डेंगुको डर
बर्खायामपछि तराई पिरोल्ने डेंगु रोग यस वर्ष मनसुनअघि नै देखा परेको छ। त्यो पनि पहाडको फेद धरानमा व्यापक रूपमा। त्यहाँ ज्वरो आउने र टाउको दुखेको महसुस गर्ने बिरामीको संख्या बढ्दै गएको छ। एक महिनाको अवधिमा तीन सयभन्दा बढी बिरामी थला परेका छन्। धरान उपमहानगरपालिकामा फैलिएको डेंगु रोग अनियन्त्रित बन्दै गएको छ। गत वर्ष पनि धरानमा डेंगुका बिरामी भेटिएका थिए। यस वर्ष उपमहानगरभित्रका दुइटा वडालाई डेंगु संकटग्रस्त घोषणा गरिएको छ। रोकथामको प्रभावकारी उपाय भने अवलम्बन गरिएको छैन।
तराई मात्र होइन, केही वर्षयता पहाडी जिल्लामा समेत डेंगुको संक्रमण देखा पर्ने गरेको छ। रोगले जटिल रूप लिएको अवस्थामा शरीरका भित्री अंगबाट रक्तस्राव हुने भएकाले यो प्राणघातक मानिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले डेंगु विस्तारमा उल्लेखनीय वृद्धि भइरहेको तथ्य सार्वजनिक गरिसकेको छ। मनसुनअघि नै प्रकोपको रूप लिएको डेंगुले धरानमा चुनौती दिएको छ। स्वास्थ्यका सूचकहरूमा द्रूत गतिमा सफलता प्राप्त गर्ने सफल मुलुकका रूपमा नेपाल सम्मानित हुँदै आएको छ।
तर, त्यसलाई जोगाइराख्न भने हम्मेहम्मे पर्ने अवस्था देखिएको छ। स्वास्थ्य क्षेत्रमा गरिने लगानीले समग्र विकासका अवधारणा कार्यान्वयन गर्न सहज हुन्छ। विश्व स्वास्थ्य संगठनले कुनै पनि मुलुकको कूल बजेटको दस प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने भनेको छ। तर, हरेक वर्ष पाँच प्रतिशतभन्दा न्यून बजेट विनियोजन गर्दा रोगका रोकथामका प्रयास प्रभावकारी हुन सकेका छैनन्। स्वास्थ्य क्षेत्रमार्फत समग्र विकासको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न राज्यलाई गाह्रो परेका कारण पनि यही देखाउने गरिएको छ। सरकारले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बजेट दिन कञ्जुस्याईं गर्नु हुँदैन भने अधिकारीहरूले पनि महामारी, व्याधिजस्ता अवस्थामा बहानाबाजी गरेर टार्नु÷पन्छाउनु हुँदैन।
डेंगु रोगबाट बच्ने उपाय नै लामखुट्टेको टोकाइबाट जोगिनु हो। सरकारले हरेक वर्ष लामखुट्टे नाश गर्न कीटनाशक औषधि छर्कनुका साथै झुल वितरण गर्दै आएको छ। रोकथाममूलक ती कार्यक्रम अपर्याप्त देखिएका छन्। त्यसमा दोष बजेटलाई दिने गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेगुबाट जोगिन अपनाउनुपर्ने सावधानीका सन्देश समयमै लक्षित समुदायमा प्रवाह गर्न सकेको छैन। लामखुट्टेको टोकाइबाट जोगिन घरवरपरको पानी जम्ने खाल्डा पुर्नुपर्छ। बर्खामा बाहिरका भाँडामा पानी जम्न दिनु हुँदैन। एसी, कुलर, फ्रिजजस्ता उपकरणमा पनि पानी जम्न दिनु हुँदैन। डेंगु ज्वरोको समस्या देखा परेमा तत्काल स्वास्थ्य संस्थामा गई जचाउनुपर्छ। यस्ता सामान्य सावधानीका उपायसमेत सर्वसाधारणसम्म पुग्न सकेको छैन।
कीटजन्य रोग नियन्त्रण तालिम केन्द्र तथा अनुसन्धान केन्द्र हेटौंडाको सहयोगमा धरानमा सचेतना अभियान सुरु गरिएको छ। त्यस्तै घरदैलो तथा लार्भा नष्ट गर्नेलगायतका कार्य रोग पैmलिएपछि मात्र नभई रोकथामकै चरणमा गर्नुपर्छ। राज्यले स्वास्थ्यसम्बन्धी सन्देश एवं सूचना सुलभ रूपमा प्रवाह गर्नुपर्छ। स्थानीय भाषामा समेत सूचनामूलक, प्रवद्र्धनात्मक र जनचेतनामूलक स्वास्थ्य शिक्षा र सूचनाको प्रवाह गर्न सरकारी र गैरसरकारी क्षेत्रलाई परिचालन गर्नुपर्छ। संविधानको मर्म र भावनाअनुरूप स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गर्नुपर्छ।
यसका लागि सेवाप्रदायक, सेवाग्राही र सरोकारवालाबीच रणनीतिक सहकार्य गर्नुपर्छ। नागरिकको स्वस्थ रहन पाउने मौलिक अधिकारको सुनिश्चित गर्नुपर्छ। यो दायित्व सरकारकै हो। संघीयतासँगै बनेका तीन तहका सरकारबीच अधिकार, दायित्व बाँडफाँट र समन्वय नमिलेको अवस्था पनि विद्यमान छ। स्वास्थ्यमा पनि हालत यही छ। त्यसलाई चाँडै सल्टाएर डेंगुजस्ता दुःख दिने रोगबाट मुक्ति दिलाउनु आवश्यक छ।