सडक दुर्घटनामा बालबालिका, अभिभावक उत्तिकै जिम्मेवार
भाइबहिनी हो ! घरछेउमै सडक छ भने त्यहाँ खेल्न तिमीहरूलाई पक्कै मन पर्छ होला। अझ बिदाका बेला, साँझबिहान साइकल चलाउन पनि निस्किन्छौ होला, होइन त ? तर त्यसो गर्नु हुँदैन है। सडक भनेको सवारी साधन गुड्ने ठाउँ हो, खेल्ने÷खेलाउने ठाउँ होइन भन्ने बुझ्नुपर्छ। यो कुरामा अभिभावक पनि सचेत हुनुपर्छ। घरछेउको सडकमा धेरै गाडी गुड्दैनन् भने पनि बालबालिकालाई निस्किन दिनु हुँदैन।
दुईपांग्रेबाट जोखिम
दुईपांग्रे सवारीसाधन (मोटरसाइकल र स्कुटर) नेपालमा सबैभन्दा बढी चल्छन्। बढी दुर्घटना हुने पनि यिनै सवारी साधन हुन्। यसमा साना बालबालिकालाई चढाउनु पनि एकदमै जोखिम हुन्छ। घरमा दुईपांगे्र सवारी साधन छ र विद्यालय जाने साना केटाकेटी छन् भने उनीहरूलाई त्यसैमा ल्याउने पुर्याउने गरिन्छ। त्यसरी चालक एक्लै भएका बेला साना बालबालिकालाई राख्नै हुँदैन। अगाडि र पछाडि जहाँ राखे पनि जोखिम उत्तिकै हुन्छ।
माथि भनेजस्तो नगर्दा के हुन्छ, थाहा छ ? दुर्घटना हुन्छ अनि कतिको ज्यानसमेत जान सक्छ। हातखुट्टा भाँचिएर अपांगसमेत भइन्छ। तिमीहरूलाई थाहा छ, काठमाडौं, ललितपुर र भक्तपुर (काठमाडौं उपत्यका)मा मात्रै चालु आर्थिक वर्षको १० महिना (२०७५ साउनदेखि २०७६ वैशाखसम्म) सडकमा हुने दुर्घटनाबाट १२ जना बालबालिका (६ बालक र ६ बालिका)को मृत्यु भइसकेको छ। त्यति मात्र कहाँ हो र, घाइतेको संख्या धेरै छ— बालक दुई सय ४९ जना र बालिका एक सय ७८ जना।
यीमध्ये कतिपय त एक ठाउँबाट अर्को ठाउँमा जाँदा भएको गाडी दुर्घटनामा परेका बालबालिकाको संख्या हो भने कतिपय सडकमा सवारी साधनको ठक्करबाट भएको दुर्घटनाको तथ्यांक हो। तर त्योभन्दा डरलाग्दो सडकमा खेल्दा, सडक पेटीमा एक्लै हिँड्दा, ठूलो मानिसको हात समातेर हिँड्दा, सडक पेटीमा बस्दा र एक्कासि सडक पार गर्दा बालबालिका बढी दुर्घटनामा पर्ने गरेका छन्। देशभरको दुर्घटना तथ्यांक हेर्ने हो भने दैनिक सरदर सातजनाको सडक दुर्घटनाकै कारण मृत्यु हुने गरेको छ। तिनमा स्वयं बालबालिका पर्ने र नपरे पनि बाबुआमा गुमाएर टुहुरो हुनु परेको छ।
पाठ्यक्रममा ट्राफिक शिक्षा
उपत्यका ट्राफिक कार्यालयका अनुसार सडक दुर्घटनालाई ध्यानमा राख्दै यो विषयलाई विद्यालयको पाठ्यपुस्तकमै राख्न पहल भएको धेरै भइसक्यो। सानै कक्षादेखि उनीहरूको बुझाइको तहअनुसार र ९÷१० कक्षामा पुग्नेहरूलाई त्यहीअनुसारका विषयवस्तु राख्ने तयारी करिब अन्तिम चरणमा पुगिसकेको छ। त्यस्तै समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पनि विद्यार्थी, अविभावक, समुदाय र स्वयं चालकलाई जनचेतना दिन कार्यालयमा जनचेतना शाखा छ। त्यो शाखामा सम्पर्क गरेर विद्यालयहरूले आफ्नो विद्यालयमा र समुदायले पनि जनचेतनाका लागि आफ्नो समुदायमा बोलाएमा शाखाका कर्मचारीहरू गएर जानकारी दिने गरेका छन्।
दुर्घटनाबाट कसरी जोगाउने ?
– दुईपांगे्र सवारी साधनमा चालक मात्र हुँदा ६ वर्षमुनिका बालबालिकालाई सकेसम्म नराख्ने। दुईजना भए बीचमा मात्रै राख्ने।
– मोटरसाइकलको अगाडि ट्यांकीमाथि राख्दा चालकले अगाडि नदेख्ने वा ध्यान बढी बच्चामा केन्द्रित हुन्छ। यसो हुँदा दायाँबायाँबाट आउने सवारी साधनहरूको बारेमा ध्यान पुग्न नसक्दा दुर्घटना हुन सक्छ।
– स्कुटरको अगाडि बच्चालाई उभ्याउँदा बे्रक लगाउँदा छाती, अनुहार, टाउकोमा दख्खल पर्न जान्छ। धुवाँधुलोले पनि थप समस्या पार्न सक्छ।
– दुईपांगे्र सवारी साधनमा चालक एक्लै हुँदा पछाडि नै राख्दा पनि बच्चा निदाउने, हात छोड्ने र लड्ने जोखिम हुन्छ। पछाडि राख्दा सेफ्टी बेल्ट बाँध्यो भने केही हदसम्म सुरक्षित हुन सक्छ।
– सडक नजिक भएको घर वा बस्तीका बालबालिकालाई एक्लै सडकमा छोड्नु हुँदैन।
– सडकमा बच्चा लिएर हिँड्दा बलियोसँग हात समाउने र बच्चालाई सडकपट्टि नराख्ने।
– विशेष गरी नजिकै विद्यालय छ भने पुर्याउने ल्याउने काम दुईपांगे्र सवारी साधनमा गर्ने गरेको पाइन्छ। यसो गर्दा पनि माथिका जोखिमलाई सम्झिनुपर्छ। किनकि दुर्घटना भीडभाडमा मात्र हुने होइन वा आफूले राम्रो चलाएर मात्र नहुने भन्ने पनि होइन।
– सवारी चलाएको बेलामा मोबाइल फोनमा कुरा गर्नु हुँदैन। सँगै बसेको मानिसले पनि बोलाउनु हँुदैन।
– सवारी चलाउँदा कुनै तनाव नलिई शान्त भएर बस्नुपर्छ।
– प्रायः दुईवटा बच्चा हुने आमाबाबु हिँड्दा पछाडि दुईजना बसे पनि चालकभन्दा अगाडि एकजना बच्चा राख्नैपर्ने अवस्था हुन्छ। तर यस्तो जोखिमपूर्ण यात्रा गर्नु हुँदैन।
– महानगरीय ट्राफिक प्रहरी कार्यालयको वेबसाइटमा पनि विभिन्न खाले ट्राफिक नियममध्ये बच्चालाई फ्युल ट्यांक अथवा स्कुटरमा अगाडि उभ्याउनु हुँदैन भनिएको छ। चेकजाँचका क्रममा त्यस्तो पाइए सचेत गराउने गरिएको छ।
पदमबहादुर विष्ट, प्रवक्ता, महानगरीय ट्राफिक प्रहरी महाशाखा