लजालु हुन्छन् हिउँचितुवा

लजालु हुन्छन् हिउँचितुवा

मुगु : हिमालको रानी भनेर चिनिने हिउँचितुवाको चोरी सिकार, आहारको कमी, बासस्थानको विनाश र चेतनाको कमीले यो जनावरको लोप हुने सम्भावना बढेको छ। परम्परागत चिनियाँ औषधि उत्पादनका लागि यसको हड्डी तथा छालाको प्रयोग हुन्छ। त्यस्तै शरीरका अन्य अंगहरूको व्यापारका लागि पनि यसको चोरी सिकारी हुने गरेको छ।

यार्सागुम्बा संकलनमा गएका मानिसले प्राकृतिक रूपमा रहेका आहाराजन्य नाउर, झारल, कस्तुरी, डाँफेलगायतको चोरी सिकार गर्ने गरेको पाइन्छ। बासस्थानको विनाश, जनसंख्या वृद्धि, विकास निर्माण कार्यहरू र स्रोतसाधनको अभाव भएकाले पनि हिउँचितुवा लोप हुने खतरामा रहेका हुन्।

हिउँचितुवा मध्य एसियाका देशहरूका हिमाली क्षेत्रमा करिब १६ लाख वर्ग किलोमिटर क्षेत्रफलमा छरिएर रहेका पाइन्छन्। नेपाललगायत चीन, भारत, भुटान, पाकिस्तान, अफगानिस्तान, ताजकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, किरगिजस्तान, रसिया र मंगोलियामा यो जनावर पाइन्छ। विश्वमा हिउँचितुवाको संख्या चार हजार पाँच सय देखि ७५ सयको हाराहारीमा रहेको अनुमान छ। हिउँचितुवाको लागि उत्तम बासस्थानको रूपमा सेफोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई मानिन्छ। यो निकुञ्जमा चितुवाको संख्या तीन सयदेखि पाँच सयसम्म रहेको अनुमान छ।

मुगुको डोल्फुमा १९८० को दशकमा अमेरिकी नागरिक रोनी ज्याक्सनले पाँचवटा हिउँचितुवाको घाँटीमा रेडियोकलर लगाएका थिए। ज्याक्सनले हिउँचितुवाको घाँटीमा लगाएको रेडियोकलर प्रविधि विश्वमै हिउँचितुवाको लागि पहिलो प्रविधि हो। हिउँचितुवाको आहार मानिने नाउरको बासस्थान व्यवस्थापन गर्ने कार्य भइरहेको छ। मानिसले पालेका पशु चौपायसमेत हिउँचितुवाले मारेर खाने गरेकाले मानिसले हिउँचितुवालाई विषपासो हालेर मार्ने गरेका छन्। यसरी मानव हिउँचितुवाबीचको द्वन्द्व बढ्न थालेपछि जन्तुबाट हुने क्षति राहत निर्देशिका २०६९ दोस्रो संशोधन २०७४ ले राहत व्यवस्था गरेको छ। यस अनुसार हिउँचितुवाले मानिसले पालेका चौपाया मारेकोे प्रमाणित भए १० हजार राहत दिने ब्यवस्था लागु भएको सेफोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल खनालले बताए।

खनालले फोक्सुण्डो निकुञ्जमा र मुगुमा अन्य स्थानमा हिउँचितुवाको विषयमै त्रिभुवन विश्वविद्यालयबाटै स्नातकोत्तरसमेत गरेका छन्। खनालका अनुसार हिउँचितुवाको संरक्षणको मुख्य चुनौती आहारा प्रजाति घट्नु हो। हिउँचितुवा आफैं लजालु प्रजाति भएकाले यो दिउँसो देखिँदैन। यो राति मात्र देखिन्छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले हिउँ चितुवालाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले हिउँचितुवालाई संरक्षित वन्यजन्तुको सूचीमा राखी यसको सिकार गर्न, लखेट्न, हानि पुर्‍याउन तथा अवैध ओसारपसार र व्यापार गर्न प्रतिबन्ध लगाएको छ। यस्तो कार्य गरेको भेटिएमा एकदेखि पाँच लाख रुपैंयासम्म जरिवाना अथवा पाँचदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ।

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियमन महासन्धि (साइटिस) १९७३ ले यसलाई अनुसूची १ मा समावेश गरी यसको कुनै पनि प्रकारको व्यापारमा प्रतिबन्ध लगाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.