जुन गाउँ वर्षमा एक पल्ट मात्र खुल्छ
बीबीसी
सन् १९८६ सम्म आवादी रहेको उक्त गाउँको अस्तित्व समाप्त भएको छ। यहाँ राज्यकै पहिलो बाँध बनाइएपछि गाउँ पूरै डुबेको हो। प्रत्येक वर्ष मे महिनामा पानी कम भएपछि यहाँ के बचेको भन्ने थाहा हुन्छ। हिले माटो, रूखका ठुटा, भत्किएका घरको अवशेष र धार्मिक संरचनाको अवशेष, खण्डहर नहर र बन्जर जमिन देखिन्छ।
अधिकांश जमिन निकै उर्वर थियो। करिब ३ हजार व्यक्तिको बसोवास रहेको थियो। वरिपरि नरिवल, काजु, आँप, कटहर रोपिएका धानका खेत हुन्थे। त्यहाँ हिन्दु, मुसलमान र क्रिश्चियन सबै मिलेर बसेका हुन्थे।
त्यहाँ मुख्य मन्दिर, ससाना थुप्रै मन्दिर, च्यापल र एउटा मस्जिद थिए। यो ठाउँ प्रसिद्ध शास्त्रीय गायक मोगुबाई कुर्दिकरको जन्मस्थल पनि हो।
सन् १९६१ मा गोवा पोर्तुगालबाट मुक्त भएपछि परिस्थिति बदलियो। राज्यमा पहिलो बाँध बनाउने घोषणासँगै गोवाका पहिला मुख्यमन्त्री दयानन्द बन्दोदकरले उक्त गाउँको भ्रमण गरे। उनले सबै गाउँलेलाई उपस्थित हुन भने र त्यहाँ बाँध बनाइने बताए। यसबाट दक्षिणी गोवामा निकै फाइदा हुने बताए।
‘मुख्यमन्त्री बन्दोदकरले आग्रह गरे– बाँधबाट हाम्रो गाउँ डुब्नेछ। यसबाट निकै मानिसलाई फाइदा हुने हुनाले त्याग र बलिदानको रूपमा लिऔं’, ७५ वर्षीय गजानन कुर्दिकरले उक्त बैठक स्मरण गर्छन्। त्यहाँ सहभागी कुर्दिकर र ६ सयभन्दा बढी परिवारलाई अन्यत्र सर्न आदेश दिइयो। त्यसबापत उनीहरूलाई जग्गा र मुआब्जा पनि दिइएको थियो। परियोजना निकै महत्वाकांक्षी थियो।
सलौलिम नदीको किनारमा बनाइएकाले त्यसलाई सलौलिम सिँचाइ परियोजना भन्न थालियो। उक्त परियोजनाबाट अधिकांश दक्षिणी गोवामा खानेपानी, सिँचाइ र उद्योगका लागि पानी उपलब्ध गराउन थालियो। यसबाट दैनिक ४ सय मिलियन लिटर पानी आपूर्ति हुन थाल्यो।
उनले भने, ‘जब हामी नयाँ गाउँमा बसाइ सर्यौं, हामीसँग केही पनि थिएन’, इनासियो रोद्रिग्स भन्छन्। सन् १९८२ मा अर्को गाउँमा स्थानान्तरण हुने क्रममा पहिलो पटक सर्नेमा उनी पनि थिए। घर नबनाउँदासम्म उनीहरू निकै दुःख गरी कटेरोमा बसे। पाँच वर्ष यसैगरी बिताएपछि बल्ल बल्ल उनीहरूले घर बनाउन सके।
त्यतिखेर १० वर्ष उमेर भएका गुरुचरण कुर्दिकर परिवारका साथ सन् १९८६ मा नयाँ ठाउँमा बसाइ सरे। ४२ वर्ष पुरानो घटना सम्झँदै भन्छन्, ‘मेरा मातापिताले हतार हतार गरी सबै सामान एउटा पिकअप ट्रकमा राख्नुभयो। म पनि दाजु र बज्यैसँग ट्रकमा थिएँ। बाबाआमाले मोपेड चढेर हामी बसेको ट्रकलाई पछ्याउनुभयो।’
उनकी आमा ममता कुर्दिकरले त्यो घटना अझै पनि झलझली सम्झिन्छिन्। उनले भनिन्, ‘मलाई लाग्छ, हामी अन्तिम पटकमा थातथलो छोड्न केही परिवार बाँकी थियौं। त्यसै रात भीषण वर्षा भयो। खेतबाट हाम्रा घरमा पानी छिर्न थाल्यो। हामीले रातमै घर छोड्नुपर्यो। पीठो पिस्ने जाँतो थियो, घर डुबानमा परेपछि त्यो ल्याउन सकेनौं।’ यद्यपि पूर्वी क्षेत्रमा निकै गाउँ बाँधको पानीले पनि जलाम्मे भएका थिए।
गजानन कुर्दिकर भन्छन्, ‘दक्षिण गोवाका सबै गाउँमा खानेपानीको पाइपको व्यवस्था गरिएन। यसले गर्दा बाँधबाट हामीले खानेपानी पाउन सकेका छैनौं।’ उनको हाल बसोवास रहेको गाउँ वड्डममा दुईवटा कुवा छन्। अप्रिल र मेमा कुवा सुक्न शुरु हुन्छ। उनीहरू त्यतिखेर खानेपानीका लागि सरकारी ट्यांकरमा भर पर्न बाध्य हुन्छन्।
मेमा पानी सुकेपछि कुर्दी गाउँका मूल निवासी आफ्नो हराएको थातथलो हेर्न त्यो बाँध भएको ठाउँमा पुग्छन्। यो बेला यहाँ थातथलो भएका हिन्दु र इसाई समुदायले त्यहाँ आफ्ना आस्थाकेन्द्रमा कार्यक्रम आयोजना गर्छन्। गोवाकी समाजशास्त्री वेनिशा फर्नान्डिस भन्छिन्, ‘आज हाम्रा लागि ब्याग भिरेर त्यहाँ जानु सजिलो छ।’ त्यतिखेर कुर्दीका मानिसका लागि कति कठिन थियो होला।
उनीहरूको पहिचान नै उनको भूमिसँग जोडिएको थियो। उनीहरू प्रत्यक्ष रूपमा आफ्नो पैतृक भूमिसँग जोडिएका थिए। शायद यसैले होला, उनीहरू वर्षमा एक पटक उत्सुकतासँग त्यहाँ आइपुग्छन्।