व्यस्त कार्यालय, सुस्त कर्मचारी

व्यस्त कार्यालय, सुस्त कर्मचारी

वीरगन्ज : आइतबार बिहान १० बजे हामी वीरगन्ज महानगरपालिका पुग्यौं। सेवाग्राही कर्मचारीलाई पर्खिरहेका थिए। महानगरको अधिकांश फाँटमा कर्मचारी आइपुगेका थिएनन्। खुर्सी रित्तै थिए। कार्यालय प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत बिदामा थिए। उनको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या विकास महाशाखाका प्रमुख अरुणकुमार महतोले सम्हालेका छन्। तर, निमित्त प्रमुख महतो आफैं १० बजेर ३५ मिनेटमा कार्यकक्षमा प्रवेश गरे।

कार्यालय रित्तै पारेर भ्रमण

अन्य फाँटका कर्मचारीलाई समयमै कार्यालय आउन कुनै हतार देखिएन। सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा देखिएको ६ वटा टेबलमा एउटा पनि कर्मचारी थिएनन्। शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णको कक्ष पनि खाली थियो। उनी विद्यालयको कार्यक्रममा गएका रहेछन्।

वीरगन्ज महानगरको कार्यालय । 

लेखा अधिकृत रूपनारायण राउत, जिन्सी प्रमुख प्रतिज्ञा वैद्य, प्रशासन तथा जनशक्ति महाशाखा प्रमुख विकासकुमार मि श्रसहित कर्मचारी र वडाध्यक्षको टोली भरतपुर महानगरपालिका भ्रमणका लागि निस्किएका रहेछन्। प्राविधिक र योजना शाखा कर्मचारी भेटिएनन्। वीरगन्जस्थित एक होटलमा भइरहेको तालिममा महानगरका सबै इन्जिनियर र योजनाका कर्मचारी सहभागी भएका रहेछन्।

एघार बजेसम्म पनि खुलेन राजस्व फाँट

आर्थिक वर्षको अन्तिम समयमा भीड देखिने योजना र प्राविधिक शाखामै कर्मचारी नहुँदा सेवाग्राही आउँदै फर्किंदै गरिरहेका थिए। केही सेवाग्राही त कर्मचारी पर्खेर बसेको देखियो। घरको नक्सापासको काम लिएर आएका सेवाग्राही ताला लागेको प्राविधिक शाखाको अघिल्तिर रहेको कुर्सीमा बसिरहेका थिए। कर्मचारी नभएकाले अन्योलमा रहेको बताउँदै थिए उनीहरु।

कार्यालय समयमा कर्मचारी नहुदा खाली रहेका कुर्सी । 

बिहानको ११ बजेसम्म राजस्व बुझ्ने कर्मचारीको अत्तोपतो थिएन। सेवाग्राही झ्यालबाट कर्मचारी बस्ने खाली कुर्सी चिहाइरहेका देखिन्थे। सेवाग्राहीसँग बुझ्दा कर्मचारी नभएकाले पर्खाइमा रहेको प्रतिक्रिया दिए। वीरगन्ज–१८ सुखचैनाका विक्रम साहले १० बजेदेखि राजस्व बुझाउन बसिरहेको बताए। ‘समयमै राजस्व तिरेर अर्को काममा लाग्छु भनेर आएको थिएँ। तर यहीं एक घन्टा बित्यो कर्मचारी नआएर। अझै कतिबेर पर्खनुपर्ने हो’, साहले भने।

सेवाग्राही अन्योलमा

बिहान ११.१५ बजे हातमा प्लास्टर लगाएर वीरगन्ज–४ भगवती टोलकी तिलावती गोसार्इं राजस्व शाखा अगाडिको कुर्सीमा बसिरहेकी थिइन्। उनलाई अस्पताल जानुपर्ने रहेछ। हातमा लगाएको प्लास्टर खोल्नुपर्ने थियो। उनी महानगरमा राजस्व तिर्ने काम सकाएर अस्पताल जान सोचमा थिइन्। तर कर्मचारी नहुँदा उनी पनि अन्य सेवाग्राहीजस्तै समस्यामा परिन्।

काम गराउन आएका सेवाग्राही । 

यो विषयमा बुझ्न राजस्व व्यवस्थापन महाशाखाका प्रमुख हरिकिशोर प्रसादको कार्यकक्षतर्फ लाग्यैाँ। कार्यकक्षमै भेटिएका हरिकिशोरले राजस्व शाखामा १३ जना कर्मचारी रहेको बताए। उनले कर्मचारी ढिलो आएको प्रसंगमा भने, ‘अब कर्मचारीमाथि कडाइ गर्छु।’ तर उनले कर्मचारीलाई बोलाएर ढिलो आउनुको कारण बुझ्ने प्रयास गरेको दिनभर देखिएन।

मध्याह्न १२ बज्दा पनि महानगरको अन्य शाखामा राजस्व शाखामा राजस्व तिर्न सेवाग्राहीको भीड थियो। कर्मचारी समयमा नआउँदा सेवाग्राहीलाई सास्ती खेप्नुपरेको थियो। योजना, प्राविधिक, लेखाजस्ता महत्वपूर्ण फाँटमा कर्मचारी नभएकाले पनि सेवाग्राहीको उपस्थिति कम देखिएको हो।

चर्चामा शिक्षक सरुवा

महानगरले भर्खरै ४२ जना प्रधानाध्यापकको सरुवा गरेको विषय यतिबेला चर्चामा छ। सरुवाप्रति असन्तुष्टि जनाउने प्रधानाध्यापक मध्याह्न महानगर परिसरमा देखिएका थिए। एउटै विद्यालयमा लामो समयदेखि प्रधानाध्यापक भएर बसेकालाई महानगरको निर्णय टाउको दुखाइ बनेको थियो।

कार्यालयमै निदाए नगर प्रहरी

दिउँसो १ बजे महानगरको मुख्य गेटको देब्रेपतर्फ नगर प्रहरीको कार्यालय छ। कार्यालयमा पस्दा नगर प्रहरी र सवारीचालक सोफामा मस्त निदाइरहेका थिए। हाम्रो टोली त्यहाँ पुग्दा नगर प्रहरी इन्चार्ज प्रभु ठाकुर उनीहरुलाई उठाउँदै थिए।

नगर प्रमुख विजय सराबगी र उपप्रमुख शान्ति कार्की कार्यालयमा थिएनन्। प्रमुख सराबगी मलामी गएका थिए। उपप्रमुख कार्की कार्यक्रममा सहभागी हुन कार्यालय बाहिर थिइन्। उनीहरूको कार्यकक्ष अगाडि केही सेवाग्राही बसिरहेका थिए।

दिउँसो १ः१५ मिनेटमा उपमेयर कार्की कार्यालय प्रवेश गरिन्। हामी उपप्रमुखको कार्यकक्षमा लाग्यैाँ। कार्यालय प्रवेश गर्नेबित्तिकै उनको पर्खाइमा रहेकाले उनलाई घेरिहाले। न्यायिक समितिमा दर्ता भएको मुद्दामा उनले छलफल थालिन्।

मेयरको कार्यकक्षमा बिरामी घडी

त्यसको केही समयमा मेयर विजय सराबगी आइपुगे। हामी २ः४५ मा उनको कार्यकक्षमा पुग्यौं। तर, मेयर सराबगीको कार्यकक्षमा रहेको घडीमा पौने नौ बजिरहेको थियो। हाम्रो जिज्ञासापछि मेयर सराबगीले तत्कालै घडीको ब्याट्री परिवर्तन गर्न कर्मचारीलाई निर्देशन दिए। हामी त्यहाँ पुग्दा सराबगी एक शिक्षकलाई सम्झाउँदै थिए।

त्सपछी मेयर सराबगी सेवाग्राहीसँग व्यस्त भए। हामी त्यहीं रहेका बेला कार्यलय प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत आइपुगे। बिदामा गएका उनी दिउँसो कार्यालय फर्किए।

प्रतिलिपि दिन दिनभरि

हामी पुनः राजस्व शाखामा गयौं। त्यहाँ एक सेवाग्राही जग्गाको कर तिरेको रसिदको प्रतिलिपि लिन १० बजेदेखि बसेका रहेछन्। तर कर्मचारीको सुस्तताका कारण उनले चार बजेसम्म प्रतिलिपि पाएका रहेनछन्। वीरगन्ज २ का मौलाद खानले भने, ‘घरको कर तिरेको रसिद हराएको थियो। त्यसकै प्रतिलिपि लिन आएको थिएँ। दिनभर यही काममा अल्झिएको छु।’ चार बजेपछि प्रतिलिपि लिएर उनी फर्किए।

अस्तब्यस्त कार्यलयका कागजपत्र ।

ढिलो आउँछन्, छिटै जान्छन४ः३५ मा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख हरिकिशोर प्रसाद कार्यकक्षमा निदाइरहेका थिए। कुर्सीमा बसेर निदाइरहेका उनलाई अर्का कर्मचारीले ब्युँझाए। प्रमुख प्रशासकीय अधिकृत उपस्थित नहुँदा निमित्तको जिम्मेवारी सम्हालेका स्वास्थ्य तथा जनसंख्या विकास महाशाखाका प्रमुख अरुणकुमार महतो ४ बजेर ४५ मिनेट जाँदा कार्यकक्षमा थिएनन्। उनी बाहिर गइसकेका रहेछन्।

बिहान १०.३५ बजे खाली देखिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा ४ः ४५ मिनेट जाँदासम्म खाली देखियो। कर्मचारी आएर पनि फर्किसकेछन्।हाम्रो उपस्थितीकै कारण केही कर्मचारी अडिएको देखियो भने केही कर्मचारी भने काममा व्यस्त देखिन्थे।

छैन बडापत्र

महानगरमा नागरिक बडापत्र देखिएन। डिजिटल डिस्प्ले पनि राखिएको थिएन। कार्यालय भवन अगाडि हरियाली देखिए पनि भित्र भने फोहर देखियो। भर्‍याङ र कोठाका कुना पानको रङले रंगिएको थियो। सरसफाइमा महानगरले खासै चासो देखाए जस्तो देखिएन।

मेयर बिजय सरावगी र प्रमुख प्रशासीकय अधिकृत उमेश बस्नेत ।

जिम्मेवारी नबुझ्दा समस्या : प्रशासकीय अधिकृत बस्नेत

वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जनप्रतिनिधि र कर्मचारीले जिम्मेवारी नबुझेका कारण कार्यसम्पादनमा समस्या भइरहेको प्रतिक्रिया दिए। जनप्रतिनिधिलाई आफ्नो काम, कर्तव्य र अधिकारका विषयमा जानकारी नहुने र कर्मचारीले पुरानै शैलीमा काम गर्न खोज्दा समस्या भइरहेको उनको बुझाइ छ।

कमजोरी सुधार्छौं : सराबगी

मेयर विजय सराबगीले कार्यालयमा देखिएका कमजोरी बाहिर ल्याए सुधारेर अघि बढ्ने बताए। उनले कर्मचारीमा देखिएको सुस्ततबारे जानकार रहेको भन्दै यसलाई सुधारेर लैजाने बताए। उनका अनुसार नागरिक बडापत्र केही दिनअघि हावाले च्यातिएको हो। उनले डिजिटल डिस्प्लेका विषयमा आफूले बुझ्ने बताए।‘शिक्षामा आमूल परिवर्तन ल्याउन एकैपटक ४२ जना प्रध्यानाध्यापकलाई सरुवा गरेको छु,’ उनले भने।

पान र गुटखाले फोहोर भएको कार्यालय । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.