सार्कको विकल्पमा बिम्स्टेक : भारत

सार्कको विकल्पमा बिम्स्टेक : भारत

नयाँदिल्ली : भारतले सार्कमा समस्या देखिएकाले बिमस्टेको अवधारणा अघि बढाएको स्पष्ट पारेको छ। विदेशमन्त्री एस जयशंकरले पाकिस्तानसँगको सम्बन्धका कारण सार्कको भविष्य अन्योलमा रहेको संकेत गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। 

भारतीय उद्योग परिसंघको अनन्त सेन्टरले आयोजना गरेको ‘ग्रोथ नेट समिट’ मा उनले भने, ‘सार्कमा केही समस्या छ। हामी सबैलाई त्यो थाहा छ। आतंकवादलाई पर राखेर सोच्ने हो भने पनि यस क्षेत्रमा इन्टर कनेक्टिभिटी र व्यापारको समस्या यथावत् छ। ’ उनले पाकिस्तानको नाम भने लिएनन्। ‘दक्षिण एसियाली मुलुक विश्वमै सबैभन्दा न्यून रूपमा जोडिएका छन्। त्यसैले पनि बिमस्टेकलाई प्राथमिकतामा राखेका हौं,’ उनले भने, ‘हामीले बिमस्टेक सदस्य राष्ट्रमा ऊर्जा, सोच र सम्भावना देखेका छौं। ’ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा बिमस्टेक सदस्य राष्ट्रलाई मात्र आमन्त्रण गर्नुको कारण पनि त्यही भएको स्पष्ट पारे। 

प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्रीको शपथ समारोहमा दिल्ली आउँदा सार्क अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले भारतको साथ पाउने विश्वास व्यक्त गरेको एक सातापछि जयशंकरको यस्तो धारणा बाहिर आएको हो। भारतीय विदेशमन्त्रीको अभिव्यक्तिले सार्कको भविष्य अन्योलमा रहेको स्पष्ट संकेत गर्छ। 

विदेशमन्त्रीको यो धारणा आएसँगै भारतीय सञ्चारमाध्यमले पाकिस्तानलाई अलग राखेर भारतको नेभरहुड फस्ट पोलिसी (छिमेक पहिलो नीति) यथावत् रहेको विश्लेषण गरेका छन्। मोदीको पहिलो कार्यकालको मध्यदेखि चिसिएको भारत–पाकिस्तानका सम्बन्धका कारण पाकिस्तानलाई अलग गर्ने भारतको रणनीति देखिँदै आएको थियो। पहिलो कार्यकालको शपथ ग्रहण समारोहमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाइ आमन्त्रित गरिएको थियो। लगत्तै मोदीले पनि पाकिस्तान भ्रमण गरेर पाकिस्तान सरकार र जनतालाई आश्चर्यमा पारेका थिए। जम्मु कश्मिरको उरीमा भएको आक्रमणपछि दुई मुलुकबीचको सम्बन्धमा तनाव सुरु भएको थियो। गत फरबरीमा पुलवामा आक्रमणपछि सम्बन्ध झनै चुलियो। 

भारतको बिमस्टेकलाई अघि बढाउने नीति गोवामा सम्पन्न आठौं ब्रिक्स सम्मेलनदेखि नै स्पष्ट देखिँदै आएको हो। त्यहाँ बिमस्टेक सदस्य राष्ट्रहरुलाई आमन्त्रित गरेर ब्रिक्स बिमस्टेक छुट्टै आउटरिच समिट गरिएको थियो। मोदीको दोस्रो कार्यकालमा बिमस्टेकलाई सशक्त ढंगले परिचालन गर्ने भारतको नीति रहेको अर्को उदाहरण विदेशमन्त्री जयशंकरले गर्न लागेको पहिलो विदेश भ्रमणले पनि स्पष्ट पार्दैछ। जयशंकरले शुक्रबार र शनिबार भुटान भ्रमण गर्न लागेको विदेश मन्त्रालयले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी गराएको छ। 

प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण माल्दिभ्स र श्रीलंकाबाट सुरु गर्दैछन्। अघिल्लो कार्यकालमा प्रधानमन्त्री मोदीले भुटानको पहिलो भ्रमण गरेर नेपाल पुगेका थिए। पाकिस्तानप्रति कडा देखिएको भारतले त्यसबाहेकका अन्य छिमेकी मुलुकसँग भने लचिलो रहने संकेत दिएको छ। विदेशमन्त्री जयशंकरले छिमेकीप्रति लचिलो नीति रहेर सम्बन्ध विस्तार गर्ने धारणा सार्वजनिक गरिसकेका छन। दक्षिण एसियाली मुलुकको आर्थिक विकासको जिम्मेवारी भारतको रहेको भन्दै उनले भारतको समृद्धिले छिमेकीलाई माथि उठाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भनेका छन्, ‘यस्ता विषयमा हामी बसेर छलफल गर्न सक्छौं। छिमेकीलाई हामीले प्रोत्साहित गर्नुपर्नेछ। भुटानले यसको लाभ उठाएको उदाहरण यहाँहरु समक्ष छ। ’

पाकिस्तानी विदेश सचिव दिल्लीमा

पाकिस्तानी विदेश सचिव सोहेल महमुद इद मनाउन अचानक दिल्ली आएका छन्। पाकिस्तानी सञ्चारमाध्यमले महमुदको यात्रा व्यक्तिगत भएको समाचार प्रसारण गरेका छन्। तर भारतीय सञ्चारमाध्यमले भने यसलाई भारत–पाकिस्तानको सम्बन्ध अगाडि बढाउने संकेतका रूपमा विश्लेषण गरेका छन्। उनी शुक्रबार स्वदेश फर्किनेछन्।

भारतीय विदेश मन्त्रालयले पनि महमुदको भ्रमण व्यक्तिगत रहेको स्पष्ट पारेको छ। विदेश मन्त्रालयका प्रवक्ता रबीस कुमारले महमुदको भ्रमणमा कुनै राजनीतिक भेटघाट नहुने स्पष्ट पारेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.