दाँत जोगाउन यसो गरौं

दाँत जोगाउन यसो गरौं

भाइबहिनी हो, तिमीहरूले हरेक दिन मुख तथा दाँतलाई सफा राखेका छौ कि छैनौं ? शरीरको ढोका भनेको मुख हो। मुखलाई सफा राख्न सके स्वस्थ रहन सकिन्छ। मुख तथा दाँत फोहोर राखेर शरीर स्वस्थ हुन सक्दैन।

दाँत तथा मुख रोग विशेषज्ञ डा. प्रकाश बुढाथोकीका अनुसार, खाना वा खाजा खाएपछि मुखभित्र वा दाँतमा पनि केही अंश बसेको हुन्छ। मुख सफा नराख्दा त्यो छुटेको अंश फोहोरमा परिणत हुन्छ। जहाँ फोहोर हुन्छ त्यहाँ रोग लाग्ने सम्भावना बढी हुन्छ। मुखबाट खाएको खाद्यपदार्थ पेटमा पुग्छ। त्यसैले शरीरको प्रवेशद्वार वा ढोकाको रूपमा पनि मुखलाई लिइन्छ। बिहान र साँझको खाना खाइसकेपछि फ्लोराइडयुक्त मञ्जन र नरम ब्रसले सफासँग दाँत माभ्mनु पर्छ। मुखलाई सफा राख्नुपर्छ। प्mलोराइडयुक्त मञ्जनको प्रयोगले दाँतलाई झन् बलियो बनाउँछ। दाँत खिइन वा दाँत कीराले खान पाउँदैन।

मञ्जन र ब्रस नभएको बेला गाउँघरमा पाइने निम, असुरोलगायतका नरम डाँठलाई चपाएर रेसा जस्तै बनाई दाँत सफा गर्न सकिने डा. बुढाथोकीको सल्लाह छ।

दाँत माझ्ने तरिका

शिशुको दाँत नआए पनि गिजाको सरसफाइ गर्नुपर्छ। पानीमा कपास भिजाएर पुस्नु जरुरी हुन्छ। तीन वर्ष पुगेपछि नरम ब्रसको प्रयोग गर्नु उपयुक्त हुन्छ। जसरी कपाल कोर्ने काइँयो सफा गर्दा तलमाथिको फोहोर निकालिन्छ। त्यस्तै तरिकाले दाँतमा अड्किएको फोहोरलाई पनि सफा गर्नुपर्छ। दाँतमा अड्किएका वा टाँसिएको फोहोरलाई सफा गर्न पनि ब्रसले तलमाथि गरेर राम्रोसँग माज्नुपर्छ।

दाँत सफा गर्दा बल लगाउनु हुँदैन। भएभरको बल लगाएर दाँत माभ्mने वा मोल्ने गर्न नहुने डा. बुढाथोकीको भनाइ छ। हलुका किसिमले ब्रस समाई दाँतको तलमाथि र अगाडि पछाडि सफा गर्नुपर्छ। मञ्जनको प्रयोग गर्दा विज्ञापनमा देखाए झैं ब्रसभरि राख्नु पर्दैन। केराउको दाना जति मञ्जन ब्रसको बीच भागमा राख्नुपर्छ। त्यस मञ्जनलाई औंलाले ब्रसभित्र लुकाउनु पर्छ। मञ्जनलाई ब्रस भित्र नलुकाएर बाहिर राख्यौं भने सुरुमा जहाँ दाँत सफा गर्ने हो त्यहाँ नै सकिन्छ। पछि मल्ने दाँतहरूसम्म मञ्जन पुग्दैन। त्यसैले ब्रस भित्र लुकाएपछि मल्न थाल्दा विस्तारै मञ्जन बाहिर आउँछ। पछि मल्नुपर्ने दाँतसम्म पनि प्mलोराइडयुक्त मञ्जन पुग्छ। दाँत पनि सफा हुन्छ।

सफा गर्दा कुनै पनि दाँत नछुटुन् भन्ने हेक्का राख्नुपर्छ। दाँत अगाडि, बीचमा र पछाडि पनि हुने भएकोले सबैतिर मल्नुपर्छ। दाँतको भित्री र बाहिरी दुवै सतहलाई सफा गर्नुपर्छ। मुखको दायाँ भागको पछाडिबाट दाँत सफा गर्दै अगाडिको दाँत मल्नु पर्छ। त्यसैगरी बायाँ भागको पछाडिको भाग मल्दै अगाडि भागमा रहेको दाँत सफा गर्नुपर्छ। दाँतको तलमाथिको भाग सबै सफा गर्नुपर्छ।

खानेकुरामा ध्यान

हरेक दिन दाँत तथा मुखको सफाइमा ध्यान दिनुपर्छ। यसका साथै खानेकुरामा समेत विचार गर्नुपर्छ। बजारमा खानका लागि विभिन्न खानेकुरा पाइन्छन्। जुन खानेकुराले शरीरलाई फाइदा गर्छ त्यही खानेकुरा खाने गर्नुपर्छ। दाँत तथा मुखलाई फाइदा हुने चिज मात्र खानुपर्छ।

हरियो सागसब्जी, दूध र दूधबाट बनेका परिकारहरूसँगै सन्तुलित भोजन गर्ने बानी बसाल्नुपर्छ। फास्ट फुड, जंक फुड, चिसो पेयपदार्थ खानु हुँदैन। यसका साथै ज्यादै गुलियो र मुख वा दाँतमा टाँस्सिने चिज पनि खानु हुँदैन। रेसादार खानेकुराले ब्रसले जस्तै दाँतलाई पनि अलि अलि सफा गरिहेको हुन्छ। रेसादार खाना जस्तै सिमी, बोडी, सुन्तलाको रेसाले दाँतलाई सफा गर्छ। रेसादार खानाले पाचन प्रणालीमा पनि सहयोग पुर्‍याउँछ।

अभिभावक र शिक्षक शिक्षिकाले पनि नङ काटे, नकाटेकोमा ध्यान दिए झैं दाँत तथा मुख सफा गरे नगरेको ख्याल गर्नुपर्ने डा. बुढाथोकीको सुझाव छ। दाँत तथा मुख सफा गर्न प्रयोग गरिरहेको ब्रस तथा मञ्जन ठीक छ कि छैन ? दाँतको अवस्था कस्तो छ ? यस्ता विषयमा बेलाबेलामा जानकारी लिइरहनुपर्छ। खानेकुरा ठीक छ कि छैन ? लगायतका विषयमा अभिभावकसँग स्वास्थ्य संस्थामा गएर जँचाउने वा स्वास्थ्यकर्मीसँग सल्लाह लिन बिर्सनु हुँदैन।

दाँत तथा मुखको स्वास्थ्य नियमित रूपमा ६/६ महिनामा जँचाउनु पर्छ। दाँत तथा मुखको स्वास्थ्य हेरचाह गर्ने हो भने दाँत कीराले खाने वा खिइने समस्या देखा पर्दैन। दाँत निकाल्नु पर्ने अवस्था आउँदैन। दाँत तथा मुखमा रोग लाग्यो भने पछि क्यान्सरसमेत हुने डर हुन्छ। त्यसैले बेलैमा सहज भएर आफ्नो दाँत तथा मुखको हेरचाह गर्नुपर्छ नि है।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.