पहिलो जितको खोजीमा दक्षिण अफ्रिका

पहिलो जितको खोजीमा दक्षिण अफ्रिका

साउथह्याम्पटन : विश्वकप क्रिकेटमा सोमबार दक्षिण अफ्रिकाले वेस्ट इन्डिजको सामना गर्दैछ । उक्त खेल साउथह्याम्पटनस्थित रोज बल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ ;१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा दक्षिण अफ्रिका कमजोर टोलीको रूपमा देखिएको छ । हालसम्म विश्वकपको उपाधि जित्न नसकेको दक्षिण अफ्रिकाले जारी विश्वकपमा पनि यसअघि खेलेका तीनवटै खेलमा हार भोगेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डसँग एक सय चार रनले पराजित भएको दक्षिण अफ्रिका दोस्रो खेलमा बंगलादेशसँग पनि २१ रनले हारेको थियो । तेस्रो खेलमा दक्षिण अफ्रिकालाई भारतले ६ विकेटले पराजित गरेको थियो । जारी विश्वकपमा सुरुका तीनवटै खेल हार्ने दुई टोली दक्षिण अफ्रिका र अफगानिस्तान मात्र हुन् ।

त्यसैले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना कायम राख्न पनि वेस्ट इन्डिजविरुद्घको खेलमा दक्षिण अफ्रिकासँग जितको विकल्प छैन । अर्कोतिर दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज पनि एकदिवसीय क्रिकेटमा पछिल्लो समय खासै लयमा देखिँदैन । यद्यपि, वेस्ट इन्डिज जारी विश्वकपमा आफूले खेलेका दुईमध्ये एक खेलमा विजयी भएको छ भने एक खेलमा पराजित ।

आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले हराएको क्यारेबियन टोली दोस्रो खेलमा पाँच पटकको उपाधि विजेता अस्ट्रेलियासँग १५ रनले पराजित भएको थियो । वेस्ट इन्डिज सन् १९७५ र सन् १९७९ को विश्वकप विजेता राष्ट्र हो । वेस्ट इन्डिजविरुद्घको खेलमा अनुभवी खेलाडी डेल स्टेनको अनुपस्थिति दक्षिण अफ्रिकाका लागि चिन्ताको विषय बनेको छ । घाइते भएका कारण स्टेन उक्त खेलमा उपस्थित हुने छैनन् ।

यसैगरी स्वास्थ्य समस्याकै कारण युवा बलर लुङ्गी निग्दीले पनि वेस्ट इन्डिजविरुद्घ खेल्न सक्ने सम्भावना निकै कम छ । दक्षिण अफ्रिकाको ब्याटिङ पनि खासै प्रभावकारी देखिएको छैन । सोमबारको खेल हुने रोज बल रंगशाला आसपास वर्षा हुन सक्ने मौसम विभागको अनुमान छ । त्यसैले यी दुई टोलीबीचको खेल प्रभावित हुन सक्ने सम्भावना पनि उत्तिकै छ ।

यी दुई टोलीबीच खेलिएका पछिल्ला पाँचवटा एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले तीन जित हात पारेको छ । दुई खेलमा भने वेस्ट इन्डिज विजयी भएको छ । पछिल्लो पटक यी दुई टोली सन् २०१६ को जुन २४ तारिखमा आपसमा भिडेका थिए । उक्त खेलमा वेस्ट इन्डिज विजयी भएको थियो । जारी विश्वकपको अभ्यासमा खेलमा पनि यी दुई टोलीबीच खेल भएको थियो । तर, उक्त खेल वर्षाका कारण बीचैमा रद्द भएको थियो ।

यसैगरी विश्वकपमा हालसम्म यी दुई टोलीबीच ६ खेल भएको छ । दक्षिण अफ्रिका चार र वेस्ट इन्डिज दुई खेलमा विजयी भएका छन् । सन् १९९२, सन् २००७, सन् २०११ र सन् २०१५ को विश्वकपमा दक्षिण अफ्रिका विजयी भएको थियो । सन् १९९६ र सन् २००३ को विश्वकपमा भने वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई हराएको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने हालसम्म यी दुई टोलीबीच कुल ६१ खेल भएको छ । ४४ खेलमा दक्षिण अफ्रिका र १५ खेलमा वेस्ट इन्डिज विजयी भएका छन् । एक खेल बराबरीमा सकिएको छ भने एक खेल अनिर्णित रूपमा टुंगिएको छ । आफ्नो घरेलु मैदानमा खेलिएको खेलमा भने दक्षिण अफ्रिकाले २० र वेस्ट इन्डिजले सातवटा जित हात पारेका छन् ।

हालसम्म वेस्ट इन्डिजविरुद्घ दक्षिण अफ्रिकाले बनाएको उच्च स्कोर चार सय ३९ रन र दक्षिण अफ्रिकाविरुद्घ वेस्ट इन्डिजले बनाएको उच्च रन तीन सय चार रन हो । वेस्ट इन्डिजविरुद्घ दक्षिण अफ्रिकाले बनाएको सबैभन्दा कम स्कोर एक सय ४० रन र दक्षिण अफ्रिकाविरुद्घ वेस्ट इन्डिजले बनाएको कम योगफल ५४ रन हो ।

यसैगरी वेस्ट इन्डिजले अघि सारेको तीन सय चार रनको विजयलक्ष्य पनि दक्षिण अफ्रिकाले पूरा गरेको छ भने वेस्ट इन्डिजले दक्षिण अफ्रिकाद्वारा अघि सारिएको दुई सय ९७ रनभन्दा बढीको लक्ष्य भेट्टाउन सकेको छैन । दक्षिण अफ्रिका आफूले खेलेका पछिल्ला पाँचमध्ये दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको छ । वेस्ट इन्डिज पनि आफूले खेलेका पछिल्ला पाँचमध्ये दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको छ ।

एकदिवसीयमा दुई टोली

कुल  ; ६१ खेल

द.अफ्रिका विजयी  ; ४४ खेल

वेस्ट इन्डिज विजयी  ; १५ खेल

बराबरी  ; १ खेल

अनिर्णित  ; १ खेल

विश्वकपमा दुई टोली

कुल  ; ६ खेल

द. अफ्रिका विजयी  ; ४ खेल

वेस्ट इन्डिज विजयी  ; २ खेल

आजको खेल

द. अफ्रिकाविरुद्घ वेस्ट इन्डिज

रोज बल (दिउँसो ३ ;१५ बजे) साउथह्याम्पटन


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.