हजुरआमाको माया

हजुरआमाको माया

भक्तपुरको नयाँठिमीमा सजलको घर थियो। सजल घरको सबैभन्दा सानो मान्छे थियो। उसका घरमा बाबा, आमा र काम गर्ने एउटी केटीमात्र थिए। केटीको नाम भुन्टी थियो। सजलको घर टोलभरिकै सबैभन्दा अग्लो र सुन्दर थियो। उसका घरमा दुईवटा सुन्दर कुकुर पनि थिए। एउटाको नाम चंखे थियो भने अर्काको नाम राते थियो।

सजल फुर्सदको समयमा तिनै कुकुरहरूसँग खेल्थ्यो। ती कुकुरहरू पनि सजल भनेपछि हुरुक्कै हुन्थे। सजल आफूले जे खायो त्यही लगेर उनीहरूलाई पनि दिन्थ्यो। तर चंखे र राते जे पायो त्यही खाँदैनथे। उनीहरूका लागि त भुन्टीले भिन्नै खालको खाना पकाउनु पथ्र्यो।

सजलका आमा र बाबा दुवै जना जागिरे हुनुहुन्थ्यो। दिनभरि उहाँहरू अफिसकै काममा व्यस्त हुनुहुन्थ्यो। बाबा र आमा प्रायः साँझको ८ बजे मात्र घरमा फर्कनुहुन्थ्यो। त्यसैले सजल घरमा एक्लै भएको अनुभव गथ्र्यो। ऊ छिमेकी उमेशको घरमा खेल्न जान भनेपछि भुतुक्कै हुन्थ्यो। तर कसैले पनि त्यसरी जान दिनु हुन्नथ्यो। आफ्नो स्कुल बिदा भएकोे तर आमाबाबाको कार्यालयमा बिदा नभएको दिन सजललाई निकै दिक्क लाग्थ्यो। ऊ दिनभर भुन्टीसँग मात्र हुन्थ्यो।

हुन त भुन्टीले सजललाई खुबै माया गर्थी। ऊ सजललाई घरि भुजा दिन्थी, घरि काजु र बदाम दिन्थी। ऊ सजललाई खेल्न भनेर फुटबल, ब्याडमिन्टन सबै सबै ल्याएर दिन्थी। सजल भने भुन्टीसँग खेल्न नै रुचाउँदैनथ्यो। बरु चंखे र रातेसँगै खेल्ने गथ्र्यो। नत्र कार्टुन हेरेर वा आईप्याडमा गेम खेलेरै दिन बिताउथ्यो।

एक दिन दिउँसो भुन्टी कपडा धुन गएकी थिई। सजल भने मस्तसँग टीभी हेर्दैथियो। घरमा लौरो टेकेकी एकजना बूढी मान्छे आइन्। उनले पहेँलो सारी र पहेँलै चोलो लगाएकी थिइन्। उनको हातमा एउटा पुरानो झोला थियो। ढोकाकै छेउमा आएर मायालु स्वरमा ‘सजल, ए सजल, ढोका खोल न !’ भनिन्। चुलबुले सजल दौडदै गएर ढोका खोलिदियो। चाउरी परेको अनुहार तन्काउँदै बूढीआमा मुस्कुराउन थालिन्। उनले त झोलामा सुन्तला र सेलरोटी ल्याएकी रहिछन्। उनले ती खानेकुरा सजलको हातमा राखीदिइन् र भनिन्, ‘तिमी यत्रो भयौं राजा ! म तिमीलाई भेट्न मन लागेर आएकी।’ सजल छक्क पर्‍यो। उसले खपाखपी सेलरोटी खायो। एउटा सेल बोकेर दौडदै गएर चंखे र रातेलाई पनि दियो। तिनीहरूले पनि औधी रमाउँदै खाए।

सजलले ‘तपाईं को हो नि ?       मैले त चिनिनँ’ भनेर ती बूढी मान्छेलाई सोध्यो। बूढीले अलि गभ्भीर बन्दै भनिन्, ‘सजल, म तिम्री हजुरआमा हुँ। मलाई तिम्रो अनुहार हेर्न ज्यादै रहर लागेर आएकी हुँ। तिमी त ठूला भएछौ। कति राम्रा पनि रहेछौ। अनुहार त दुरुस्तै प्रतापको जस्तै रहेछ। मैले त तिमीलाई सानामा मात्र देखेकी थिएँ।’

छक्क पर्दै सजलले भन्यो, ‘तपाईं मेरो घरमा हुनुहुन्छ भन्ने मलाई थाहै थिएन ! बाबा र आमाबाहेक त हाम्रो घरमा चंखे, राते र भुन्टी मात्र छन्। हजुर कसरी नि ? ’ कालो मुख लगाउँदै उहाँले भन्न थाल्नुभयो, ‘सजल, तिम्रा बाबा प्रतापकी आमा हुँ म। म तिम्री हजुरआमा हुँ।’ ध्यान दिएर सजल कुरा सुन्दैथियो। ‘बाँकी कुरा पछि गरौंला। तिमी अलि सानै उमेरका छौ’ भन्दै उहाँले झोला र लौरो खोज्न थाल्नुभयो।

सजल आफू बसिरहेको ठाउँबाट जुरुक्कै उठ्यो। हजुरआमाको लौरो समात्दै उसले भन्यो, ‘हजुर यहीँ बस्नुहोस् न त ! किन जाने नि ?       भरे बाबा आमा पनि आउनुहुन्छ। कहाँ जाने नि तपाईं ? ’ सजल उहाँलाई नजान अनुरोध गर्न थाल्यो। सजलको माया देखेर हजुरआमाले आँखाबाट बर्बरी आँसु झार्दै भन्नुभयो, ‘सजल, मेरो घर त वृद्घा श्रम हो ! म तिमीलाई भेट्न मात्र आएकी हुँ।’

रसिला आँखा पार्दै सजलले भन्यो, ‘यहाँ मलाई माया गर्ने त कोही छैन। यही एउटी भुन्टी छे। यो देखेर मलाई त दिक्क लाग्छ।’ सजलले निकै जिद्दी गर्‍यो, ‘हजुरआमा, तपाईंलाई मेरो माया लाग्दैन ? तपाईं यहीँ बस्नू न, मलाई छोडेर नजानू न !’ ऊ सुक्कँ सुक्कँ रोयो पनि। तर हजुरआमाले मान्नुभएन।

हजुरआमा त्यहाँबाट हिँडेपछि सजल मनमनै सोच्न थाल्यो। ‘उमेशकी हजुरआमा जस्तै मेरी पनि त प्यारी हजुरआमा हुनुहँदो रहेछ नि ! अब म पनि उहाँको मुखबाट कथा सुन्न पाउनेछु।’ यस्तै कुरा सम्झँदै ऊ भित्रभित्रै खुसी भयो। फेरि ‘उहाँ त वृद्घा श्रममा पो बस्नु हुन्छ त !’ भन्दै आफैंसँग दुःखी पनि भयो।

हजुरआमा गएपछि सजलले केही पनि नखाइकन बस्यो।

एकैछिनमा उसका बाबा पनि घरमा आउनुभयो। हतार हतार भुन्टीले सजलले केही नखाएको, ऊ रिसाएको र बोल्न पनि नबोलेको कुरा सुनाई। बाबाले हेल्मेट भुइँमा राख्दै सजललाई सोध्नुभयो, ‘छोरा, आज तिमीलाई के भयो ? भोक तिर्खा केही पनि किन नलागेको नि ?       ल...! छिटो खाजा खाऊ। म त अफिसको काम परेर पो यहाँ आएको त ! मैले त छिट्टै फर्कनुपर्छ।’

बाबा भनेपछि हुरुक्कै हुने सजलले आज बाबाको कुरा नसुनेझैं गर्‍यो। उसले बाबालाई अलिकति पनि वास्तै गरेन। घोसेमुन्टो लगाएर बसिरह्यो र दुवै आँखाबाट बर्बरी आँसु मात्र खसालिरह्यो। छोराको यस्तो हालत देखेर बाबा पनि छक्क पर्नुभयो। उहाँ सजलको छेउमा गएर मायालु स्वरमा ‘सजु ! तिमीलाई सञ्चो छैन ? किन नबोली आँखाबाट आँसु मात्र खसाल्यौ, कसैले पिट्यो कि ? ’ भन्नुभयो। यसैबेला कडा स्वरमा सजल चिच्यायो, ‘बाबा ! मलाई कसैले पिटेको छैन। मलाई हजुरहरूले किन ढाट्नु भयो ?       मैले आज एउटा कुरा चाल पाएँ ! त्यसैले म दुःखी भएको छु।’ सजललाई सुम्सुम्याउँदै बाबाले ‘के भयो ? ’ भनेपछि उसले रुँदै भन्यो, ‘बाबा ! हाम्रो घरमा पनि त हजुरआमा हुनुहुँदो रहेछ नि ! उहाँ कति प्यारी हुनुहुँदो रहेछ। उहाँ त हुनुहुन्न तपाईंहरूले मलाई किन झुटो बोल्नु भयो ? अब म उहाँसँगै गएर बस्छु। उहाँकै मीठा कथा सुन्छु। तपाईंहरू भुन्टीसँग बस्नुहोस्।’ यति भनेर ऊ सुक्कँ सुक्कँ रुन थाल्यो।

सजलका कुरा सुनेर बाबा झस्किनुभयो। आफूले झुटो बोलेकोमा उहाँलाई निकै पछुतो लाग्यो। उहाँले आँखाभरि आँसु पारेर छोरालाई अँगालोमा हाल्नुभयो अनि कालो अनुहार लगाउँदै घरबाट खुरुखुरु तल झर्नुभयो।

गाडीमा सजललाई राखेर जंगलको छेउमा रहेको एउटा घर नजिकै लग्नुभयो। यत्तिकैमा उसले त्यहाँको गेटमा ठूला अक्षरले ‘वृद्घा श्रम’ लेखेको देख्यो। हजुरआमा बस्ने ठाउँ यही होला भन्ने ठानेर ऊ खुसी भयो। बाबा गाडीबाट ओर्लिएर हतारहतार त्यस घरको ३ नम्बरको कोठामा जानुभयो। उहाँले ‘आमा, ए आमा ! म हजुरलाई लिन आएँ ’ भन्नुभयो। त्यसपछि हजुरआमा बाहिर आउनुभयो र चम्किलो मुख पारेर मुस्कुराउनु भयो। उहाँ फेरि त्यस घरको भित्र जानुभयो र हत्तपत्त एउटा कपडाको थोत्रे पोको र लौरो लिएर दौडदै बाहिर आउनुभयो। सजल पनि गाडीबाट ओर्लियो र हजुरआमाको नजिकै गएर उहाँको साडीको फेर समाउन थाल्यो। हजुरआमाले आफ्नो चाउरी परेको अनुहार तन्काउँदै नातिलाई चुम्बन गरिदिनु भयो। यसपछि हजुरआमा, सजल र उसका बाबा त्यही गाडीमा आप्mनो घर फर्र्किए। उनीहरू सधैं हासीखुसी बस्न थाले।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.