विश्वकप क्रिकेट : दुई पूर्वविजेता अस्ट्रेलिया र वेस्ट इन्डिज भीड्दै

विश्वकप क्रिकेट : दुई पूर्वविजेता अस्ट्रेलिया र वेस्ट इन्डिज भीड्दै

एजेन्सी-नटिङ्घम

विश्वकप क्रिकेटमा बिहीबार दुई प्रभावशाली टोली अस्ट्रेलिया र वेस्ट इन्डिज आपसमा भिड्दै छन्। उक्त खेल नटिङ्घमस्थित ट्रेन्ट ब्रिजमा नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ। विश्वभरिका क्रिकेट पारखीलाई यो खेलले भरपुर मनोरञ्जन दिने विश्वास गरिएको छ। यी दुवै टोली पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन्। यी दुवै टोलीले यसअघि नै विश्वकपको उपाधि पनि जितिसकेका छन्।

साबिक विजेतासमेत रहेको अस्ट्रेलियाले हालसम्म पाँच पटक विश्वकपको उपाधि जितिसकेको छ। वेस्ट इन्डिजले पनि दुई पटक विश्वकप उपाधिको स्वाद चाखिसकेको छ। वेस्ट इन्डिजले सन् १९७५ मा पहिलो र सन् १९७९ मा दोस्रो संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको थियो। सन् १९८३ मा भएको तेस्रो संस्करणको फाइनलमा भने भारतले वेस्ट इन्डिजलाई ४३ रनले हराएको थियो। त्यसयता वेस्ट इन्डिज विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन।

यसैगरी अस्ट्रेलियाले सन् १९८७ मा पहिलो पटक विश्वकप जितेको थियो। त्यसपछि अस्ट्रेलियाले सन् १९९९, सन् २००३ र सन् २००७ मा लगातार तीन पटक विश्वकपको उपाधि उचाल्यो। सन् २०१५ मा आफ्नै देशमा आयोजना भएको विश्वकपको फाइनलमा सहआयोजक न्युजिल्यान्डलाई सात विकेटले हराउँदै अस्ट्रेलियाले पाँचौं पटक उपाधि कुम्ल्याएको थियो। त्यसैले हालसम्मको विश्वकपमा अस्ट्रेलिया सबैभन्दा बलियो टोलीको रूपमा देखिएको छ।

जारी विश्वकपमा अस्ट्रेलिया र वेस्ट इन्डिज दुवैले एक÷एक खेल खेलिसकेका छन्। यी दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए। आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई सात विकेटले हराएको थियो। वेस्ट इन्डिजले पनि आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि सात विकेटकै जित हात पारेको थियो। त्यसैले बिहीबार हुने खेलमा पनि जित हात पार्दै यी दुवै टोली सेमिफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाउने धुनमा छन्।

हालसम्म यी दुई टोलीबीच खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको तथ्यांकलाई हेर्दा भने वेस्ट इन्डिजभन्दा अस्ट्रेलिया केही बलियो देखिन्छ। हालसम्म यी दुईबीच कुल एक सय ३९ खेल भएका छन्। त्यसमध्ये ७३ खेलमा अस्ट्रेलिया र ६० खेलमा वेस्ट इन्डिज विजयी भएका छन्। तीन खेल बराबरीमा र तीन खेल अनिर्णित अवस्थामा सकिएका छन्। जारी विश्वकपमा अस्ट्रेलिया एरोन फिन्च र वेस्ट इन्डिज जासन होल्डरको कप्तानीमा छन्।

पाकिस्तानविरुद्घको खेलमा वेस्ट इन्डिजको बलिङ गजबले चलेको थियो। क्यारेबियन टोलीको धारिलो बलिङसामु विश्वकपको पूर्वविजेता पाकिस्तानी टोली २१.४ ओभरमै केवल एक सय पाँच रनमा अलआउट भएको थियो। तीव्रगतिका २२ वर्षीय बलर ओसेन थोमस एक्लैले चार विकेट लिएका थिए। उनले ५.४ ओभरमा ४.७६ को औसतले केवल २७ रन खर्चिएका थिए। मध्यम तेज गतिका अर्का अनुभवी बलर जासन होल्डरले पनि तीन विकेट लिएका थिए। तीव्रगतिकै अर्का बलर आन्द्रे रसेले पनि दुई विकेट हात पारेका थिए।

त्यसैले बिहीबार हुने खेलमा पनि अस्ट्रेलियन बलरका लागि वेस्ट इन्डिजका तीव्रगतिका बलरहरू घातक बन्न सक्छन्। यसैगरी आफ्नो अन्तिम विश्वकप खेलिरहेका अनुभवी आक्रामक ब्याट्सम्यान क्रिस गेल पनि अस्ट्रेलियन बलरहरूका लागि टाउको दु:खाइको विषय बन्न सक्छन्। पाकिस्तानविरुद्घको खेलमा पनि ओपनर ब्याट्सम्यान गेलले केवल ३४ बलमा तीन छक्का र ६ चौकाको मद्दतले ५० रन बनाएका थिए। यसैगरी २३ वर्षीय विकेटकिपर ब्याट्सम्यान निकोलस पुरन पनि लयमा देखिएका छन्।

जारी विश्वकपमा अस्ट्रेलिया पनि हरेक क्षेत्रमा अब्बल देखिएको छ। आफ्नो पहिलो खेलमा अस्ट्रेलियन बलरले तुलनात्मक रूपमा कमजोर अफगानिस्तानलाई दुई सय सात रनमा समेटेका थिए। यद्यपि, अस्ट्रेलियाविरुद्घ अफगानिस्तानका ब्याट्सम्यानले बनाएको यो निकै राम्रो स्कोर हो। जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले दुई सय आठ रनको विजयलक्ष्य पार गर्न ३४.५ ओभरसम्म संघर्ष गरेर तीन विकेट गुमाउनु परेको थियो।

उक्त खेलमा अस्ट्रेलियका लागि तीव्रगतिका बलर प्याट कुमिन्स र स्पिनर एडम जाम्पाले तीन÷तीन विकेट लिएका थिए। ब्याटिङमा दुबै ओपनर डेभिड वार्नर (अविजित ८९ रन) र एरोन फिन्च (६६ रन) ले अर्धशतक बनाएका थिए। नजिता जे आए पनि बिहीबार यी दुई टोलीबीचको खेलले विश्वभरिका क्रिकेटप्रेमीलाई भने गतिलो मनोरञ्जन दिने पक्का छ।


एकदिवसीयमा दुई टोली

कुल : १३९ खेल

अस्ट्रेलिया विजयी : ७३ खेल

वेस्टइन्डिज विजयी : ६० खेल

बराबरी : ३ खेल

अनिर्णित : ३ खेल

आजको खेल

अस्ट्रेलियाविरुद्ध वेस्ट इन्डिज

ट्रेन्ट ब्रिज (दिउँसो ३:१५ बजे)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.