इङ्ल्यान्डलाई बंगलादेशको त्रास

इङ्ल्यान्डलाई बंगलादेशको त्रास

कार्डिफ : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा शनिबार दुई खेल हुँदैछ। पहिलो खेलमा आयोजक इङ्ल्यान्डले बंगलादेशको सामना गर्दैछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे कार्डिफस्थित सोफिया गार्डेन्स रंगशालामा सुरु हुनेछ।

 दोस्रो खेल न्युजिल्यान्ड र अफगानिस्तानबीच हुनेछ। उक्त खेल साँझ ६ :१५ बजे ब्रिस्टलस्थित काउन्टी ग्राउन्डमा सुरु हुनेछ। शनिबार मैदानमा ओर्लने चारवटै टोलीले हालसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन्।

पाँचौं पटक एकदिवसीय विश्वकप आयोजना गरिरहेको इङ्ल्यान्ड हालसम्म तीन पटक फाइनलमा पुगेर पनि उपाधिबाट चुकेको टोली हो। इङ्ल्यान्ड सन् १९७९ को विश्वकपको फाइनलमा वेस्ट इन्डिजसँग ९२ रनले हारेको थियो। सन् १९८७ को फाइनलमा अस्ट्रेलियासँग सात रनले हारेको इङ्ल्यान्ड सन् १९९२ को फाइनलमा भने पाकिस्तानसँग २२ रनले पराजित भएको थियो। त्यसयता इङ्ल्यान्ड विश्वकपको फाइनलमा पुग्न सकेको छैन।

इङ्ल्यान्डको प्रतिद्वन्द्वी बंगलादेशको भने यो छैटौं विश्वकप सहभागिता हो। सन् २००७ को विश्वकपमा सुपर एट चरणसम्म पुगेको बंगलादेश सन् २०१५ मा पनि क्वार्टरफाइनलमा प्रवेश गरेको थियो। सन् २०१५ को विश्वकपको क्वार्टरफाइनलमा बंगलादेशलाई भारतले एक सय नौ रनले हराएको थियो। विश्वकपमा यो नै बंगलादेशको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो। जारी विश्वकपमा इङ्ल्यान्ड र बंगलादेश दुवैले यसअघि दुई÷दुई खेल खेलिसकेका छन्।

आफूले खेलेका अघिल्ला दुईमध्ये इङ्ल्यान्ड र बंगलादेश दुवैले एक÷एक खेल जितेका छन् भने एक÷एक खेलमा पराजय भोगेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई एक सय चार रनले हराएको थियो। दोस्रो खेलमा भने इङ्ल्यान्डलाई पाकिस्तानले १४ रनले पराजित गरेको थियो। बंगलादेशले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई नै २१ रनले पराजित गरेको थियो। दोस्रो खेलमा भने बंगलादेशी टोली न्युजिल्यान्डसँग दुई विकेटले पराजित भएको थियो।

त्यसैले पनि यी दुवै टोली शनिबार हुने खेलमा जित हात पार्दै आफ्नो सेमिफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाउने धुनमा छन्। यी दुई टोलीबीच हालसम्म खेलिएको एकदिवसीय क्रिकेटमा इङ्ल्यान्ड निकै बलियो देखिन्छ। हालसम्म इङ्ल्यान्ड र बंगलादेशबीच २० वटा एकदिवसीय खेल भएको छ। १६ खेलमा इङ्ल्यान्ड र चार खेलमा बंगलादेश विजयी भएका छन्। जारी विश्वकपमा इङ्लिस टोली बंगलादेशसँग केही त्रसित भने देखिएको छ। यसको मुख्य कारण हो सन् २०१५ को विश्वकप।

सन् २०१५ को विश्वकपमा पनि यी दुवै टोली एउटै समूहमा परेका थिए। त्यतिबेला बंगलादेशले बलियो इङ्ल्यान्डलाई १५ रनले हराएको थियो। उक्त विश्वकपमा बंगलादेश क्वार्टरफाइनलमा पुगेको थियो भने इङ्ल्यान्ड लिग चरणबाटै घर फर्किएको थियो। जारी विश्वकपमा इङ्ल्यान्ड इयोन मोर्गन र बंगलादेश मसरफे मोर्तजाको कप्तानीमा छ।

बंगलादेशका मुसफिकर रहिम, सकिब अल हसन, सौम्य सरकारजस्ता ब्याट्सम्यान र मुस्ताफिजुर रहमान, मोहम्मद सैफुद्धिनलगायतका बलर लयमा छन्। इङ्ल्यान्डको टोलीमा पनि जोए रुट, जासन रोय, जस बट्लर, बेन स्टोक्स, इयोन मोर्गनलगायतका ब्याट्सम्यानको प्रदर्शन उत्कृष्ट छ। बलिङतर्फ पनि युवा जोफरा आर्चर, लियाम प्लुनकेट, मोइन अली, क्रिस वाक्सजस्ता क्षमतावान् खेलाडी छन्।

यसैगरी शनिबार साँझ न्युजिल्यान्ड र अफगानिस्तानबीच खेल हुँदैछ। यी दुवै टोलीले जारी विश्वकपमा दुई÷दुई खेल खेलिसकेका छन्। न्युजिल्यान्ड अघिल्ला दुवै खेल जित्दै चार अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ। अघिल्ला दुवै खेलमा पराजित भएको अफगानिस्तान भने तालिकाको सबैभन्दा पुछारमा छ। न्युजिल्यान्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेट र दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले हराएको थियो।

अफगानिस्तान भने पहिलो खेलमा अस्ट्रेलियासँग सात विकेट र श्रीलंकासँग डकवर्थ एन्ड लेविस नियमका आधारमा ३४ रनले पराजित भएको थियो। न्युजिल्यान्ड र अफगानिस्तानबीच हालसम्म विश्वकप क्रिकेटमा एक खेलमात्र भएको छ। सन् २०१५ मा भएको विश्वकपको समूहगत चरणमा न्युजिल्यान्डले अफगानिस्तानलाई ६ विकेटले हराएको थियो। उक्त खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तान एक सय ८६ रनमा अलआउट भएको थियो। जवाफमा न्युजिल्यान्डले ३६.१ ओभरमा चार विकेट गुमाएर एक सय ८८ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो।

एकदिवसीयमा दुई टोली

कुल  : २० खेल

इङ्ल्यान्ड विजयी  : १६ खेल

बंगलादेश विजयी  : ४ खेल

आजको खेल

 इङ्ल्यान्डविरुद्ध बंगलादेश

सोफिया गार्डेन्स (दिउँसो ३ :१५ बजे) कार्डिफ

अफगानिस्तानविरुद्ध न्युजिल्यान्ड

काउन्टी ग्राउन्ड (साँझ ६ :१५ बजे) ब्रिस्टल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.