साहुकै घरबाट २१ तोला सुन र एक केजी चाँदी चोरेपछि..
भैरहवा : रुपन्देही प्रहरीले स्रोत नखुलेको सुन, चाँदी र भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङजा आँधीखोला नगरपालिका ६ का ४५ वर्षीय भीमबहादुर भाट क्षेत्री रहेका छन्।
क्षेत्री बुटवल बसपार्कबाट पक्राउ परेका हुन्। हिँड्दै गरेका क्षेत्रीको झोला चेकजाँच गर्दा सुन, चाँदी र भारतीय रुपैयाँ बरामद भएको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए।
उनले क्षेत्रीको साथबाट सुनको ढिक्का एक थान (२१ तोला ६२ लाल), चाँदीको ढिक्का एक थान (१ किलो ९४ ग्राम), चाँदीको जस्तो देखिने सिक्का ३ थान (५ तोला) बरामद भएको बताए।
त्यस्तै २ हजार रुपैयाँको नोट ४० थान, ५ सयको ३ सय ६० थान, २ सयको एक थान, एक सयको ९ थान, र ५० रुपैयाँको नोट १२ थान गरी दुई लाख ६१ हजार ७ सय रुपैयाँ बरामद भएको उनले बताए।
यस्तै ओप्पो र सामसुङ कम्पनीको मोबाइल चार थान र विभिन्न ब्राण्डको घडी ६ थान बरामद भएको छ। पक्राउ परेका क्षेत्रीले भारतको मुम्बईमा काम गर्ने साहुको घरबाट यी सबै साम्रगी चोरेर ल्याएको प्राराम्भिक बयान दिएको एसपी थापाले बताए।
बरामद साम्रगी र क्षेत्रीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।