प्रदूषणको पराकाष्ठा

प्रदूषणको पराकाष्ठा

संघीय राजधानी काठमाडौंको परिचय रहेको छ- पानी परे हिलो, घाम लागे धुलो । सडकको दुरवस्थाले दिनप्रतिदिन सकसपूर्ण छ, राजधानीको मानव जीवन । कंक्रिटको राजधानीलाई थप कष्टपूर्ण बनाएको छ, सवारी प्रदूषणले ।

 सडकको धुवाँ र वायु प्रदूषणले संघीय राजधानीको मानव जीवन नै संकटमा रहेको विज्ञहरूको भनाइ छ । सवारी साधनको आवश्यकता र सडकको अवस्था नहेरी बर्सेनि हजारौंको संख्यामा राजधानीका सडकमा नयाँ सवारी भित्रिने गरेका छन् । 

अध्ययन र योजनाविना थपिने यातायातले राजधानीको सार्वजनिक यातायातलाई सहज र भरपर्दो बनाउन न सकेको छ न त सवारी प्रदूषण रोक्न सहयोग नै पुगेको छ । बढ्दो सवारी चाप र प्रदूषण मापदण्ड नाघेर पनि निर्बाध सञ्चालन भइरहेका सवारी साधनले राजधानीको वायु निकै हानिकारक हुन पुगेका छन् । सडकको दुरवस्था, सवारीको प्रदूषण र ट्राफिक अस्तव्यस्तताले विश्वमै वायु प्रदूषण धेरै भएको सूचीमा छ, काठमाडौं । प्रदूषित सहरमा न पर्यटकको संख्या बढ्न सक्छ, न त यहाँका नागरिकले नै पूर्ण क्षमतामा काम गर्न सक्छन् ।

कुनै पनि देशको विकासको पहिलो मापदण्ड मानिन्छ, सडक । सडकको गुणस्तरदेखि सवारी प्रयोगले देश विकासको स्तर निर्धारण गर्छ । बढ्दो प्रदूषण र अस्तव्यस्त ट्राफिक व्यवस्थापन गर्न सरकारले ठूला विद्युतीय सवारी साधन प्रयोगमा जोड दिँदै आएको छ । सरकारका नीति, कार्यक्रम, योजना र बजेटमा विद्युतीय सवारी प्रयोगमा जोड दिने गरिए पनि कार्यान्वयन पक्ष भने फितलो छ । विद्युतीय साधनको प्रयोग बढ्नुको सट्टा प्रधानमन्त्री केपी ओलीले तामझामबीच उद्घाटन गरेको विद्युतीय बसको समेत अत्तोपत्तो छैन ।

 विद्युतीय सवारीको प्रयोगका लागि न त चार्जिङ स्टेसन खुलेका छन् न त राजधानीवासीलाई उत्प्रेरित गर्ने कुनै योजना नै ल्याइएको छ । टेम्पो र माइक्रोजस्ता ससाना सवारीको चापले जहिल्यै अस्तव्यस्त छ, राजधानी । राजधानीको सडकका लागि केकस्ता सवारीको आवश्यकता हो ? कुन मोडेलका कतिवटा सवारी साधनको प्रयोगले सार्वजनिक यातायातलाई भरपर्दो र व्यवस्थित बनाउन सकिन्छ ? बढ्दो सवारी प्रदूषण रोक्ने माध्यम के हो भन्नेमा राज्यका जिम्मेवार निकायले अध्ययन र अनुसन्धान गर्नुपर्ने टड्कारो खाँचो छ ।

पछिल्लो प्रतिवेदनअनुसार राजधानीका ५५ प्रतिशत बढी सवारी साधन प्रदूषणको मापदण्डमा फेल भएका छन् । हरियो स्टिकरमा फेल भएका सवारी साधन निर्बाध गुडिरहेका छन् । सरकारले त्यस्ता सवारी साधनलाई नियन्त्रण गर्न नसक्दा राजधानीको वातावरण दुर्गन्धित र प्रदूषित बन्दै गएको छ । हरियो स्टिकरविना गुड्ने सवारी साधनमाथि कारबाही गर्ने, गुणस्तरीय इन्धन आयात गर्ने र कंक्रिटको सहरमा सडकका दायाबाया हरियाली बनाउनेतर्फ सरकारको ध्यान जानैपर्छ ।

 बढ्दो जनसंख्या, सहरीकरण, कृषियोग्य जमिनको निरन्तर ह्रास, उद्योगधन्धाको स्थापना, यातायातको चाप, अव्यवस्थित सडक, अवैज्ञानिक ट्राफिक व्यवस्थापन, ढल, खानेपानीजस्ता भौतिक पूर्वाधारको विकासले प्रदूषण रोकथाम मुख्य चुनौतीको रूपमा देखा पर्दै छ ।

नागरिक स्वस्थ भए मात्र देश पनि स्वस्थ हुन्छ । स्वस्थ नागरिकले मात्र देश विकासमा टेवा दिन्छ । जुन देशका नागरिकको औसत आयु कम हुन्छ, ठूलो धनराशि स्वास्थ्योपचारमा खर्च हुन्छ, त्यस देशले विकासको गति लिन सक्दैन । अर्कोतिर सर्वसाधारणलाई हिलो छ्याप्दै चिल्ला गाडीमा हुइँकिनेले कालो सीसा खोलेर सडकमा नागरिकले भोगेका पीडाको अनूभूति गर्नुपर्छ । जताततै खाल्डाखुल्डीले सार्वजनिक यातायातमा पारेको असर, आँखासमेत हेर्न नमिल्ने गरी सडक यात्रा गर्नुपर्दाको सर्वसाधारणको पीडा सरकारले बुझ्न सक्नुपर्छ । मादपण्ड नाघेका सवारीले फ्याँक्ने धुवाँ र प्रदूषणले त सास फेर्न पनि मुस्किल छ ।

असारे विकास शैलीमा बन्ने सडकले जनतालाई राहतभन्दा सास्ती मात्र दिएका छन् । दुई महिना नपुग्दै खाल्डाखुल्डी, बल्याङबुल्डुङ र हिलोमैलो । यस्तै नियतिले राजधानीका सडक बन्ने र भत्किने गरेका छन् । त्यसमाथि विद्युत्, ढल, खानेपानीका नाममा जथाभावी सडक भत्किने प्रचलन पनि उस्तै छ । भत्काउन हतारो गर्ने राज्यका निकाय भत्काइएका सडक बनाउन भने उदासीन हुने गरेका छन् । सडकलगायत भौतिक पूर्वाधार विकासको आधुनिक मोडेल र सार्वजनिक सवारीको उचित व्यवस्थापनले मात्र संघीय राजधानीको परिचय फेरिन सक्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.