बालबालिकाका लागि फिल्म बन्नुपर्छ

बालबालिकाका लागि फिल्म बन्नुपर्छ

मलाई चलचित्र ‘नाइँ नभन्नु ल’ को निर्देशकको रूपमा चिनिन्छ। मैले यो चलचित्रको पाँचौं शृंखलासमेत बनाइसकेको छु। यस फिल्ममा बालबालिका नै मुख्य कलाकार हुने गर्छन्। हाम्रो देशमा साना नानीबाबुहरूलाई लिएर चलचित्र खासै बन्दैन। यो निकै जोखिमपूर्ण काम हो। तर म बालबालिकाकै चलचित्र बनाएर उनीहरूको प्रिय अंकल बन्न चाहन्छु।

मेरो जन्म विराटनगमा भएको हो। मेरो बाल्यकाल त्यहीँ बित्यो। सानोमा पढ्नुभन्दा मलाई खेल्न रमाइलो लाग्थ्यो। फुटबल, भलिबल, डोल बगैंचा, गुच्चा खेल्दा निकै मज्जा आउँथ्यो। किताब छुन मन लाग्दैनथियो। विद्यालयबाट घर आउनेबित्तिकै झोला कोठामा राखेर खेल्न दौडिन्थेँ।

अलि ठूलो भएपछि पढ्नु पर्दो रहेछ भन्ने थाहा भयो र खुब पढ्न थालेँ। एमएसम्म आउँदा मैले कलेज नै टप गरेको थिएँ। त्रिभुवन विश्वविद्यालयबाट मैले सम्मानस्वरूप महेन्द्र विद्या भूषणसमेत पाएको छु। पछि म उच्च शिक्षाको लागि नर्वे गएको हुँ। शिक्षाको महत्व बुझेपछि मैले पढाइमा खुब मन लगाएर पढ्दै गएँ।

भाइबहिनी हो, मलाई अनुशासनमा बस्न मनपर्छ। सानैदेखि म निकै अनुशासित थिएँ। बुवाआमा र विद्यालयले सिकाएका राम्रा कुराहरू मैले याद राखेको छु। मैले अरूलाई दुःख दिने, काम बिगार्ने बानी कहिल्यै गरिनँ। सानोमा बदमासी गर्ने सोच पनि कहिल्यै आएन।

हाम्रो पालामा ज्ञान हासिल गर्ने सीमित स्रोत थिए। आफ्नै परिवार समाजमा रमाउँथ्यौं। तर अहिलेका बालबालिका धेरै समझदार छन्। उनीहरूलाई प्रविधिको ज्ञान छ। देश दुनियाँको बारेमा थाहा छ। यो देखेर खुसी लाग्छ। तर हामी सानोमा प्रकृतिसँग, माटोसँग नजिक थियौं। आजका नानीबाबुहरूमा त्यो प्रकृति प्रेम देख्दिनँ। यो कुराले मन दुख्छ।

म साथीभाइसँग चकचक गरे पनि ठूलाबडाको सम्मान गर्थेँ। घरमा हामी पाँच जना दाजुभाइ थियौं। म साइलो छोरा हुँ। दिदीबहिनी थिएनन्। त्यसैले केटीहरूसँग बोलचाल गर्न गाह्रो लाग्थ्यो। हामी सबै दाजुभाइ ज्ञानी थियौं। घरको नियममा बस्थ्यौं।

चलचित्र हेर्ने बानी सानैदेखिको हो। प्रत्येक हप्ता कुनै न कुनै चलचित्र हेर्न सिनेमा हल गइन्थ्यो। त्यतिबेला चलचित्र र खेलकुद नै मनोरञ्जनको साधन थियो। अहिले जस्तो हातहातमा मोबाइल इन्टरनेट थिएन। भिडियो गेम थिएन। साथीभाई जम्मा भएर कुनै खेल खेल्नु पथ्र्यो। हप्ताको एक पटक चलचित्र हेर्न घरैबाट पैसा दिनु हुन्थ्यो।

म सिनेमा क्षेत्रमा जाओस् भन्ने इच्छा मेरो आमाको थियो। हाम्रो परिवारमा सिनेमाको प्रभाव नै थियो। अनाडी, अन्दाज, वर्षात्, लिडरजस्ता हिन्दी सिनेमा र नेपाली लगभग सबै सिनेमा मैले हेरेको छु।

भाइबहिनी हो, मलाई नाटक र चलचित्र क्षेत्रप्रति पहिलेदेखि नै मोह थियो। विद्यालयको वार्षिकोत्सवमा नाटक गर्न मन लाग्थ्यो। मैले ‘अरुणिमा’ नामक चलचित्र पनि निकै अघि खेलेको छु।। टेलिसिरियर पनि खेलेको छु। केही नाटकहरूमा अभिनय पनि गरेको छु। अरुणिमा चलचित्रमा खेलेपछि मलाई फेरि क्यामरामा देखिन मन लागेन। त्यसैले मैले चलचित्रको कथा लेखनमा नै रुचि बढाएँ। कथा लेख्दालेख्दै मलाई चलचित्र निर्देशनसम्बन्धी ज्ञान हुँदै गयो, र पछि चलचित्र निर्देशन गर्न थालेको हुँ।

अहिले म ५७ वर्षको भएँ। मैले पारिवारिक र प्रेम कथानक चलचित्रको कथा लेख्दै आएको छु। जीवनमा देखेको, भोगेको, घटनालाई नै मैले चलचित्रको कथा बनाएको छु। अहिले बालबालिकाको मनोविज्ञानमा आधारित भएर चलचित्र बनाउँछु। संसारमा १० गाह्रो काममध्ये चलचित्र निर्देशन गर्नु हो जस्तो मलाई लाग्छ। यसमा जीवन, जगत् र कला, प्रविधि सबै जोड्नुपर्ने हुन्छ। चलचित्र हाम्रा लागि किताब हो। यसलाई राम्रोसँग पढ्न सकियो भने धेरै ज्ञान बटुल्न सकिन्छ।

भाइबहिनी हो, अब म बालबालिका कै लागि निरन्तर चलचित्र बनाउने छु। बालबालिकाले पनि चलचित्र हेर्न पाउनुपर्छ भन्ने म सोच्छु। तर उनीहरूको लागि धेरै चलचित्र बन्दैनन्। नेपालमा त झन् निकै कम बन्छ। प्रायः स्पाइडर म्यान, ब्याटम्यानजस्ता विदेशी चलचित्रमात्र उनीहरूले हेर्नुपर्ने हुन्छ। हाम्रा बाबुनानीले नेपाली चलचित्र हेरून् भन्ने म चाहन्छु।

‘नाइँ नभन्नु ल’ फिल्म बनाउँदा मैले साना केटाकेटीको निकै दुःखलाग्दो कथा सुने। त्यो साँच्चिकैको घटना थियो। मलाई त्यो कथाले निकै छोयो। म भावुक भएँ। मलाई सेन्टिमेन्टल फिल्म मनपर्ने भएकाले त्यही कथामा चलचित्र बनाउने सोचेँ। बालकलाकार अनुभव रेग्मीसँग चलचित्र रिदममा काम गरिसकेकोले मैंले मेरो चलचित्रमा उनैलाई खेलाउने निधो गरेँ।

पछि नाइँ नभन्नु ल सबै दर्शकले मन पराइदिनु भयो। चलचित्रको गीतसंगीत पनि निकै लोकप्रिय भयो। यसैको जगमा टेकेर मैले ‘नाइँ नभन्नु ल’ नाममै बालबालिकाको लागि चलचित्र बनाउँदै गएँ।

भाइबहिनी हो, म वर्षको एउटा चलचित्र तिमीहरूको लागि बनाउन चाहन्छु। चलचित्रबाट ज्ञान दिन चाहन्छु। तिमीहरूले ‘विकास अंकलको चलचित्र हेर्न जाने’ भनेको सुन्न चाहन्छु। यदि म तिमीहरूको मनमा बस्न सकँे भने त्यो नै मेरो सबैभन्दा ठूलो उपलब्धि हुनेछ।

(चलचित्र निर्देशक विकासराज आचार्यसँग सपना महर्जनको गरेको कुराकानी)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.