प्रकोप पहिचान ढिलो हुँदा
नेपालमा भूकम्प, पहिरो, हिमपहिरो, बाढी, चट्याङ, आगलागी आदि प्रकोपले बर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ।तीमध्ये भूकम्प पनि एक हो।नेपालमा निरन्तर ठूला, मध्यम र साना भूकम्प आइरहेका छन्।भूकम्पीय जोखिमका आधारमा एघारौं जोखिम भएको देश र राजधानी काठमाडौं सहर त सबैभन्दा जोखिमपूर्ण सहर रहेको छ।नेपालसहित हाम्रो हिमालय शृंखलाको उत्पत्तिसँगै निरन्तर जोडिएको भूकम्पमा संसारका अन्य भूकम्पभन्दा फरक पाइन्छ।
हालसम्मका भूकम्पका प्रकृतिका आधारमा करिब ९० प्रतिशतभन्दा धेरै भूकम्प टेक्टोनिक प्लेट अर्थात् भूखण्डहरूका सिमानामा जाने गरेका छन्।भारतीय भूखण्ड युरासियन भूखण्डभित्र निरन्तर ठेलिँदै जाँदा क्रमशः संकुचन हुँदै गई जमिनमा चिरा परेका छन्।यस्ता दरार र चिरा पर्दा जमिनमुनि सञ्चित भएको शक्ति भूकम्पमार्फत बाहिर आउने गरेको छ ।
जमिनमुनि सञ्चित भएको शक्ति साना वा मध्यम भूकम्पबाट बाहिर आएमा निश्चय पनि ठूलो भूकम्पको जोखिम कम हुन्छ।पश्चिम नेपालमा करिब ५ सय वर्षभन्दा लामो भूकम्पीय शून्यता भएकाले ठूलो भूकम्प आउने दाबी भूगर्भविद्हरूले गर्दै आएका छन्।मध्य नेपालको गोरखा केन्द्रविन्दु भएर आएको भूकम्पले यस क्षेत्रमा सञ्चित रहेको शक्ति पूर्णरूपमा बाहिर ल्याउन नसकेको तसर्थ भूकम्पको जोखिम कम नभएको भूगर्भविद तथा भूवैज्ञानिकहरूले बताएका छन्।भूकम्पको प्रकृतिअनुसार कुल शक्तिको थोरै शक्ति मात्रै भूकम्पसँगै तरंगका रूपमा बाहिर आउँछ।अरू शक्ति घर्षण, ताप र परकम्पको रूपमा बनेका चिरामार्फत पछिसम्म बाहिर आउने भूगर्भविद्हरू बताउँछन् ।
पछिल्लो अध्ययनअनुसार भूकम्पको सक्रियतामा वातावरणीय प्रभाव पनि एक कारण रहेको छ।अहिले बढ्दै गएको वातावरणीय प्रभावले पृथ्वीको तापक्रममा वृद्धि भई हिउँ पग्लिनाले समुद्री सतह वृद्धि भएकाले टेक्टोनिक प्लेट वा भूखण्डहरूमा चापको अस्थिरता भएकाले यसले भूखण्डहरूलाई थप क्रियाशील बनाएर भूकम्पको सम्भावना बढाएको छ ।
नेपालमा भूकम्प मापन गर्ने कामको पहिलो परीक्षण २०३४ सालमा फ्रान्स सरकारको सहयोगमा ललितपुरको फुल्चोकी डाँडामा पहिलो भूकम्प मापन स्टेसन राखेर सुरुवात भएको हो।अहिले नेपालमा धेरै भूकम्प मापन स्टेसन विस्तार भए पनि आवश्यक मात्रामा यो प्रविधिलाई थप प्रभावशाली बनाउन जरुरी देखिन्छ।साथै भूकम्प पूर्वसूचना व्यवस्था प्रविधियुक्त र प्रभावकारी हुन सकेमा पनि ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ ।
भूकम्प आफैंमा एउटा ठूलो प्रकोप त हो नै, सँगसँगै यसले अन्य प्रकोप पनि निम्त्याउँछ जस्तै– जमिनमा चिरा पर्ने वा ध्वजा फाट्ने, पहिरो, हिमताल फुट्ने, हिमपहिरो, बाढी, आगलागी, जमिनको तरलीकरण र जमिन वा संरचना भासिने आदि।यी प्रकोपले नेपालमा कल्पनाभन्दा धेरै क्षति गर्ने सम्भावना घामजस्तै छर्लंग छ।भूकम्प यो स्थानमा, यो समयमा, यति ठूलो जान्छ भनेर यकिन गर्न सकिँदैन भन्दैमा भूकम्पीय जोखिमपूर्ण स्थान पहिचान नै नभएका होइनन् र भूकम्पीय सुरक्षा र जोखिम न्यूनीकरणका उपाय पनि अवलम्बन नगर्नु आफैंमा डरलाग्दो समस्या हो ।
बस्ती वा भौतिक संरचना निर्माण गर्दा त्यस ठाउँको आवश्यक भौगर्भिक अध्ययन अपरिहार्य छ, जस्तै– ३ सयभन्दा थोरै भिरालो भएका जमिनको अध्ययन नगरी बस्ती बस्नु विपद् निम्त्याउनु हो।भवन निर्माण गर्दा भवन निर्माण आचारसंहिता कडाइका साथ लागू हुनुसपर्छ।हामी आफू बसेको घर नै सुरक्षित छ भन्न सक्दैनौं, त्यसैले सुरक्षित गाउँ, बस्ती र भवन अरूका लागि नभई आफ्नै सुरक्षाका लागि हो भन्ने मनन गर्नुपर्छ र सम्बन्धित निकायले पनि यस्तो विषयमा कडाइका साथ नियमन गर्नुपर्छ।विस्तृत भौगर्भिक अध्ययन गरी प्रकोप नियन्त्रण र जोखिम न्यूनीकरणको ठोस योजनासहित सुरक्षित स्थानमा बलियो भौतिक संरचना निर्माण गर्नु आजको आवश्यकता हो ।
विपद् व्यवस्थापनका लागि हाम्रो पूर्वाधार पनि सुरक्षित हुन जरुरी छ।भूकम्पपछि उद्धार र राहतका निम्ति हाम्रा मूल सडकहरू जोखिममुक्त हुनुपर्छ।सडकमै पहिरो जाने, भासिने भएमा भूकम्पपछि पनि थप क्षति हुने निश्चित हुन्छ।तसर्थ सडक, बिजुलीको प्रसारण लाइन, पानी, ढल आदि पूर्वाधार जोखिममुक्त हुन जरुरी छ ।
प्राकृतिक जोखिम संसारकै ठूलो, चुनौतीपूर्ण र पूर्णरूपमा समाधान गर्न नसकिने जोखिम हो।यो कुनै पनि समय विपद्मा परिणत हुन सक्छ।भूकम्प एक नियमित प्रक्रिया हो।भूकम्पले होइन कि हामीले निर्माण गरेका कमजोर संरचना भूकम्प प्रतिरोधात्मक नभएकाले नै हाम्रो जनधनको हानि हुन्छ ।
हालैको भूकम्प, पहिरो, बाढी, आँधीजस्ता प्रकोपले क्षति पु¥याएपछि मात्रै आँखा खुल्ने हाम्रो कुसंस्कृतिलाई चुनौती दिएको छ।भूकम्पको जोखिमलाई स्वीकार मात्रै होइन, यससँगै सम्बन्धित आवश्यक भौगर्भिक अध्ययन गरी भूकम्प प्रतिरोधात्मक स्थान र संरचनामा बस्नुको विकल्प छैन।भूकम्पसहित विभिन्न प्रकोपको विस्तृत अध्ययन गरी जोखिमपूर्ण क्षेत्रको पहिचान र त्यसअनुसार प्रकोप नियन्त्रण र जोखिम न्यूनीकरणमा अगाडि नबढेमा प्रकोप अझ छिटो विपद्मा परिणन हुनेमा दुईमत छैन ।हाइलाइट
प्रकोप नियन्त्रण र जोखिम न्यूनीकरणमा अगाडि नबढेमा प्रकोप अझ छिटो विपद्मा परिणन हुनेमा दुईमत छैन ।