ब्राउन सुगरको बिगबिगी

ब्राउन सुगरको बिगबिगी

नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नजिकै चौलिका चोकमा ८९ ग्राम ब्राउन सुगरसहित भारतको बहराइच जिल्लाको रुपैडिहाका सायर आलम राई १४ कात्तिक ०७५ मा पक्राउ परे। उनलाई बाँके जिल्ला कारागारमा राखिएको छ।

२४ असोजमा नेपालगन्जको न्युरोडस्थित एक फेन्सी पसलबाट अरुणकुमार जैसवाल २३ ग्राम ४ सय मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परे। २३ माघ ०७३ मा लागुऔषध र हातहतियारसहित पक्राउ परेका नेपालगन्ज–७ का सद्भाव खान १३ पुस ०७५ मा दोस्रो पटक कोहलपुर बसपार्कबाट ८ ग्राम ७५० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परे।

आलम, जैसवाल र खानजस्ता धेरै व्यक्ति ब्राउन सुगर कारोबारमा संलग्न देखिएका छन्। चालु वर्षको १० महिनामा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र बाँके प्रहरीले लागुऔषधका दुई सय ९७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ। पक्राउ गरिएकामध्ये ६० जना ब्राउन सुगरका कारोबारी र डिलर सञ्चालक हुन्। लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज शाखा प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार १६ वटा ठूलो र ४४ साना कारोबारी हुन्। बैजनाथ गाउँपालिकाकोे चिसापानीबाट मात्र सात/सात वटा डिलर नियन्त्रणमा लिइएको थापाले जानकारी दिए। धेरैजसो नेपालगन्जकै थिए।

प्रदेश ५ का १२ जिल्लामध्ये ब्राउन सुगरको कारोबार र सेवन बाँकेमा बढी भएको प्रदेश ५ प्रहरीको तथ्यांकमा देखिन्छ। प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार चालु वर्षका १० महिनामा लागुऔषध नियन्त्रण र दुव्र्यसनी पक्राउ गरेको आधारमा प्रदेशका अन्य ११ जिल्लाबाट नियन्त्रणमा लिइएको ब्राउन सुगरभन्दा बाँकेको आधाभन्दा बढी छ।

प्रदेश प्रहरी प्रमुख डीआइजी पिताम्बर अधिकारीका अनुसार १२ जिल्लामा नियन्त्रणमा लिइएको ८ सय २३ दशमलव ८० ग्राम ब्राउन सुगरमध्ये आधाभन्दा बढी बाँके जिल्लाबाट बरामद भएको हो। बाँकेबाट मात्र ४ सय २३ दशमलव ८७ ग्राम बरामद भएको हो। ‘खुला सीमाका कारण बाँकेमा ब्राउन सुगरको कारोबार र सेवन बढेको हुनसक्छ’, उनले भने, ‘भारतमा ब्राउन सुगरका कारोबारी छन्, नेपालमा प्रयोगकर्ता छन्। नेपालमा गाँजा चरेशका कारोबारी छन्, भारतमा सेवनकर्ता छन्। यो दुबै देशको साझा समस्या भएकाले मिलेर हल गर्नुपर्छ।’

तथ्यांकमा बाँके जिल्ला देखिए पनि अधिकांश कारोबार नेपालगन्जबाटै हुने गरेको छ। नेपालगन्जमा ब्राउन सुगर भारतबाटै ल्याइन्छ। जहाँ औषधीजन्य प्रयोजनका लागि लाइसेन्स लिएर अफीम खेती गर्न पाइन्छ। अफीमबाट ब्राउन सुगर बनाइन्छ। भारतको वित्त मन्त्रालयले मेडिकल र वैज्ञानिक प्रयोजनका लागि अफीम खेती गर्न लाइसेन्स दिने व्यवस्था गरेको छ। मन्त्रालयका अनुसार अफिम खेतीका लागि मध्य प्रदेश, राजस्थान र उत्तरप्रदेश राज्यका केही इलाकालाई सूचिकृत गरिएको छ।

भारतीय मिडिया नवभारत टाइम्सको अनलाइन संस्करणका अनुसार उत्तर प्रदेशको बाराबंकी जिल्लाका सवा एक सयभन्दा बढी किसानले लाइसेन्स लिएर अफीम खेती गरेका छन्। त्यहाँको माटोमा अफीम धेरै फल्ने र गुणस्तरीय हुने भएकाले भारतमै ख्याती कमाएको छ। बाराबंकीका औषधि उत्पादक कम्पनीले अफीमबाट औषधिसँगै ब्राउन सुगर उत्पादन गरेर बिक्री गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बाराबंंकीमा उत्पादन हुने ब्राउन सुगर अन्य ठाउँको भन्दा सस्तो र शुद्ध भएकाले यसको माग देशभरी छ। कारोबारीले नेपालगन्जलाई ट्रान्जिट बनाएर कारोबार गरिरहेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ। नेपालगन्जबाट काठमाडौं, पोखरा, धरान, चितवनलगायत देशका ठूला सहरमा ब्राउन सुगर कारोबार हुने प्रहरी दाबी छ। भारतीय व्यावपारीले बाराबंकीबाट रुपैडिया, नानपारा र बहराइचसम्म लागुऔषध ओसारपसार गर्छन्। ब्राउन सुगरका अधिकांश ठूला कारोबारी भारतीय नै छन्। नेपाली भने साना कारोबारी र प्रयोगकर्ता भएको प्रहरी बुझाइ छ।

स्कुले बालबालिकासमेत लागुऔषधको दलदलमा फस्दै गएका छन्। सामुदायीक सेवा केन्द्र नेपालगन्जकी संयोजक शशी स्वारका अनुसार हाइप्रोफाइलदेखि स्कूले बालबालिका पनि लागू औषधको कुलतमा फस्ने गरेका छन्। ‘हरेक अभिभावकको चिन्ता लागुऔषध भएको छ। यसबाट बच्न वृहत अभियान सन्चालन गर्न जरुरी छ’, उनको सुझाव छ। बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल ‘चिकित्सक नै लागू औषधको दूव्र्यसनमा पक्राउ पर्नु’, दुर्भाग्यपूर्ण भएको बताउँछन्।

केही समयअघि प्रहरीले नेपालगन्ज मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका दुई विद्यार्थी पक्राउ परेका थिए। चिसापानीमा ७ वटा डिलर सञ्चालक पक्राउ गरेकाले प्रहरीले मेडिकल कलेजमा अझै धेरै सेवनकर्ता भएको आशंका गरेको छ। जिल्ला प्रहरी कार्यालयले चालु वर्षको १० महिनामा २ सय ९७ जना लागुऔषधमा पक्राउ परेकोमा एक सय २० जना बाँकेका छन्। जसमा नेपालगन्जका सर्वाधिक ५३ जना रहेको लागुऔषध नियन्त्रण व्यूरो नेपालगन्ज शाखा प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले बताए।

बाँकेमा लागुऔषधविरुद्ध क्रियाशील साहारा हाउस, सामना, नवकिरण, प्रेरणा, नयाँ आशा, प्रयास नेपाल, नवदृष्टि रिहाव सेन्टरको सहजीकरणमा शुक्रबार नेपालगन्जमा सार्वजनिक गरेको तथ्यांकमा उपमहानगरका क्षेत्रमा मात्र एक हजार एक सय ९७ जना लागुऔषध दूव्र्यसनी छन्। स्थानीय र पूर्वलागुऔषध प्रयोगकर्तासँग गरिएको कुराकानीका आधारमा तथ्यांक संकलन गरिएको अभियन्ता रविन्द्रसिंह राठोरले जानकारी दिए। बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले प्रहरी सक्रियता र जनचेतनामूलक कार्यक्रमले अघिल्ला वर्षभन्दा लागुऔषध कारोबारमा कमी आएको दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.