मध्यम आय भएको मुलुकमा स्तरोन्नतिका लागि जनशक्तिमा लगानी

मध्यम आय भएको मुलुकमा स्तरोन्नतिका लागि जनशक्तिमा लगानी

काठमाडौं : नेपालले शिक्षा र स्वास्थ्य क्षेत्रमा निर्धारित मानकहरु पूरा हुनेगरी मानवपुँजीमा लगानी गरेर प्रतिव्यक्ति आय दोब्बर बनाउन विश्व बैंकले सुझाव दिएको छ। 

विश्व बैंकको प्रकाशन, ‘नेपाल डेभलपमेन्ट अपडेट’ले मानव पुँजीमा गरिने लगानीले श्रमशक्तिको उत्पादकत्व वृद्धि, तीव्र र समावेशी आर्थिक विकास हासिलभई मध्यम आय हुने मुलुकमा स्तरोन्नति हुन सहयोगी हुने उल्लेख गरेको छ। 

नेपालले सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको छ। ‘नेपाल डेभलपमेन्ट अपडेट’ ले सन् २०१९ मा आर्थिक वृद्धिदर ७.१ प्रतिशत कायम हुने अनुमान गरेको छ। आर्थिक वृद्धिदर मूलत कृषि र सेवा क्षेत्रले नेतृत्व गरेको छ। 

व्यापार, होटल तथा रेष्टुरेन्ट उपक्षेत्रको विस्तार, पर्यटकहरुको आगमनमा वृद्धि र विप्रेषणले बढाएको निजी उपभोगका कारण सेवा क्षेत्रको आर्थिक वृद्धिदर ७.५ प्रतिशत हुने विश्व बैंकले उल्लेख गरेको छ। 

त्यस्तै, अनुकुल मौसम, बढ्दो कृषि व्यावसायिकरण, मलखाद तथा बीउबीजनको सहज आपूर्ति, सुधारिएको सिंचाई सुविधाले कृषि क्षेत्रको वृद्धिदरलाई पनि मद्दत गर्नेछ। विद्युत् उत्पादन वृद्धि र सहज आपूर्तिसँगै औद्योगिक क्षेत्रपनि विस्तार हुने बताइएको छ।

‘नेपालले मानवश्रोतमा लगानी बढाउँदा यसका नागरिकहरुले राम्रो शिक्षा र स्वास्थ्य सुविधा पाउँछन्। जसबाट उनीहरुले उच्च क्षमतामा कार्यसम्पादन गर्न सक्छन्, जुन उच्च आर्थिक वृद्धिको दिगोपना र प्रतिस्पर्धा वृद्धिका लागि अत्यावश्यक छ,’ विश्व बैंककी वरिष्ठ अर्थशास्त्री केने एजेमेनारीले भनिन्, ‘सेवाको पहुँचमा रहेको असमानाताको अन्त्य, सेवाको गुणस्तरमा सुधार तथा परिवारहरुको आयमा धक्का लाग्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न आवश्यक छ।

तीव्र आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्न मानवश्रोतमा लगानीलाई जोड दिदैं विश्व बैंकको प्रकाशनले आयको सम्भावना बढाएर लाभ हासिल गर्नु जोड दिएको छ। 

उदाहरणका लागि, बीचैमा विद्यालयको शिक्षा छाड्नेले थप एक वर्ष अध्ययन गरे भने यसले हरेक नेपालीको आम्दानी ८ देखि १० प्रतिशतले बढाउन मद्दत गर्छ। 

‘कमपोषण या कुपोषणले सिकाइ क्षमता पनि घटाउँछ र उत्पादकत्व पनि कम गर्छ,’ नेपाल डेभलपमेन्ट अपडेटमा उल्लेख छ, ‘यसले कुल गार्हस्थ उत्पादन झण्डै ११ प्रतिशतले कम गराएको आँकलन गर्न सकिन्छ।’ 

बालकको सुरुवाती दिनहरुमा मनोसामाजिक प्रोत्साहन दिन सकियो भने वयस्क उमेरमा उसको आय २५ प्रतिशतससम्मले वृद्धि हुनसक्ने विश्व बैंकको प्रकाशनमा उल्लेख छ। नेपाल डेभलपमेन्ट अपडेटले देशभर शिक्षा, स्वास्थ्य सेवाको पहुँच तथा सीप विकासमा लगानीका बढाउन आवश्यक रहेको सम्बन्धमा विश्वसनीय आधारहरु प्रस्तुत गरेको छ।

उक्त प्रकाशनको विमोचन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बालबालिका तथा युवाको विकासमा जोड दिएको उल्लेख गर्दै विश्वव्यापी श्रमशक्तिसँग प्रतिस्पर्धी हुनेखालको उत्पादक जनशक्ति तयार गर्न दीर्घकालीन रुपमा मानवपुँजीमा लगानी बढाउँदै जानुपर्ने बताए। 

अर्थमन्त्रीले लगानी र व्यवसायिक वतावरण सुधार गरी विदेशी लगानी बढाउन नीतिगत सुधार अघि बढाइएको बताए। 

उनले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट शिक्षामा सुधार, स्वास्थ्य, स्वच्छ पिउने पानी र रोजगारीका अवसर सिर्जनामार्फत मौलिक हक कार्यान्वयन गर्न सावधानीपूर्वक डिजाइन गरिएको उल्लेख गरे।

नेपाल डेभलपमेन्ट अपडेटले नेपालले उच्च आर्थिक वृद्धिदर कायमै राख्न निर्यात वृद्धिमा जोड दिएको छ भने मध्यकालमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत कायम हुनेछ। 

मध्यकालमा मुद्रास्फिति केही बढेपनि कृषि उत्पादन तथा विद्युत् आपूर्तिको स्थायित्व र भारतको न्यून मुद्रास्फितिका कारण  ५ प्रतिशतभन्दा कम हुने अनुमान छ।

नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिकीकरण कार्यक्रममा विश्व बैंकका राष्ट्रिय प्रबन्धक फारिस हदाद जर्भोसले नेपालले लगानी आकर्षित गर्न लिएका पहलजत्तिकै निजी क्षेत्रले उत्पादकत्व र आर्थिक विस्तारका लागि सीप विकास पनि महत्वपूर्ण रहेको बताए। ‘दीगो आर्थिक विस्तारका लागि निर्यात वृद्धि गर्न पनि सीपयुक्त दक्ष जनशक्ति आवश्यक छ।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.