राप्रपा पथमा माओवादी घटक :  फुटेर क्रान्ति हुन्छ ?

राप्रपा पथमा माओवादी घटक :  फुटेर क्रान्ति हुन्छ ?

काठमाडौं : मुलुकमा कम्युनिस्टकै शक्तिशाली सरकार छ। तर, अर्कोथरी कम्युनिस्ट क्रान्तिको बाटोमा छन्। क्रान्तिकारीहरू सत्तासिन कम्युनिस्टलाई फाँसीवादीको तक्मा भिराउन तल्लिन देखिन्छन्। अर्कोतर्फ सत्तासिन भने क्रान्तिकारीलाई अपराधी करार गर्न खोजिरहेका छन्।

सत्ता र क्रान्तिको लडाइँभन्दा पछाडि ‘क्रान्तिकारी कम्युनिस्ट’ पार्टीबीच नै टकरावको स्थिति छ। टकरावका हिस्सेदार पार्टी हुन्-मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी।

०४७ जेठमा एकैसाथ जम्मिएका दुई राष्ट्रिय प्रजातन्त्र पार्टीले पटक-पटक फुटजुट व्यहोरेका छन्। राजसंस्थाको अत्यपछि राप्रपा घटकसँग एउटै मुद्दा छ-राजसंस्था पुर्नस्थापना। तर, राजसंस्थाकै मुद्दामा उब्जिएको रणनीतिक टकरावका कारण उनीहरूले आजसँग फुटजुट व्यहोरिरहेका छन्।  

पछिल्लो समय माओवादी घटक पनि राजावादी राप्रपाकै पथमा लम्किरहेको देखिन्छ। उनीहरूको मुद्दा एउटै छ-क्रान्ति। तर, कस्तो क्रान्ति, कसरी र केका लागि गर्ने भन्ने रणनीतिक टकरावका कारण उनीहरूले फुटजुट व्यहोरिरहेका छन्।
 
पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको तत्कालीन एकीकृत (माओवादी) ०६९ असारमा वैद्यको नेतृत्वमा एक समूह अलग भएर क्रान्तिकारी माओवादी गठन भयो। वैद्यको उक्त समूह पनि धेरै लामो समय टिक्न सकेन। वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी गठन भएको दुई वर्षमै विभाजन भयो। २०७१ मंसिरमा वैद्य-बादल समूहबाट विप्लव छुट्टिएर। उनले नयाँ पार्टी गठन गरे। 

०७३ जेठमा वैद्यलाई छोडेर रामबहादुर थापा ‘बादल’ आफ्नो समूह लिएर पुरानै माओवादीमा फर्किए। त्यस्तै किरातीले भने ०७५ तत्कालीन एमाले-माओवादी केन्द्रको एकता नमान्ने भन्दै माओवादी केन्द्रलाई निरन्तरता दिने घोषणा गरेका थिए।  

रणनीतिको भिडन्त

०७५ भदौमा किरातीलाई भेट्न विप्लवले एकजना आफू निकट नेता पठाएका थिए। किरातीका अनुसार विप्लवले ती नेतासँग आफ्नो पार्टीले वैधानिक आन्दोलनलाई मुख्य बनाउने निर्णय भएको खबर पठाएका थिए।  

‘पार्टी एकताका लागि कुरा गर्न विप्लवजीले मलाई कपिलवस्तु बोलाउनु भयो, त्यहाँ गएर म चार दिन बसेँ तर उहाँ सम्पर्कमा आउनु भएन’, किराती भन्छन्,‘रणनीतिक कारणले होला उहाँ एकताका लागि पछाडि हट्नुभयो, त्यसपछि म काठमाडौं फर्किएँ, उहाँ अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन।’  

किरण, विप्लव, किरातीबीच समय-समयमा एकताको बहस सतहमा आइरहन्छ। तर, उनीहररूबीच चलिरहेको रणनीतिक टकरावका कारण यो एकता तत्कालका लागि असम्भव छ। वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल माओवादलाई नै छोडिसकेका पार्टीसँग एकता गर्न नसकिने बताउँछन्। 

‘विप्लवजीलगायतले आफ्नो पार्टीको नाममा माओवादी हटाइसक्नु भएको छ, हामीले नयाँ जनवादलाई आफ्नो रणनीति बनाएका छौं, उहाँहरूको अर्कै कुरा छ’, क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल भन्छन्,‘यी-यस्तै कुराले हामीबीच बेमेल भएको छ, त्यसैले तत्काल एकता हुने सम्भावना छैन।’ 

क्रान्तिकारी माओवादीले नयाँ जनवादलाई आफ्नो रणनीति बनाएको छ भने तत्काल सशस्त्र द्वान्द्वको पक्षमा छैन। त्यस्तै विप्लव नेतृत्वको नेकपाले वैज्ञानिक समाजवादलाई आफ्नो रणनीति बनाएको छ भने तत्काल सशस्त्र संघर्ष सुरु गरिहाल्नुपर्छ भन्ने पक्षमा छ। दुबै पार्टीबीच मुख्य रुपमा रणनीति र एकीकृत क्रान्तिमा बेमेल देखिन्छ।

माओवादी केन्द्रलाई जिवित राखेका किरातीले पनि समाजवादलाई नै आफ्नो रणनीति बनाएका छन्। तर, तत्काल सशस्त्र संघर्ष सुरु गरिहाल्नुपर्छ भन्ने पक्षमा छैनन। किराती र विप्लवबीच पनि रणनीति मिल्दैन, एकीकृत क्रान्तिको विषयमा कुरा मिल्दैन। 

सबैको कार्यनीति क्रान्ति

माओवाद मात्र होइन, डा.बाबुराम भट्टराईले कम्युनिस्ट अवधारणा नेपालमा फिट नहुने प्रतिक्रिया दिन थालेका छन्। यस अर्थमा अब उनी कम्युनिस्ट रहेनन् भन्न सकिन्छ। प्रचण्डबाट छुट्टिएका उनी बाहेक सबै माओवादी घटक पुनः क्रान्तिको आवश्यक्ता देखाउँछन्। 
  
दशवर्ष लामो जनयुद्धका गुरु मानिने वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीका नेताले अन्य घटकभन्दा आफूहरू सच्चा माओवादी भएको दाबी गर्दै आएका छन्। किराती सबै एकै ठाउँमा भएर क्रान्ति गर्नुपर्छ भन्ने धारणा राख्छन्। उता विप्लवले सशस्त्र संघर्ष सुरु गरिसकेका छन्।  वृहत्तर नजरले हेर्दा सबै माओवादी घटक क्रान्तिको तयारीमा जुटेको देखिन्छ। तर, एक्ला-एक्लै। कुनै पनि घटक तत्काल एक-अर्कासँग मिलिहाल्न चाहँदैन। 

‘क्रान्तिको प्रक्रिया लामो हुन्छ हामी तयारी अवस्थामै छौं, त्यसैले हामी क्रान्ति आह्वान गर्ने अवस्थामा आइपुगेका छौं जस्तो लाग्दैन’, क्रान्तिकारी माओवादीका नेता गजुरेल भन्छन्,‘पड्काएर मात्र क्रान्ति हुँदैन, झट्ट हेर्दा केही नगरेको देखिएपनि हामीले आन्तरिक तयारी गरिरहेका छौं।’

त्यस्तै किराती पनि पहिले सबै मिलेर ठूलो सशस्त्र आन्दोलन गरेको अहिले सानो समूहले यही काम गरेपछि शक्ति नपुग्ने बताउँछन्। बिना तयारी गरेको द्वन्द्व सफल नहुने उनको धारणा छ।

‘हामीले तत्काल सशस्त्र संघर्ष थाल्यौं भने हाम्रो शक्ति मिल्दैन, त्यही कारण हाम्रो क्रान्ति असफल हुने सम्भावना रहन्छ’ किराती भन्छन्,‘हामी सबै माओवादी घटकहरू एक भयौं भने चाहिँ क्रान्तिका लागि तयार हुन सकिन्छ, बिना तयारी संघर्ष गर्ने पक्षमा हामी छैनौं।’ 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.