ट्रम्पको कडा टिप्पणी : भारत, चीन र रुसमा स्वच्छ हावा र पानी समेत छैन !
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको मुद्दामाथि बोल्ने क्रममा भारत, चीन र रुसको कडा रुपमा आलोचना गरेका छन् ।
‘भारत, रुस र चीन जस्ता देशमा स्वच्छ हावा र पानीसम्म छैन,’ ट्रम्पले भनेका छन्, ‘पर्यावरणका लागि यी देश आफ्नो जिम्मेवारी निभाउँदैनन् । ती देशमा प्रदुषण र सफाइका बारेमा सोच नै छैन ।’
बेलायती च्यानल आईटिबीलाई हालै दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । ट्रम्पले अमेरिकालाई विश्वकै सबैभन्दा स्वच्छ मुलुकमा पर्ने भनेर दावी पनि गरेका छन् । यस्तो कुरा तथ्यमा पनि पुष्टि भएको उनको जिकिर छ । तर भारत, रुस र चीन जस्ता मुलुकमा स्वच्छता र प्रदुषणको बारेमा बुझाइ समेत नरहेको भन्दै ट्रम्पले कडा टिप्पणी गरेका छन् ।
‘भारतलगायत अन्य केही देशमा त स्वच्छ हावा समेत छैन । तपाईँ कुनै सहरमा जानुभयो भने, म ती सहरको नाम लिन सक्छु तर लिन चाहन्नँ । त्यहाँ तपाईँ स्वास पनि लिन सक्नुहुन्न,’ उनले भनेका छन् ।