कांग्रेसको जागरण अभियान : जागरुक केमा बनाउने भन्नेमै अलमल

कांग्रेसको जागरण अभियान : जागरुक केमा बनाउने भन्नेमै अलमल

काठमाडौं : ‘सांगठनिक सुस्तता’ ले शिथिल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्यकर्तालाई जागरुक बनाउन भन्दै आयोजना गरेको पहिलो चरणको जागरण अभियान शनिबार सकियो।

‘हिमाल, पहाड, तराई–मधेस, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएर २५ बैशाखमा सुरु भएको एक महिने अभियानले जिम्मेवारीविहीन भएका कांग्रेस कार्यकर्तालाई झक्झक्याउने काम गरेको कांग्रेसको दाबी छ।

एक महिने अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको थियो। अब भदौ २४ देखि असोज ७ गतेसम्म प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा दोस्रो चरणको र ७ पुसदेखि १६ माघसम्म ७५३ वटै स्थानीय तहमा अभियानका बाँकी कार्यक्रम आयोजना हुँदै छन्।

पार्टीभित्र आन्तरिक द्वन्द्व असरल्ल छाडेर गरेको भनिएको अभियानले पार्टी कार्यकर्ताको मनोविज्ञानमा के कति प्रभाव पार्‍यो र त्यसले के कति जागरण ल्याउन सक्यो ? वा यो अभियान सदा झैँ नेता र कार्यकर्ता भेट्ने अवसर मात्र बन्यो ? अभियानको पहिलो चरण सकिएपछि यी प्रश्न उठेका छन्।

संघीय संरचनाअनुसार संगठन विस्तार गर्न नसक्दा जिम्मेवारीविहीन बनेका स्थानीय नेता तथा कार्यकर्ताले जागरण अभियानमा जिम्मेवारीको ‘भोक’ केही हदसम्म भए पनि मेटाउन पाए।

निर्वाचनमा ‘अनेपेक्षित’ हार व्यहोरेको कांग्रेसले निरास कार्यकर्तालाई उत्साहित बनाउन आयोजना गरेको अभियान कति सफल भयो त? कांग्रेस नेता गगनकुमार थापा भन्छन्, ‘पार्टीभित्र सांगठनिक सुस्तता र रिक्तता छ। धेरै नेता कार्यकर्ता जिम्मेवारीविहीन छन्। यस्तो अवस्थामा केही हदसम्म केन्द्रीय नेता तलसम्म पुग्दा उपलब्धि भयो।’

अभियानका क्रममा जिल्ला पुगेका नेताहरूले आफ्ना गुटका कार्यकर्तालै मात्रै ध्यान दिएको कार्यकर्ताहरूको आरोप छ। कांग्रेसको जागरण अभियान कार्यकर्ता जागृतभन्दा पनि नेताले महाधिवेशन केन्द्रित माहोल बनाउने ‘प्लेटफर्म’ बनाएको आरोप पनि प्रसस्तै छन्।

सरकारको 'समीक्षा'

देश संघीयतामा गएपछिको पहिलो निर्वाचनमा ‘अनपेक्षित’ हारले रन्थनिएको कांग्रेस निर्वाचन परिणामले निरुत्साहित भएका कार्यकर्ताको मनोबल बढाउन अभियानको थालनी गरेको थियो। संसदमा ‘कमजोर प्रतिपक्ष’को आसनमा बसेको कांग्रेसले अभियानका क्रममा सरकार चुकेका मुद्दा पनि जनता समक्ष लाने बताएको थियो। तर प्रभावकारी रूपले सरकारका गलत गतिविधिको उजागर गर्न नसकिएको कांग्रेसकै नेताहरू स्वीकार गर्छन्।

‘अभियानले हामी कार्यकर्तासँग साक्षात्कार गर्ने अवसर दिलायो। हामीबीचका मनमुटाव पनि कम गरायो’, नेता प्रदीप पौडेल भन्छन्, ‘हामी संसदको प्रमुख प्रतिपक्षी दल हो। अहिले सरकारले प्रतिपक्षीलाई यति धेरै मसला दिएको छ तर हामीले त्यसलाई प्रभावकारी ढंगले उठाउन सकेनौं। यसमा नेतृत्वले समीक्षा गर्नुपर्छ।’

सभापति शेरबहादुर देउवाइतर खेमाका नेताहरू यो अभियानबाट त्यति सन्तुष्ट छैनन्। कार्यकर्तामाझ अन्तर्क्रियाको माध्यम भएकाले सार्वजनिक ठाउँमा खुलेर विरोध गर्न नसके पनि महाधिवेशनको मुखमा खासै प्रभावकारी हुन नसकेको उनीहरूको तर्क छ।

पार्टी नेताकै वैचारिक अस्पष्टता रहँदा गरिएको जागरण अभियान प्रभावकारी हुन नसकेको विश्लेषकहरूको तर्क छ। वैचारिक अलमल, संगठनात्मक स्खलन र चरम गुटबन्दीका बेला गरिएको यो अभियान नेता र कार्यकर्ताको भेटघाटमा मात्रै सीमित भएको कांग्रेसलाई नजिकबाट नियाल्ने विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। ‘कार्यकर्तालाई केमा जागरुक बनाउने भन्ने मै नेताहरू आफैं अलमलमा छन्। अनि के को जागरण अभियान?’, उनले भने, ‘यो त भेटघाट मात्रै हो।’

संरचना नहुँदा प्रभावकारी भएन

ललितपुरमा भएको कांग्रेसको जागरण अभियान कार्यक्रम। फोटोः अशोक दुलाल/अन्नपूर्ण


कांग्रेसले आफूलाई संघीयतासहितको संविधान ल्याउने प्रमुख राजनीतिक शक्ति दाबी गर्दै आएको छ। तर देशमा संघीयताअनुसार निर्वाचन भएको ढेड वर्ष पूरा हुँदा पनि कांग्रेसले पार्टी संरचनालाई संघीय संरचनाअनुसार ढाल्न सकेको छैन।

गत मंसिरमा बसेको महासमिति बैठकले पार्टीको विधानलाई संघीय संरचनाअनुसार नै रूपान्तरण गर्‍यो। विधानमा सहमति जुट्न नसक्दा विधान करिब तीन महिना केन्द्रीय समितिमै थन्कियो। विधान बल्लतल्ल केन्द्रीय समितिबाट पास भए पनि पार्टी संरचना भने पुरानै ढर्रामा छ। देशमा भएको परिवर्तनसँगै कांग्रेस रूपान्तरण हुन सकेन।

देश पुनर्संरचनामा गएपछि तल्लो तहमा कांग्रेसको संगठन नै छैन। स्थानीय नेता तथा कार्यकर्ता पनि जिम्मेवारीविहीन छन्। ‘संविधानअनुसार पार्टी संरचना निर्माण गर्न नसक्दा जागरण अभियान जति प्रभावकारी हुनुपर्ने हो त्यति भएन’, पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने, ‘स्थानीय नेताहरूले पनि यही गुनासो छ। पार्टी संगठन निर्माणमा ध्यान नदिँदा धेरै नेता, कार्यकर्ता जिम्मेवारीविहीन छन्।’

संविधानको मर्मअनुसार पार्टी संरचना नभएको प्रति आम कार्यकर्ताले प्रश्न गर्न थालेको देउवा विरोधी खेमाको निष्कर्ष छ। ‘हाम्रो पार्टीको संघीय संरचनाअनुसार प्रदेश, नगर, गाउँ वडामा संरचना छैन’, नेता डा. शेखर कोइरालाले भने, ‘यसप्रति कार्यकर्ताले पनि प्रश्न गरेका छन्। यो अभियान कांग्रेसका लागि राम्रो छ। तथापि संगठन बनाएर गरेको भए धेरै राम्रो हुने थियो। आखिर विधानमा संक्रमणकालीन व्यवस्था उल्लेख गरेकै थियो।’

पार्टी संस्थापन समूह भने पार्टीलाई संघीय संरचनाअनुसार अघि बढाउनै जागरण अभियान भएको बताउने गरेको छ। कार्यकर्तालाई संघीय संरचनाका बारेमा जानकारी गराउने अभियानको उद्देश्य भएको पार्टी उपसभापति विमलेन्द्र निधि बताउँछन्।

‘महासमितिले पारित गरेको पार्टीको विधान भर्खर त छापियो। अब यो विधानका बारेमा कार्यकर्तालाई जानकारी गराउनुपर्छ भनेरै हामीले अभियान चलाएका हौं नि!’, उनी भन्छन्, ‘सभापति, महामन्त्रीको मौखिक आदेशमा संघीय संरचनाअनुसार संगठन बन्छ ? त्यसका लागि त विधानअनुसार गठन गर्ने हो नि!’

कार्यकर्ता तहबाट संविधानअनुसार पार्टीको संरचना निर्माणका लागि दबाब आएका कारण अब भने पार्टीले संरचना निर्माणमा ध्यान दिनुपर्ने नेता थापाको भनाइ छ। ‘हामीले पहिलो चरणको अभियान त सक्यौं। अब दोस्रो चरणको अभियान प्रदेशको निर्वाचन क्षेत्रमा मा गर्ने भनिएको छ’, उनले भने, ‘तर देशमा पो प्रदेश छ त हाम्रो पार्टीमा छैन।’

महाधिवेशनलाई असर

कांग्रेसको विधानअनुसार प्रत्येक चार वर्षमा नियमित महाधिवेशन गर्नुपर्ने हुन्छ। १३ औं महाधिवेशनपछि सभापतिमा निर्वाचित शेरबहादुर देउवाको नेतृत्वले आउँदो फागुनभित्र नियमित महाधिवेशन गर्नुपर्ने हो।

तर सभापति देउवा नियमिमत महाधिवेशनको पक्षमा छैनन्। उनले केही महिनाअघिको केन्द्रीय समिति बैठकमा विधानले थप्न पाउने समयसम्म चलाउने अभिव्यक्ति दिइसकेका छन्।

विधानतः विशेष परिस्थितिमा एक वर्षसम्म म्याद थप्न पाइन्छ। यसअघि पनि कांग्रेसको महाधिवेशन समयमा भएको बिरलै भेटिन्छ। ‘महाधिवेशन परम्पराअनुसार नै हुन्छ। जागरण अभियान नेता–कार्यकर्ताको दूरी घटाउन हो, महाधिवेशन सार्न होइन’, सभापतिनिकट नेता भीष्मराज आङ्देम्बे भन्छन्। नेता आङ्देम्बेको भनाइले पनि समयमा महाधिवेशन गर्ने पक्षमा देउवा नरहेको पुष्टि गर्छ। पार्टीको १४ औं नियमित महाधिवेशन फागुनमा गर्नुपर्ने हुन्छ। तर मध्य माघसम्ममा मात्रै कांग्रेसको जागरण अभियान सकिन्छ।

अभियान महाधिवेशनको मुखैमा भएका कारण कतै महाधिवेशन त सर्ने हैन भन्नेमा सशंकित छन्, संस्थापनइतर समूहका नेता पनि। ‘जागरण अभियान कांग्रेस पराजित भएपछि निकै आवश्यक पनि थियो।  पहिल्यै गर्नुपर्ने हो। तर अहिले महाधिवेशनको मुखमा गरिनुले शंका उब्जिएको छ’, केन्द्रीय सदस्य डा. कोइराला भन्छन्, ‘जागरण अभियानको नाममा महाधिवेशन नसारियोस्।’

नेता प्रदीप पौडेलले पनि जागरण अभियानसँगै १४ औं महाधिवेशनको तयारी अघि बढाउनुपर्ने बताउँछन्। 'पछिल्लो समय पार्टीलाई यथास्थितिमा राख्ने हो कि महाधिवेशन गर्ने हो भन्ने प्रश्न पनि नेतृत्वसामु छ’, उनको भनाइ छ, ‘तर अभियानसँगै महाधिवेशनलाई पनि समयमै सक्ने गरी अघि बढ्नुपर्छ।’

महाधिवेशनका लागि तल्ला पार्टी संगठन निर्माण गर्नुपर्ने बेलामा भएको अभियानले महाधिवेशनमा प्रष्टै असर गर्ने बताउँछन्, विश्लेषक आचार्य पनि। ‘सभापतिले त महाधिवेशन फागुनमा गर्दिन भनेर पार्टी बैठकमै भनिसक्नुभयो’, उनी भन्छन्, ‘संघीय संरचनाअनुसार पार्टी संरचना बनाऊँ, समयमा महाधिवेशन गरौं भनेर सभापतिलाई दबाब आइरहेको थियो। त्यही भएर यो अभियान ल्याइएको हो। अब त अभियान गरेर महाधिवेशन गर्न सकिएन भन्न पनि सहज हुन्छ नि!’

तर उपसभापति निधि भने महाधिवेशनको माहोल तयार पार्नै यो अभियान चलाएको दाबी गर्छन्। ‘केही व्यक्तिले महाधिवेशन टार्न खोजेको भनेको पछि नलागौं’, निधि भन्छन्, ‘पार्टीको विधान तल्लो तहमा लगेर नै त्यहीअनुसार महाधिवेशन गर्ने हो। महाधिवेशनको तयारी स्वरूप यो अभियान गरिएको हो।’

गुटलाई प्रश्रय

जागरण अभियानको उद्देश्यमध्ये एक थियो– कांग्रेसभित्र देखिएका तिक्तता र गुट अन्त्य गर्नु।

तीन चरणका लागि तय गरिएको अभियानमध्ये पहिलो चरणको अभियान गुट कति सफल भयो त?

केही दिनअघि एक कार्यक्रममा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘कांग्रसभित्र देखिएका आन्तरिक समस्या क्रमशः समाधान हुँदै छन्। अब भित्र सुध्रिँदै बाहिर गज्रिँदै हामी अघि बढ्छौं।’

प्रवक्ता शर्माले यसो भनिरँदा कार्यकर्ताहरू भने नेताहरूले अभियानका क्रममा गुटलाई प्रश्रय दिएको आरोप लगाएका छन्। अभियानले काठमाडौंमा मात्रै सीमित नेतालाई जिल्ला जिल्लामा पुर्‍याए पनि गुट अन्त्यका लागि भने खासै सहयोग नगरेको कार्यकर्ताको बुझाई छ।

‘हामीले देशभरको अभियानलाई नियालिरहेका छौं। यो क्रममा नेताहरू अलिक बढी महाधिवेशन केन्द्रित भएको हो कि भन्ने देखियो’, रूपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति हरि लम्साल भन्छन् ‘नेताहरूले गुटलाई प्रश्रय दिएको हो कि जस्तो देखियो। जनताको बीचमा जागरण पुगेन। आशा गरौं अब दुई चरणका अभियान पुग्छ कि !’

पार्टीमा गुट मौलाउनुका पछाडि कार्यकर्ताको पनि हात रहेको सुनसरीको इनरुवा नगरसभापति तथा इनरुवा नगर प्रमुख राजन मेहेताको आरोप छ। ‘पार्टीमा गुट मौलाउनुको कारण कार्यकर्ता पनि हो’, उनको दाबी छ, ‘कार्यकर्ताले घेराबन्दीमा राखेपछि गुट बनाउन नेता बाध्य हुन्छ। तर नेताले गुटलाई प्रश्रय दिनु हुँदैन।’

अहिलेको अवस्था हेर्दा कांग्रेसमा गुटले संस्थागत रूप पाएको विश्लेषक आचार्यको बुझाइ छ। ‘सबै नेताहरू शक्तिमा आउन प्रयासरत छन्। यो अभियानमा पनि गुटले प्रश्रय पाएकै छ’, उनी भन्छन्, ‘यसले पार्टीभित्र गुटलाई संस्थागत भएको देखाउँछ। १४ औं महाधिवेशनपछि पनि पार्टीमा गुट संस्थागत हुने निश्चित देखियो।’

कार्यकर्ताको मुख थुन्ने !

कांग्रेसले आफूलाई सबैभन्दा लोकतान्त्रिक दल दाबी गर्छ। पार्टीभित्र नेतृत्वको आलोचना गर्न छुट भएको पार्टी नेता दाबी गर्छन्।

त्यसैले त कांग्रेसका आन्तरिक विवादहरू पार्टीका खुल्ला बहस बन्छन्। नेताहरूले एकअर्काप्रति लागेको कुण्ठा सहजै सार्वजनिक कार्यक्रममै पोखिदिन्छन्। नेतृत्वको आलोचना बढ्दै गएपछि जागरण अभियानका क्रममा कांग्रेसले कार्यकर्तालाई आलोचना नगर्नु भन्दै लगाम नै लगायो।

भीष्मराज आङ्देम्बेको संयोजकत्वमा रहेको अनुशासन समितिले जागरण अभियान सुरु हुन केही दिन बाँकी छँदै पार्टी नेतृत्वको आलोचना नगर्न भन्दै विज्ञप्ति नै जारी गर्‍यो। समितिले कसले नेतृत्वको आलोचना गर्छ कि भनेर निगरानी गर्न पार्टी निकट डेमोक्रेटिक लयर्स एसोसिएसनलाई आग्रह नै गर्‍यो।

यो निर्देशनलाई लिएर पार्टीभित्र तीव्र विरोध भयो। लोकतान्त्रिक पार्टीभित्र निरंकुश अभ्यास भएको भन्दै कार्यकर्ताले आलोचना गरे। ‘यो त कम्युनिस्ट पार्टीको कार्यकर्तालाई जस्तै भयो ’, रूपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति लम्सालको भनाइ छ, ‘कार्यकर्ताको मुख थुन्ने काम नेतृत्वबाट भयो।’

निर्वाचनमा पार्टी नराम्ररी पराजित भएपछि सभापति देउवाको निरन्तर आलोचना गर्दै नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले नेतृत्वबाट लोकतान्त्रिक अधिकार खोस्ने काम भएको बताए।

‘नेतृत्वले लोकतान्त्रिक अधिकार नै खोस्यो। व्यक्तिको हैन प्रवृत्तिको आलोचना हुने गरेको थियो ’, उनले भने, ‘केन्द्रले मुख थुन्ने काम गरे पनि कार्यकर्ता त काहाँ मान्छन् र ! नेतृत्वको गलत गतिविधिको विरोध गरेरै छाडे।’

अनुशासन समिति संयोजक आङ्देम्बेले आफूहरूले नेतृत्वको आलोचना गर्न रोक नलगाएको दाबी गरे। ‘नेतृत्वमाथि आक्षेप लगाउँदा प्रमाणित हुने लगाऊँ मात्रै भनेको हो। यसले पार्टी एकतामा पनि सुदृढीकरण ल्याउँछ’, उनले भने, ‘आलोचना गर्नै रोक लगाएको हैन।’

कार्यकर्ताको 'एकता' सुझाव

अभियानका क्रममा जिल्ला जिल्लामा पुगेका नेताहरूलाई कार्यकर्ताले पार्टीभित्र एकता गर्न सुझाव दिएका छन्। उनीहरूले कार्यकर्तालाई जिम्मेवार बनाउन संघीय संरचनाअनुसार संगठन निर्माणमा सुझाव दिएको प्रदीप पौडेल बताउँछन्।

‘कार्यकर्तालाई जिम्मेवार बनाउन सबै संगठन विस्तार, भ्रातृ संगठनका महाविधेशन गर्न नेतृत्वलाई कार्यकर्ताले सुझाव दिएका छन्’, उनले भने।

अभियानका क्रममा जिल्ला दौडाहमा रहेका केन्द्रीय सदस्य थापाले कार्यकर्ताको अपेक्षा पार्टीको स्पष्ट धारणा तय गर्नुपर्ने रहेको बताउँछन्। ‘राष्ट्रिय मुद्दाहरूमा हाम्रा नेताहरूको फरक–फरक धारणा आउँछ। यसो नहोस् भन्ने कार्यकर्ताको सुझाव छ’, उनले भने, ‘सबै मुद्दामा एकै धारणा आउनु पर्छ।’

पार्टी गुटबन्दीले चरम समस्यामा परेको भन्दै कार्यकर्ताले गुटबन्दीको अन्त्य गर्न नेतृत्वलाई सुझाव दिएको केन्द्रीय सदस्य गुरुराज घिमिरे बताउँछन्। ‘तल्लो तहमा पनि गुटगत गन्ध देखियो’, उनले भने, ‘तर कार्यकर्ताले माथि एक हुनुहोस् हामी एक हुन्छौं भनेका छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.