दुई राष्ट्रबाट क्रिकेट खेल्ने केप्लर
केप्लर विसल्स दुईवटा फरक राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो खेलाडी हुन्। उनले आफ्नो खेल जीवनमा पहिले अस्ट्रेलिया र त्यसपछि दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए। उनले सन् १९८२ देखि सन् १९८५ सम्म अस्ट्रेलियन क्रिकेट टोलीबाट थुप्रै एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए। उनले अस्ट्रेलियाका लागि २४ वटा टेस्ट पनि खेलेका थिए।
त्यसपछि उनी सन् १९९१ म दक्षिण अफ्रिका पुगे। उनी दक्षिण अफ्रिकाको राष्ट्रिय क्रिकेट टोलीमा पनि स्थान बनाउन सफल भए। दक्षिण अफ्रिकी टोलीमा उनको छनोटलाई लिएर निकै ठूलो विवाद पनि भएको थियो। तर, सन् १९९२ को विश्वकपमा उनले दक्षिण अफ्रिकी टोलीको कप्तानको जिम्मेवारी पाए। त्यतिबेला उनलाई विश्वकपमा कप्तान बनाएको विषयले पनि ठूलै विवादको रूप लिएको थियो।
विश्वकपमा ओपनर ब्याट्सम्यानको भूमिकामा देखा परेका उनले सन्तोषजनक प्रदर्शन नै गरेका थिए। केप्लरले इङ्ल्यान्डविरुद्ध ८५ र अस्ट्रेलियाविरुद्ध अविजित ८१ रन बनाएका थिए। यसैगरी उनले जिम्बाबेविरुद्ध ७० र श्रीलंकाविरुद्ध ४० रनको योगदान गरेका थिए। उक्त विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकी टोली इङ्ल्यान्डसँग १९ रनले पराजित भएको थियो। सेमिफाइनल खेलमा केप्लर १७ रनमा आउट भएका थिए।
केप्लरले आफ्नो सक्रिय खेल जीवनमा एक सय नौ एकदिवसीय खेल्दै ३४.३५ को औसतले कुल तीन हजार तीन सय ६७ रन बनाएका थिए। एकदिवसीय क्रिकेटमा उनको उच्च स्कोर एक सय सात रन हो। उनले एक शतक र २६ वटा अर्धशतक प्रहार गरेका थिए। अलराउन्डर खेलाडी केप्लरले एकदिवसीय क्रिकेटमा १८ विकेट र ४९ क्याच पनि लिएका थिए।
टेस्ट क्रिकेटमा पनि उनले ४० खेल खेल्दै ४१ को औसतले कुल दुई हजार सात सय ८८ रन बनाएका थिए। टेस्टको एउटै पालीमा एक सय ७९ रन बनाएका केप्लरले ६ शतक र १५ वटा अर्धशतक प्रहार गरेका थिए। खेलाडी जीवनबाट सन्न्यास लिएपछि उनी क्रिकेट कमेन्ट्रेटरको रूपमा सक्रिय भएका थिए।