पक्की घरको सपनाले डोम परिवारको बिचल्‍ली

पक्की घरको सपनाले डोम परिवारको बिचल्‍ली

सिरहा : लहान नगरपालिका १२ भोटियाटोलकी दशनी मल्लिक (डोम), उनका पति लगन मल्लिक र चार जना छोराछोरी प्रमोद, कविता, आनन्द, जीवनको एक कोठे मात्रै घर छ। उनका छोराहरू गर्मी महिनामा घर अगाडि हाटबजारका लागि निर्माण गरिएका सेडमा सुत्छन्।

जाडोमा सबैजना त्यही एउटा कोठामा जसोतसो सुत्छन्। उनीहरूको न खाना बनाउने अलग भान्सा कोठा छ, न त राखनधरनका लागि अलग स्थान। पानी नपर्दा घर बाहिर र पानी परे त्यहीँ सुत्ने घरभित्रै भान्सा बनाउँछन्।

उनका छिमेकी शान्ति मल्लिकको पनि उस्तै हालत छ। उनको पनि एउटै छानोमा दुई कोठे घर छन्। एउटामा ढोका छ, अर्कोमा छैन। ढोका भएको उनको छोरा रंजित बुहारी बबि र नाती शंकर सुत्छन् भने शान्ति आफैं छोराहरू संजित, श्रवण र छोरी रन्जुसहित अर्को कोठामा। शान्तिका पति केही वर्ष पहिले बितिसकेका छन्।

यी दुई डोम परिवारको ६ वर्षअघि फुसकै भए पनि राम्रै घर थियो। उनीहरूलाई जनता आवास कार्यक्रमबाट पक्की घर बनाइदिने भन्दै पुरानो फुसको घर भत्काइयो। पक्की घरमा केही काम भएका छन्। तर, ६ वर्ष बित्दापनि उनीहरूको घर तयार बनेन। अधुरै छ। पक्की घर पाउने सपनाले भएको घर भत्काउँदा त्यही दिनदेखि बिच्चलीमा परेका छन्।

‘पक्की घर पाउने सपनाले खुसी भइयो, पुरानो घर भत्काए,’ लगनले भने, ‘तर, ६ वर्ष बित्दा पनि घर बनेन्। तत्कालीन समयमा घर बनाउने जिम्मा पाएका व्यक्तिलाई पटक पटक भने पनि केही सुन्दैन।’ त्यही वर्ष गाउँमा अरु दलित परिवारले पाएका घर बनिसकेको उनले बताए। घर निर्माण मिस्त्री र सामग्री जनता आवास कार्यक्रमबाट दिएको र लेबर खर्च आफैँ तिरेको उनले सुनाए।

‘घर निर्माण समितिका व्यक्तिहरूले लेबर खर्च दिनपर्छ भन्यो,’ उनले भने,‘आफ्नो परिवार सदस्यले पनि खटे, लेबर खर्च पति तिरे तर घर पुरा भएन।’

शान्ति र लगनको घर परिवारले उत्पादन गरेको बाँस सामग्री बेच्ने भोटियाटोल आँधी गाउँ र गणेशपुर छन्। भोटियाटोलको आँधी गाउँ २ वर्ष अगाडि लहान नगरपालिका १५ वीरनगरका दिपेन मल्लिकसँग १० हजारमा बन्धकी लिएका छन्। डोम समुदायमा हरेक घरपरिवारले आफूले उत्पादन गरेको बाँस सामग्री बेच्न गाउँ–गाउँ छुट्याउने गर्छन्। उनीहरूको समुदायमा आफूलाई तोकेको गाउँ बाहेक ठाउँमा गएर बाँसको सामग्री बेच्न बन्देज गरिएको हुन्छ।

‘थोरै गाउँ छ, बाँसको सामग्री बेचेर आम्दानी धेरै हुँदैन,’ लगनले भने, ‘घर परिवारको गुजारा चलाउनु कि घर ठिक गरु ?’ उनी एक वर्षअघिदेखि वडा नम्बर १३ को कार्यालयमा ७ हजार मासिक तलबमा सरसफाई कर्मचारी नियुक्त भएका छन्। 

‘पक्की घर पूरा गर्न वा त्यसलाई भत्काएर फेरि सस्तोमा फुसकै घर बनाउन पैसा चाहिन्छ,’ शान्तिले भनिन्, ‘आयआर्जन कम भएकोले कसरी के गरु ? चिन्ताले सताएको छ।’ सुरुमा आफ्नो बनाइदिने व्यक्तिलाई अहिले भन्न जाँदा उल्टै थर्काउने गरेको उनले सुनाइन्। घरमा पाहुना आउँदा बाहिरै सुताउनु परेको उनले दुखेसो पोखिन्।

०६९/०७० सालमै सरकारले पहिलो पटक जनता आवास कार्यक्रम लागु गरेको थियो। जसअन्तर्गत सिरहामा १ हजार घर निर्माण गरिने बताइएको थियो। त्यतिबेला बनाइएका घर गुणस्तरहीन भएको भन्दै व्यापक विरोध भएका थिए।

अख्तियार दुरुपयोग आयोगले पनि अनुसन्धान गरेको थियो। फेरि आर्थिक वर्ष ०७३/०७४ जनता आवास कार्यक्रम अन्तर्गत सिरहामा पुराना घर भत्काएर नयाँ बनाउने योजना आएका थिए। त्यसको दुई वर्ष बित्दापनि ९६० घर अधुरै छन्।

गत असारसम्ममा ४० वटा मात्रै बस्न योग्य घर निर्माण भएको राजविराजस्थित सहरी विकास तथा भवन निर्माण कार्यालयको तथ्याकंमा उल्लेख छ। हाल प्रदेश सरकार अन्तर्गत जनता आवास कार्यक्रम आएका छन्।

प्रदेश २ का सरकारले दलित समुदायलाई प्राथमिकतामा राखेर घर बनाउने घोषणा गरेका छन्। तर, कार्यालय र कर्मचारी व्यवस्थापन नहुँदा कार्यान्वयन हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.