाङको रियल स्टेट व्यवसायमा कुल कर्जाको ९० प्रतिशतभन्दा बढी लगानी छ। उक्त ऋण उठ्न नसक्दा सहकारी चरम समस्यामा परेको हो। सिभिल होम्सको सञ्चालकमा संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठ पनि छन्। तामाङ र श्रेष्ठ नाताले भान्जी ज्वाइसमेत हुन्। सदस्यको पैसा आफूखुसी चलाउदाँ सहकारी समस्यामा परेको हो। संस्थाले आकर्षक ब्याजको प्रलोभनमा सदस्यबाट थप रकम उठाउन खोजेको थियो। तर, सदस्य निक्षेपकर्ताले पुरानै निक्षेपको ग्यारेन्टी नभएको भन्दै थप लगानी गर्दा इच्छुक नदेखिएपछि संस्था बन्द हुन पुगेको एक सदस्यले बताए।

संस्थाका सदस्य राजु श्रेष्ठले ठूलो संस्थामा तलमाथि हुनु सामान्य भएको बताए। उनले सदस्यलाई निक्षेप फिर्ता पाउन कुनै समस्या नभएको दाबी गरे। ‘जसले जति पाउनुपर्ने हो, पाइरहेका छन्, संस्था बन्द भएको छैन्’, उनले भने। उनी अध्यक्षका नातेदारसमेत हुन्। संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठले सबै कर्जा हाउजिङमै केन्द्रित गरेको यसअघि नै स्वीकारिसकेका छन्। यसअघि श्रेष्ठले ऋण दिने आफ्नै संस्था, लिने आफ्नै परियोजना भएकाले कुनै समस्या नभएको बताएका थिए। तर, पछिल्लो समयमा सहकारी सदस्य आफ्नो पैसा फिर्ताका लागि कार्यालय धाउन थालेपछि संस्था संकटमा परेको हो। सिभिलले हाउजिङबाहेक १० प्रतिशत मात्रै अन्य क्षेत्रमा कर्जा प्रवाह गरेको छ। संस्थाको लेखा परीक्षण प्रतिवेदनले पनि यसलाई जोखिमका रूपमा औंल्याएको छ।

आफैं साहू र आफै ऋणी बनिरहेको सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ उच्च जोखिममा छ।

सिभिल होम्सले लामो समयदेखि सहकारीको सावाँ र ब्याज तिर्न नसक्दा निक्षेपकर्ता मारमा परेका हुन्। संस्थाले आफ्नै स्वामित्वका तीनवटा व्यवसायलाई अन्धाधुन्ध कर्जा प्रवाह गर्दा सहकारीको ७ अर्ब रुपैयाँभन्दा बढी डुब्ने खतरा बढेको सेयर सदस्य बताउँछन्। सहकारीका २ हजार ६ सय ९० सदस्य बचतकर्ता छन्। यसले निक्षेपकर्ताबाट ७ अर्ब ५१ करोड निक्षेप संकलन गरेको छ। कर्जा भने आठ अर्ब १३ करोड ६७ लाख प्रवाह गरेको छ। निक्षेपभन्दा कर्जा बढी हुनु सहकारीमा अति जोखिम मानिन्छ। सहकारीले आकर्षक अफर गरेर निक्षेप तान्ने गरे पनि सदस्यलाई ऋण दिन भने आनाकानी गर्दै आएको थियो।

आव ०७४/७५ को अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले आठ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालिमा गरी ७ अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको छ। सहकारी ऐन २०७४ मा कम्पनी ऐनबमोजिम मुनाफा आर्जन गर्ने उद्देश्यले स्थापित कम्पनी सहकारीको सदस्य हुन नपाउने व्यवस्था छ। सदस्य नै हुन नसक्ने कम्पनीलाई त्यतिधेरै ऋण प्रवाह गरेकामा सदस्य रुष्ट छन्।

सिभिल ग्रुपका अध्यक्ष तामाङले आफू सहकारी संस्थाको अध्यक्ष भएकै बेला रियल स्टेटमा कर्जा दुरुपयोग गरेका हुन्। उनी सहकारीका दुई कार्यकाल अध्यक्ष थिए। पेसाले इन्जिनियर तामाङ सहकारी अध्यक्ष, रियलस्टेट व्यवसायी र सिभिल बैंकका प्रवद्र्धक हुन्। उनी अघिल्लोपटक सांसदसमेत थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.