विप्लवको तालिमकेन्द्र तीन दिनदेखि खोज्दैछ प्रहरी
ओखलढुंगा : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ स्थित गुँदेलमा प्रतिबन्धित विप्लव समूहले सञ्चालन गरेको भनिएको तालिम केन्द्र प्रहरीले अझै फेला पार्न सकेको छैन ।
आइतबारदेखि परिचालित सुरक्षाकर्मीले छेस्काम चौकी कब्जा गर्न आएका विप्लव कार्यकर्ता र उनीहरुको तालिम केन्द्र फेला पार्न नसकेका हुन् । गुँदेलमा तालिम केन्द्र सञ्चालन गरेको सूचना प्रहरीलाई आइरहेकै समयमा आइतबार छेस्कामको चौकी कब्जा गर्न हतियारधारी समूह आएको सूचना पाएपछि प्रहरीले चौकी छाडेका थिए । यसैलाई आधार बनाएर विप्लवले चौकी कब्जा र आक्रमण गरेको हल्ला फैलिएपछि देशभर तरंग ल्याएको थियो ।
विप्लवको गतिविधी बढेको सूचनाका आधारमा गस्ती र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिए पनि तालिम केन्द्र फेला परेको छैन । सोलुखुम्बुको महाकुलुङलाई केन्द्रित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली नै परिचालन गरेर तालिम केन्द्र र विप्लवका कार्यकर्ता खोजी भइरहेको छ ।
१ नम्बर सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट डीएसपीको नेतृत्वमा ५० र केन्द्रीय प्रहरी विशेष कार्यदलबाट ३० गरेर ८० जना प्रहरीको विशेष टोली सोलुखुम्बुमा सर्च अभियानमा छ ।
गुँदेलमा बिजुली र टेलिफोन अझै सुचारु हुन नसक्दा वास्तविक सूचाना आदानप्रदानमा पनि समस्या छ । यसका लागि ओखलढुंगाबाट समेत प्रहरी टोली खटाइएको छ ।
बाहिरबाट लगिएको र जिल्लाभित्रकै सुरक्षा टोलीले विभिन्न ठाउँमा सर्च अभियान सुरु गरेर विप्लव समूहका कार्यकर्ताको खोजी तीव्र पारेको बताइएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी मगरका अनुसार अहिलेसम्म एकजना पनि विप्लव कार्यकर्ता र हतियाधारी भनिएको कोही पनि पक्राउ परेका छैनन् । जिल्ला शान्त रहेको पनि उनले दावी गरे ।
सोलुखुम्बुको सदरमुकामभन्दा निकै टाढाको दूरीमा रहेका छेस्काम र गुँदेल संखुवासभा र भोजपुरसँग सिमाना जोडिएका गाउँ हुन् । यस क्षेत्रमा विप्लवका उच्च तहका नेता आएको अनुमान प्रहरीले गरेको छ ।
गाउँपालिका अध्यक्ष भन्छन् : शान्त छ महाकुलुङ
चौकी आक्रमणको हल्ला नसुनुन्जेल छेस्काम र गुँदेलका स्थानीय ढुक्क थिए । सञ्चारमाध्यममा समाचार आएपछि महाकुलुङ अशान्त भएको गाउँपालिका अध्यक्ष सागर किराँती बताउँछन् ।
उनले टेलिफोनमा भने, ‘बाहिर मात्रै हल्ला छ, महाकुलुङ शान्त छ, छेस्कामका स्थानीय ढुक्कका साथ दैनिकी चलाइरहेका छन् ।’ मिडियाले देशैभर छेस्काम र गुँदेलबारे अफवाह फैलाएकाले मनोवैज्ञानिक रुपमा त्रास बढेको किराँतीले बताए ।