जागरण होइन महाधिवेशन

जागरण होइन महाधिवेशन

गाउँबाट आएका विषयलाई नेतृत्वले गम्भीर रूपमा लिन सके गाउँ र नगरमा स्वतः जागरण आउनेछ


वैशाख २५ गते सुरु नेपाली कांग्रेसको पहिलो चरणको एकमहिने जागरण अभियान शनिबार समापन भएको छ । एकैसाथ ७७ जिल्लाबाट सुरु भएको अभियानमा पार्टी नेतृत्वले संगठन सुधारसहित सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्ने लक्ष्य राखेको थियो । महासमिति बैठकबाट पारित नीति तथा कार्यक्रम, संशोधित विधान, कांग्रेसको नीति रणनीतिबारे स्थानीय तहसम्म सुसूचित गरिने भन्दै सञ्चालन गरिएको भनिए पनि आम कार्यकर्ताले यसलाई महाधिवेशन छल्न चलाइएको अभियानका रूपमा बुझे । नेतृत्वको मनसाय पनि त्यस्तै देखिन्छ । अधिकांश कांग्रेसजनको भनाइ थियो- चरणबद्ध जागरण होइन महाधिवेशन चाहिएको छ । कांग्रेसले संघीयता स्वीकार गरेको अनुभूत गर्न कार्यकर्ता आतुर छन् । तीन चरणमध्ये पहिलो चरणमा आम-कार्यकर्ताको जिज्ञासाले नेतृत्वलाई छोएमा अर्को चरणमा जागरण होइन अधिवेशनको कार्यक्रम लिएर जानुपर्ने अवस्था देखिन्छ ।

दोस्रो चरण भदौ २४ देखि असोज ७ र तेस्रोे चरण पुस ७ देखि १६ सम्म चल्ने कार्यक्रम छ । जागरण अभियानलाई कतिपय कांग्रेसीले एकै प्रकारको कार्यक्रम मुलुकभर गरिएको यो पहिलो भएको बताए । हुन त मुलुकको ७७ जिल्ला र ३३ विदेशी भूमिमा एकैपटक कार्यक्रम गर्दा फरक सन्देश गएको छ तर कांग्रेसले तय गर्नुपर्ने बाटोभन्दा फरक ढंगले अघि बढेको आम धारणा पाइयो । कार्यकर्तालाई ऊर्जा दिन यस्ता कार्यक्रम चलाउनु सकारात्मक हो । तर संसद्मा उपस्थिति बलियो बनाएर जागरुक हुनुका साथै संघीयता आत्मसात गर्न अहिले तहगत अधिवेशन आवश्यक थियो । हुन त, नेतृत्वको चाल बेग्लै छ । महासमिति भएको केही समयमै त्यसले गरेका निर्णयलाई फरक ढंगले अघि बढाउने प्रयास नभएको होइन । नेतृत्वले कार्यकर्तालाई अलमलमा पार्न यस प्रकारको कार्य अघि बढाएको त होइन भन्ने प्रश्न पनि उब्जिएका छन् ।

हुन त वक्तासमेत तोकेको कार्यक्रममा कसरी जागरण हुने भन्ने पेचिलो प्रश्न जिल्ला, गाउँ तहमा रहेका पुराना कांग्रेसीको छ । कम्युनिस्टलाई आफ्नो शैलीमा ढालेको दाबी गर्ने हामी लोकतन्त्रवादी अहिले जागरण अभियानको नाममा १२ भाषामा गीत तयार गरेर ती भाषाभाषीको बाहुल्य क्षेत्रअनुरूप गीत बजाउने, ब्यानर एउटै राख्ने जस्ता कार्यले कतै हामीले उनीहरूकै शैली पछ्याएको त होइन भन्ने आभास हुन्छ । यस्ता विषयमा केन्द्रित हामीले जागरण अभियान जिल्ला, प्रदेश, नगर र गाउँकेन्द्रित गर्दै अघि बढ्ने भनिएको छ । हुन त यो अभियान चलाउने निर्णय कांग्रेसको केन्द्रीय समितिले गरेको होइन । पार्टीको सशक्तीकरणसँगै सरकारको गलत कार्य बाहिर ल्याउने र जनतालाई जानकारी गराउने अभियानका रूपमा ल्याइएको भए पनि यसको भित्री मनसाय र सबैको शंका छ, ‘महाधिवेशन धकेल्न, हुँदै नभएको विशेष परिस्थिति देखाउन रिहर्सल भइरहेको छ ।’

म पनि जागरण अभियानमा काभ्रे खटिएको छु । त्यहाँ गइरहेको छु । गाउँस्तरका सबैखाले नेता भेटिरहेको छु । नेताहरूको जिज्ञासा छ, ‘यो अभियान तपार्इंहरूलाई चाहिएको हो कि हामीलाई ?       हामीलाई वडा, गाउँ र नगर समितिमा नेतृत्व चाहिएको छ । लोकतन्त्रमा कसैले माथिबाट तोकेर पठाउने होइन । लोकतान्त्रिक विधिबाट निर्वाचन चाहिएको छ ।’ गाउँपालिकाको संरचना छैन । गाविस गाउँपालिकामा परिवर्तन भइसकेका छन् । खोइ कांग्रेसको स्थानीय र प्रदेश संरचना ?       पुरानै संरचनामा गएको अवस्थामा यो जागरणले कस्तो सन्देश जाला ?              

पुराना कांग्रेसीले चिन्ता व्यक्त गरे । जागरण गाउँ स्तरमा होइन, कांग्रेस नेतृत्वमा चाहिएको सन्देश दिए । मैले गाउँका नेता-कार्यकर्ताको सन्देश मात्र व्यक्त गरेको हुँ । संरचना नै कमजोर भएपछि जति जागरण गरे पनि दलले कसरी नयाँ जीवन पाउँछ र ?       गाउँपालिका र प्रदेशको संरचना छैन । केन्द्रको संरचनामा पनि विभाग छैन । लोकतान्त्रिक विधि नभई नेतृत्वको आफ्नै मनखुसले काम अघि बढेको छ । कसरी समस्याको समाधान हुन्छ ?

महाधिवेशन धकेलिँदै

पद नपाउन्जेल लोकतान्त्रिक विधि भन्ने र पद पाएपछि लोकतान्त्रिक विधिबाट आएको बिर्सने परम्परा छ । आफैं सबैथोक हो भनेर हिँड्ने, विगत स्मरण नगर्नु नेतृत्वको कमजोरी हो । विशेष परिस्थितिमा भनेर राखिएको बुँुदालाई सामान्य अवस्थामा प्रयोग गर्न खोज्ने कार्यले लोकतन्त्रको खिल्ली मात्र उडाउँछ । अहिलेदेखि विशेष परिस्थिति स्मरण गर्दै म्याद थप हुने र म अझै दुई वर्ष रहन्छु भन्दै हिँड्ने सभापति अनि उनीनिकट भनेर चिनिएकाले त्यसमा लय मिलाउने कार्यले कांग्रेसलाई जीवन दिन्छ भन्ने विश्वास गर्न सकिन्न । सभापति र उपसभापतिका कुराले आम कांग्रेसजनमा कस्तो सन्देश गएको होला ?              यस्ता विषयमा ख्याल गर्नु पर्दैन ?       यसबाट स्पष्ट हुन्छ- उनीहरू अधिवेशन टार्न खोजिरहेका छन् । लोकतन्त्रका लागि लडेर यहाँसम्म आएका पुराना र अनुभवी नेताबाट आम कार्यकर्ताले सिक्ने यही हो ?       नेतृत्व तहमा बस्नेहरूलाई म सम्मान गर्छु, योगदानको कदर गर्छु तर नेतृत्वमा पुगेपछि उनीहरूले यस्ता विषयलाई भुलेका छन् । बुझेर पनि बुझ पचाइरहेका छन् । कांग्रेस जागरणले होइन अधिवेशनपछि मात्र उठ्ने छ । सबैको ध्यान त्यसैमा केन्द्रित हुनुपर्छ ।’

महाधिवेशन भएको आगामी फागुनमा चार वर्ष पुग्दैछ । विभाग बनेका छैनन् । पहिले पनि विभाग बन्न अहिलेकै नेतृत्वले नदिएको स्पष्टै छ । गर्नुपर्ने काम नगर्ने अनि छिद्र खोजेर कार्यकाल लम्ब्याउँदै आफू लोकतन्त्रको पहरेदार भन्दै गफ गर्नुको अर्थ हुन्न । म्याद थपेर सहज परिस्थितिलाई विशेष बनाउने काम भयो भने त्यो दिनदेखि कांग्रेस झन् कमजोर हुनेछ ।

कांग्रेसको विकल्प छैन भनिरहेका जनता यतिबेला कांग्रेसको गतिविधिबाट निराश छन् । यसलाई हामी सबैले मनन गरेर अघि बढ्न सक्नुपर्छ ।

सबै तहमा अधिवेशन प्रक्रिया अघि बढाउँदै महाधिवेशन समयमा गर्न सके कांग्रेस साँच्चिकै माथि उठ्नेछ । कार्यकर्ता स्तरमा कांग्रेस कमजोर छैन । नेतृत्वको गुटगत नियतले यस्तो भएको हो । अधिवेशन गरौं, शेरबहादुरजी फेरि लड्नुहोस् अनि जितेर आएर चलाउँदा सहयोग नगर्ने को हुन्छ ? किन लोकतान्त्रिक विधि मिचेर हुँदै नभएको विशेष परिस्थिति बलजफ्ती लाद्ने ? स्थानीय तहका नेताले नेतृत्वले जागरण अभियानमा गरेको पत्रचार र एनजीओकरणबारे पनि कुरा उठाएका छन् । नेतृत्वको आलोचना गर्लान् भनेर एउटा लोकतान्त्रिक दलले आफ्नो अनुशासन समिति आफूअनुकूल बनाएर त्यसबाट लोकतान्त्रिक धारका वकिलको संस्था (डीएलए) लाई पत्र लेखेर निगरानी गर्नु भन्नु अधिनायकत्व होइन ?        यसबाट लोकतान्त्रिक दल कता गइरहेको छ भन्ने संकेत गर्छ । यसले कांग्रेस पनि एनजीओको पार्टी हुन थाले झैं देखिन्छ ।

जागरण नेतृत्वमा आवश्यक

खटिएको प्रतिनिधि भएर फूलमाला लगाउँदैमा र गफ ठोक्दैमा जागरण हुने होइन । जिल्लाका विषयमा देखिएका समस्या सुन्ने हिम्मत गर्नुपर्छ । यो काम सबै एकै ब्यानरमा एकैसाथ गर्नपर्छ भन्ने छैन । केन्द्रबाट गएका भन्दा स्थानीय तह र प्रदेशमै वरिष्ठ व्यक्ति छन् । त्यहाँ नेतृत्वको खोजी भइरहेको छ, गफ खोजिएको छैन । सरकारले गरेको कामको चित्त नबुझे त्यसको भण्डाफोर संसद्मा गर्ने हो, गाउँमा होइन । किनकि संसद् प्रतिपक्षको हो तर कसलाई कुन सिटमा राख्नेसम्मको समस्या हुन्छ । पार्टीको कार्यक्रम हो, सबै बोल्न र छलफल गर्न खोज्छन् । उनीहरूलाई अवसर दिनुपत्यो । मैले अधिकांश ठाउँमा अन्तरसंवाद नै चलाएँ । आफू खटिएको स्थानमा बुझाउने प्रयास गरें तर आफंैलाई चित्त बुझेको छैन । सभापति र उपसभापतिसँगै स्वागत वा भाषण गरेर मात्र पार्टीलाई ऊर्जा प्राप्त हुँदैन । सबैजसोले बोल्ने र प्रश्न गर्न पाउने अवस्था बनाइनुपर्छ । स्थानीय र प्रदेशको चाहना के छ ? त्यहाँ के भइरहेको छ ? बुझ्न जागरण होइन अधिवेशन चाहिएको छ ।

कम्युनिस्टलाई गाली गरेर मात्र जागरण अभियानको सान्दर्भिकता पुष्टि हुँदैन । संसद्मा चलेको बजेट छलफलका लागि भन्दै सांसदहरूलाई खटाइएन । कतिले जान मानेनन् । कतिलाई जागरण किन र केका लागि भन्नेसमेत भयो । संसद्मा हामी कमजोर भयौं भन्ने कतिपय सांसदलाई लागेको छ । एकदुईजना सांसदले मात्र कुरा राखेर हुन्न, प्रतिपक्षी दलका नेताले दह्रोसँग कुरा राख्न सक्नुपर्छ भन्ने आवाज पनि सांसदहरूबाटै उठेको छ । आम कार्यकर्ताले सोध्ने एउटा प्रश्न छ, ‘सरकारमा बसेकाले गरेको घोटालाको काण्ड बाहिर आउँछ, सञ्चारमाध्यममा पनि निकै छाउँछ । तर, प्रतिपक्ष जोडिनेबित्तिकै त्यो विषय हराउँछ ।’ किन यस्तो भइरहेको छ ? यसबारेमा उठ्ने प्रश्नको उत्तर मसँग छैन । सबैसँग भन्ने गरेको छु, ‘नेतृत्वलाई नै सोध्नुपर्छ । आफैं मनन गर्नुपर्छ कतिपय कुरा ।’ हुन पनि भ्रष्टचारको विषयमा कोही बोल्ने मानिस नै हुँदैन ।

 लोकतान्त्रिक दलभित्रै निरंकुशता

ब्रसेल्समा हुने कार्यक्रमका लागि २५ जनाको लिस्ट सार्वजनिक भइसकेको छ । तर त्यहाँ पनि लोकतान्त्रिक पद्धति मिचिएको छ । एउटा कांग्रेसलाई अर्को मुलुकमा जान घेराबन्दी गर्ने काम अर्को कांगे्रसले गर्ने ? यसको जवाफ कसले दिने ? जिम्मेवारी कसले लिने ? कांग्रेस दल सभापति समूहको मात्र हो र ? यस्ता सम्मेलनमा मुलुक छुटाउन पाइन्छ ? योभन्दा बढी निरंकुशता के हुन सक्छ ?       नवलपरासी जिल्ला दुई चिरा भयो । सभापति एक जिल्लाका अनि उपसभापति स्वतः अर्को जिल्लाको भएपछि तत्कालका लागि नेतृत्व दिन समस्या थिएन तर त्यसो गरिएन । विवाद रोपेर छोडिदिएका छौं ।

अधिवेशन समयमा होस् भनेर मैले आफ्नो तर्फबाट कुरा उठाइरहेको छु । जिल्ला घुमिरहेको छु तर सभापति र उनका केही गुटलाई यो पचेको छैन । सभापतिले भनिरहेका छन्, ‘के डा. शेखरले भन्दैमा महाधिवेशन गरिहाल्ने हो र ?        ’ सभापतिले शेखरलाई औंल्याउँदा आफूतर्फ पनि हेर्नुहोला । नेतृत्व किन सम्मानित भएर बस्न नसकेको ? लोकतान्त्रिक विधिबाट शक्तिमा पुगेपछि त्यहाँबाट फर्कनुपर्छ भन्ने चेत किन आउँदैन ? महासमितिले गरेको निर्णय पनि आफूअनुकूल बनाउने गरी सच्याउने अनि वरिष्ठ नेता भने चुप लागेर बस्ने अवस्था छ । महासमिति सदस्यको चाहनालाई बेवास्ता गर्ने । त्यहाँबाट आएका विषयलाई नेतृत्वले गम्भीर रूपमा लिन सके यस्ता जागरण स्वतः गाउँ र नगरमा आउनेछ । आफूअनुकूल नहुने देखिएपछि भ्रातृसंगठन र शुभेच्छुक संगठन ध्वस्त पारिएको छ ।

लोकतन्त्रलाई जीवन्त पार्ने र दलको पखेटा मानिएको त्यो निकायलाई ध्वस्त पार्ने अधिकार नेतृत्वलाई कसले दियो ? कसको इशारामा नेतृत्व चलेको हो ? पार्टी कब्जा गरेर के गर्न खोजेको ?        यस्ता विषयलाई नेतृत्वले भुल्नु हुँदैन । आश्चर्यमा परेर वा डुब्यो भनेर बस्ने बेला छैन, सबै जागरुक हुन जरुरी छ । प्रेस स्वतन्त्रताको कुरा गर्ने अनि त्यही शुभेच्छुक प्रेस युनियनमा के भइरहेको छ भन्नेबारेमा चासो नदिएपछि कांग्रेसले यस्तो विषयमा बोल्न सक्छ ? एमाले र माओवादी मिलेका कारण निर्वाचन हारियो भनेर मात्र हुँदैन । दलभित्र लोकतान्त्रिक विधिलाई अँगालेर सामूहिक नेतृत्वमा जान सके कांग्रेस उठ्छ, कार्यकर्तामा उत्साह आउँछ । कांग्रेसको विकल्प छैन भनिरहेका जनता यतिबेला कांग्रेसको गतिविधिबाट निराश छन् । यसलाई हामी सबैले मनन गरेर अघि बढ्न सक्नुपर्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.