कांग्रेस जागरणको सन्देश

कांग्रेस जागरणको सन्देश

अघिल्लो निर्वाचनको पीडा सम्बोधन गर्न, कार्यकर्ता र आम जनतामा उत्साह ल्याउन महाधिवेशन प्रक्रिया थालिहाल्नुपर्छ।


नेपाली कांग्रेसले आम कांग्रेसजनमा जागरण ल्याउन थालेको पहिलो चरणको अभियान समाप्त भएको छ। यो अभियान फलदायी र उपयोगी पनि बन्यो। जागरणले नेताहरूलाई संगठनप्रति गम्भीर र संवेदनशील बन्न पाठ सिकाएको छ। स्थानीय तहका कार्यकर्ताको नेताप्रति एउटै गुनासो थियो, ‘जागरण तल्लो तहमा होइन, उपल्लो तहका नेतामा आउनुपर्‍यो। केन्द्रमा एकतासहितको जागरण आयो भने गाउँमा स्वतः त्यसको प्रभाव पर्छ।’

कार्यकर्ताको त्यो गुनासोको सम्बोधन पहिलो सर्त हो। एकले अर्काको आलोचना गरेर समय खेर नफाली कार्यकर्ताको मनोभावनाअनुसार संगठन बलियो बनाउन जागरण अभियान सार्थक हुनुपर्छ। स्थानीय तहदेखि संघीय संसद्को निर्वाचनमा भएको हार त्यही आलोचना र अन्तरघातको परिणाम हो। आफूबाहेक अर्कोलाई अघि बढेको नदेख्ने संस्कार अब सबैले त्याग्नुपर्छ, पार्टी र प्रतिस्पर्धाको राजनीतिप्रति आस्था र विश्वास छ भने। नत्र जति चरणको जागरण अभियान चलाए पनि आम कार्यकर्ताले चाहेको सबल नेतृत्वसहितको कांग्रेस एकता सम्भव छैन।

जागरण अभियानअन्तर्गत म सिराहा जिल्लामा खटिएको थिएँ। त्यस क्रममा आठ जिल्लाको भ्रमणमा स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गरे । स्थानीय नेता तथा कार्यकर्ताको पार्टीप्रतिको उत्साह देखेर म नतमस्तक भएँ। त्यति ठूलो उत्साह र जाँगर भएका नेता–कार्यकर्ता हुँदा पनि तराईमा हामी किन निर्वाचन हार्नुपर्‍यो ?      

यसबारेमा नेतृत्वलाई कुनै चिन्ता र चासो छैन। यो सबै नेतृत्वले सही दिशा लिन र दिन नसक्नुको परिणाम हो। बीपी कोइरालाको पार्टी भनेपछि हुरुक्क हुने परम्परा अहिले पनि विद्यमान छ तराई–मधेसमा। हाम्रै पार्टीका नेताहरूबीचको अनेकताको फाइदा मात्रै अरू दलले उठाइरहेका रहेछन्। अब पनि ती पार्टीप्रति आस्थावान् नेता–कार्यकर्तालाई गोलबद्ध गरेर एकताको सन्देशसहित अघि बढ्न सकेनौं भने त्यो जनाधारलाई हाम्रो पक्षमा राखिरहन कठिन हुनेछ।

अब कसैलाई खुसी पार्न विभाग गठन गर्नुभन्दा आगामी महाधिवेशनपछि मात्र गर्दा उत्तम हुन्छ। अब सबैको ध्यान महाधिवेशनमा केन्द्रित हुनुपर्छ।

आम जनताको सुखदुःखमा साथै रहेर तिनको भावनाको प्रतिनिधित्व गर्दै सबैलाई प्रजातन्त्रप्रति अभिप्रेरित गर्ने कामलाई नै प्रमुख लक्ष्य बनाएर अघि बढेको संगठन हो कांग्रेस। त्यही लक्ष्यमा अविचलित रहेकै कारण कांग्रेसको त्यो भावनामा सबै पार्टीलाई गोलबद्ध गराउन सम्भव भएको हो। आफूलाई कम्युनिस्ट भन्नेहरू हुन् वा उग्र कम्युनिस्ट सबैले कांग्रेसकै बाटो अवलम्बन गरिरहेका छन्। यस मानेमा हामी खुसी छौं।

संसदीय अंकगणितमा पछि परे पनि जनताको नजरमा आज पनि कांग्रेस पहिलो पार्टीकै रूपमा रहेको सन्देश जागरण अभियानको पहिलो चरणबाट पुष्टि भएको छ। तर हामीबीच जुन खालको अनेकता छ, गुट–उपगुटमा रमाउने संस्कृति र प्रवृत्ति छ त्यसलाई निर्मूल गर्नैपर्छ। दोस्रो चरणको जागरण अभियान त्यही सन्देशसहितको बनाउनुपर्छ।

यतिबेला मुलुकमा कम्युनिस्ट सरकार छ। यो सरकार गठनसँगै विकृति बढेकाबारे आम कार्यकर्ता मात्र होइन, सर्वसाधारण पनि चिन्तित देखिएका छन्। सरकारको यही किसिमको रबैया जारी रह्यो भने जनअधिकार खोसिने त होइन भन्ने आम जनतामा परेको छ। सिंहदरबारको अधिकार गाउँमा आयो भन्ने सुनेका थियौं, तर त्यो अधिकारसँगसँगै भ्रष्टाचार पनि आएछ। यस्तो अवस्थालाई संसद्को प्रमुख प्रतिपक्षी कांग्रेसले टुलुटुलु हेरेर बस्न हुँदैन भन्दै सरकारविरोधी आन्दोलनको अगुवाइ गर्न जनताले म्यान्डेट दिएका छन्।

एक मात्र प्रजातान्त्रिक शक्ति कांग्रेस जागरुक हुन सकेन भने सरकारका अधिनायकवादी क्रियाकलाप एकपछि अर्को गरी बढ्दै जान्छन् भन्नेमा जनता सचेत देखिन्छन्। तर हाम्रो कमजोरीको फाइदा सरकारले नउठाओस् भन्नेतर्फ हामी सजग हुन आवश्यक छ। हामीले जनभावनाको कदर गर्नुपर्छ। नेतृत्वको परीक्षा पनि यस्तै अवस्थामा हुने हो। जनभावनाको कदर गर्न पनि सरकारका गलत क्रियाकलापको भण्डाफोरसहित अघि बढ्नैपर्छ। सर्वसाधारण नागरिक र कार्यकर्ताको उत्साहपूर्ण सहभागिताले जागरण अभियान सार्थक भए पनि त्यसले मात्र सबैलाई सम्बोधन गर्न नसक्ने भन्दै आम कार्यकर्ताले समयमै पार्टीको महाधिवेशन प्रक्रिया थाल्न सुझाएका छन्।

कांग्रेसले आफूले गरेका सकारात्मक कामको प्रचारसमेत गर्न सकेन। कांग्रेसले समयसमयमा देशका लागि ठूलो योगदान गरेको छ। ०७ सालदेखि, ०४६ हुँदै ०६२ ÷६३ को आन्दोलन सफल हुनुको परिणाम कांग्रेसकै सिद्धान्तको परिणाम हो। लोकतन्त्रको विकास र आर्थिक समृद्धिका लागि सशस्त्र संघर्षमा रहेको माओवादीलाई शान्तिमा रूपान्तरण गर्नु कम चुनौतीपूर्ण थिएन। कांग्रेसकै उदारवादी नीतिको परिणाम हो माओवादीको रूपान्तरण। गरिबी घटेको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा देशले ठूलो फट्को मारेको छ। आज गाउँगाउँमा खानेपानी पुगेको छ। यो सबै कांग्रेसकै योगदानका कारण सम्भव भएको हो। यातायात क्षेत्रको सुधार र राजस्व वृद्धिको स्तर कांग्रेस नीतिको प्रतिफल हो। हिजो कांग्रेस नीतिको विरोध गर्नेहरू आज त्यही नीति अनुसरण गरेर अघि बढिरहेका छन्। निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, वैदेशिक लगानी भिœयाउने काम कांग्रेसले सुरु गरेकै हो। अहिले पनि त्यो नीतिको अपरिहार्यता स्वीकार गरिएको छ। देशका लागि यति ठूलो योगदान गरेको कांग्रेसले जनसमक्ष यी कुरा राख्न नसक्दा हामी निर्वाचनमा पराजित हुनुपर्‍यो भन्ने गाउँगाउँका कार्यकर्ताको गुनासो छ। झूटा प्रचार गरेर शासन चलाउन चाहनेहरूविरुद्ध अब कांग्रेस एकजुट भएर अघि बढ्नुको विकल्प छैन।

आपसमा विवादमा उत्रिएर कांग्रेस पछि पर्‍यो भन्ने आम प्रजातन्त्रवादीको मात्र होइन, सर्वसाधारणको पनि गुनासो छ। कांग्रेसले संसद्बाट सरकारको आलोचना गर्नै सकेन भन्ने परिरहेको छ। अंकगणितले होइन, जनताको समर्थन ठूलो भएकाले नेतृत्वले सधैं संसद्का गतिविधिप्रति निगरानी राखेर सशक्त भूमिका निर्वाह गर्न नसकेको कार्यकर्ताको दबाबको सम्बोधन हुनुपर्छ।

जागरणको मूल उद्देश्य पार्टीको संगठन विस्तारसहित व्यवस्थापन कसरी सुधार्ने भन्ने हो। अर्को उद्देश्य नेकपाको सरकारले संस्थागत गरिरहेको भ्रष्टाचार, प्रेस स्वतन्त्रताविरोधी गतिविधि, अधिनायकवादी प्रवृत्ति र स्वेच्छाचारी शासन व्यवस्थाविरुद्ध जनतालाई सुसूचित गर्ने–गराउने हो। सरकारका क्रियाकलापविरुद्ध आम जनता रुष्ट भएको पाइयो। सरकारको अधिनायकवादी प्रवृत्ति बढ्दै गएको मुख्य उदाहरण प्रेस स्वतन्त्रता र मानव अधिकारको विश्वव्यापी सिद्धान्तविरुद्ध गर्न लागिएका क्रियाकलाप नै हुन्। द्वन्द्वपीडितको व्यवस्थापनमा सरकार चुकेको छ। द्वन्द्वपीडितका समस्या समाधानमा अन्तर्राष्ट्रिय मान्यतालाई उपेक्षा गरिएको छ। मानव अधिकारसँग सम्बन्धित संघसंस्थाको बढ्दो जागरुकता नियन्त्रण गर्ने क्रियाकलापले सरकार लोकतान्त्रिकभन्दा स्वेच्छाचारी चरित्रले अघि बढिरहेको पुष्टि हुन्छ।

प्रधानमन्त्रीको अधिकार बढाइएको छ। ठूला–ठूला योजना विनाप्रतिस्पर्धा ठेक्कामा दिनेदेखि लिएर सेना परिचालनसमेत प्रधानमन्त्रीको तजविजमा हुने व्यवस्थाजस्ता विवादास्पद कामले नेकपा नेतृत्वको यो सरकार देश र जनताका पक्षमा छैन भन्ने आम जनमानसमा परिरहेको छ। यस्ता अधिनायकवादी चरित्र उदांगो पार्न जनजागरण केही हदसम्म सफल भएको छ। यो अभियानमा प्रेसको साथ र सहयोग प्रशंसनीय छ।

भर्खरै सार्वजनिक बजेट वितरणवादी वा वितरणमुखी छ। गरिबउन्मुख छैन, यसले गरिबी घटाउने नभई झन् बढाउन सघाउँछ। बजेट बाँडफाँट गर्ने, भ्रष्टाचार बढाउने, चुहावट बढी कामलाई बजेटले बढावा दिएको छ। बजेट कृत्रिम रूपमा ठूलो बनाइयो। राष्ट्रिय ऋण बढ्दै छ। भावी पुस्तालाई समेत ऋणको बोझ बोकाउने गरी बजेट ल्याइएको छ। ऋणले नै बजेटको एकतिहाइ हिस्सा ओगटेको छ। हामीले राष्ट्रिय ऋण घटाएका थियौं। जीडीपीको २४÷२५ प्रतिशतमा ऋण झरेको थियो ६० प्रतिशतभन्दा बढीबाट। अहिले बढेर ३० प्रतिशत पुगिसकेको छ। एकै वर्षमा जीडीपीको १५ प्रतिशत ऋण बढाउने प्रस्ताव गरिएको छ। आन्तरिक ऋण दुई खर्ब पुगेको छ, जुन जीडीपीको पाँच प्रतिशत हुन जान्छ। जीडीपीको १० प्रतिशन बाह्य ऋण छ। जीडीपीको पाँच प्रतिशत आन्तरिक ऋण लिँदा निजी क्षेत्रमा जाने ऋणको प्रभाव घट्छ। तरलताको अभाव हुन जान्छ। त्यसैले यो बजेट देशको दीर्घकालीन हितमा छैन। यस्ता विषयलाई जनसमक्ष लैजानु कांग्रेसको कर्तव्य हो।

पार्टीमै सुधार हुनुपर्‍यो। गुटबन्दी अन्त्य हुनुपर्‍यो भन्ने कार्यकर्ताको सुझावलाई अक्षरशः पालना गर्नुपर्छ। संसद्मा उपस्थितिलाई बलियो पार्नुपर्छ। महाधिवेशन समयमा नगर्न जागरण अभियान सुरु गरिएको गुनासा पनि आएका छन्। जागरण अभियानले भन्दा महाधिवेशनले कार्यकर्तामा झन् ठूलो जागरण ल्याउँछ। नेतृत्वको त्यस्तै मनसाय हो भने त्यसले पार्टीको दीर्घकालीन हित गर्दैन। महाधिवेशन समयमै गर्नुपर्छ। महाधिवेशन प्रक्रिया थाल्ने हो भने गाउँ, नगरदेखि प्रदेश हुँदै केन्द्रसम्म यसले उभार ल्याउँछ। योभन्दा ठूलो जागरण अरू केही हुन सक्दैन। क्रियाशील सदस्यको अभियान सुरु हुनेबित्तिकै कार्यकर्तामा मात्र होइन, कांग्रेसमा प्रवेश गर्नेहरूलाई समेत ऊर्जा प्राप्त हुन्छ।

महाधिवेशन ढिला गरियो भने त्यसलाई तीन वर्षपछि हुने स्थानीय निर्वाचनलाई प्रभाव पार्नेछ। हामीले अघिल्लो निर्वाचनको पीडालाई सम्बोधन गर्न, कार्यकर्ता र आम जनतामा उत्साह ल्याउन महाधिवेशन प्रक्रिया थालिहाल्नुपर्छ। भोलि महाधिवेशन र स्थानीय निर्वाचन सँगसँगै हुने वातावरण बन्यो भने पार्टीलाई त्योभन्दा ठूलो नोक्सान केही हुने छैन। पार्टीभित्रको प्रतिस्प्रर्धाले निर्वाचनमा असर पुग्छ। एकैचोटी महाधिवेशनको प्रक्रिया सुरु भयो भने त्यसले सबैको सम्बोधन पनि गर्छ। संघीय संरचनाअनुसार समिति पनि निर्माण हुन्छन्। अघिल्लो महाधिवेशन भएको तीन वर्ष बितिसक्दा पनि पार्टीमा विभाग गठन गरिएको छैन। अब कसैलाई खुसी पार्न विभाग गठन गर्नुभन्दा आगामी महाधिवेशनपछि मात्र गर्दा उत्तम हुन्छ। अब सबैको ध्यान महाधिवेशनमा केन्द्रित हुनुपर्छ।

—कुराकानीमा आधारित


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.