‘नेपाल इन्डो प्यासिफिकको साझेदार’
काठमाडौं : अमेरिकी रक्षा मन्त्रालयले इन्डो प्यासिफिक रणनीतिको साझेदारमा नेपाल रहेको उल्लेख गरेको छ। नेपालसहित दक्षिण एसियाका पाँच मुलुकसँग इन्डो प्यासिफिक रणनीतिअन्तर्गत रक्षा सहकार्यको प्रतिवेदनमा समेटिएका छन्।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले शनिबार सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपालसँग सहकार्य गर्ने क्षेत्रसमेत खुलाएको छ।
अमेरिकाले नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशलाई रणनीतिक साझेदार मानेको छ। उनीहरूसँग रक्षा साझेदारी बढाउने स्पष्ट पार्दै भनेको छ, ‘आतंकवाद, सीमापार अपराध, लागूऔषध कारोबारजस्ता चुनौती सामना गर्न अमेरिकाले यी मुलुकसँग साझेदारी विस्तारको अवसर खोज्नेछ र क्षेत्रीय चुनौतीको सम्बोधन गर्नेछ ।’
नेपालसँग रक्षा व्यवसायीकरण, पिसकिपिङ अपरेसन, प्रकोप व्यवस्थापन, स्थल सेनाको क्षमता वृद्धि, र प्रतिआतंकवादलगायतमा सहकार्य र सम्बन्ध विस्तार गर्न चाहेको पनि पेन्टागनले खुलाएको छ। ‘नेपालसँग थप रक्षा सम्बन्ध विस्तारका लागि यो वर्ष युएस इन्डो प्यासिफिक कमान्डका कमान्डर तथा उपसहायकमन्त्री तहको भ्रमण हुने पनि उल्लेख छ। इन्डो प्यासिफिक क्षेत्रको शान्ति, विकास र समृद्धिमा केन्द्रीय भूमिका निर्वाह गर्न सक्ने धारणा नेपालले दिएपछि यस्तो सहकार्यमा अमेरिका उत्साहित भएको हो।