राष्ट्रपतिको गाउँमा पानीको हाहाकार, बसाइँ सर्दै स्थानीय

राष्ट्रपतिको गाउँमा पानीको हाहाकार, बसाइँ सर्दै स्थानीय

मानेभञ्ज्याङ, भोजपुर : रामप्रसाद राई गाउँपालिका-५ मानेभञ्ज्याङ भोर्लेनीका ६४ वर्षीय केशर पराजुली घर, जग्गाजमिन त्यसै छाडेर सुनसरीको तरहरा बसाईँ सरेका छन्। उनी ०७४ साल मंसिरबाट त्यहाँ बसाइ सरेका हुन्।गाउँका पानीका मुहान रित्तिन थालेपछि उनी पशुचौपाया समेत बेचेर गाउँबाटै पन्छिएका हुन्।

सोही गाउँका अर्का ४७ वर्षीय दीपक तामाङ पनि श्रीमती, १ छोरी र ४ भाइ छोरो लिएर गत फागुनतिर कालीबञ्जार झरे। वर्षेनी सुख्खाले कुनाकन्दराका स-साना पानीका मुहान एकपछि अर्को गर्दै सुक्न थालेपछि दिपक पनि गाउँ छाड्ने विकल्पमा पुगेका हुन्। मानिसलाई नै खानेपानी पुग्न छाडेपछि वस्तुभाउ र खेतिपाति गर्न कुनै सीप नचलेपछि घरै ताल्चा ठोकेर मधेश झर्न बाध्य भएका हुन्।

यी दुई त ज्वलन्त उदाहरण मात्रै हुन्। मानेभञ्ज्याङमा वर्षेनी खानेपानीको हाहाकार मच्चिने गरेको छ। खानेपानी समस्याका कारण मानेभञ्ज्याङका भोर्लेनी, अर्चलेका करिब ६१ घरपरिवार खानेपानी समस्याकै कारण विस्थापित भएका छन्।बसाइ सरेकाका घर पुराना र जीर्ण बनेका छन्। झारपातले बेबारिसे बनेका धेरै वस्ती खण्डहर बनेका छन्। गाउँका सबै कुवा, कुलेसालगायत खानेपानी मुहान सुकिसकेका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारी पनि मानेभञ्ज्याङमै जन्मिएकी हुन्। राष्ट्रपतिकै गाउँमा वर्षेनी खानेपानीको अनिकालले सताउने गरेको छ। ०७२ सालको विनाशकारी भूकम्प र खडेरीले वर्षौदेखि पिउँदै आएको खानेपानीका श्रोतहरु क्रमशः सुक्न थालेका छन् ।

मानेभञ्जाङका करिब ५ सय १७ घरधुरी वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन्। मानेभञ्जाङका अर्चले, भोर्लेनी, आमबोटे, गडा, अगौटे, रानागाउँ, गुँरासेलगायत खानेपानीको उच्च जोखिमका स्थानमा वर्षेनी खानेपानीको चरम संकट हुने गरेको छ।

पानी लिन पालो कुर्दै महिला 

खानेपानीको समस्याले सिंगो मानेभञ्जाङबासीमा मानवीय संकट पैदा हुने गरेको स्थानीय तिलाचन तामाङ सुनाउँछन्। 'राष्ट्रपतिको माइती गाउँ भनेर के गर्नु ? खानेपानी लिन डेढ दुई घण्टा धाएर एक गाग्रीले दिन काट्नुपर्छ,' उनले भने, 'खानेपानीकै कारण धेरै वस्ती विस्थापित भइसके।बाँकी रहेका गाउँलेलाई पनि जीवनस्तर चलाउनै गाह्रो छ।'

गृहणीलाई समस्या

मानेभञ्ज्याङबासीको दैनिकी पानी जोहो गर्नमै बित्ने गर्छ। घरायसी चुलाचौका गर्ने गृहणी बढी सास्ती खेप्ने गर्छन्। उनीहरुलाई खानेपानी जोहो गर्नमै दिनरात बित्ने गर्छ। गाउँका खोल्साखोल्सी र जरुवा पानीका मुहान सुक्न थालेपछि बाँकी साउनेपानी, भञ्जाङ र जुकेपानीलगायत ३ वटा मुहानमा बिहानबेलुकी पालो कुरेर पानी जोहो गर्ने महिलाको घुइँचो लाग्ने गर्छ। 

एक गाग्रो पानी थाप्न बिहान ४ बजेदेखि दिउँसो १२÷१ बजेसम्म धारामा लाइन लाग्नुपर्ने बाध्यता रहेको साउनेपानीकी  ६६ वर्षीया लिलामाया निरौला सुनाउँछिन्। 'बिहानै आएर घण्टौं कुरेर लगेको खानेपानीले खाना बनाउन पनि पुग्दैन। नानीलाई स्कुल पठाउन पनि भ्याइदैन', उनले भनिन्, 'हामी बुढाबुढीलाई लाइनमा बस्दा ढाड, कम्मर, जोर्नीको समस्या भएको छ। के गर्नु पानी लिनै पर्‍यो, त्यति कष्ट सहनुको विकल्प छैन।'
 
पशुचौपाया मारमा 

खानेपानीको संकटले गर्दा घरपालुवा पशुपंक्षी बढी मारमा पर्ने गरेका छन्।पानीकै कारण वस्तुभाउ पाल्ने धेरैजसो गाउँले बेसी खेत, खोला, किनारतिर बसाइ सरेको जुकेपानीका जीतबहादुर क्याप्छाकी मगरले बताए। उनले भने, 'मान्छेको लागि त जहाँबाट भएपनि एक गाग्रो पानी जुटाइएला तर गोठका वस्तुभाउलाई कहाँबाट ल्याएर पुर्‍याउने, वस्तुभाउ बचाउनै गाह्रो भाको छ।'
 
मुहानले बजार धान्नै सकस

रामप्रसाद राई गाउँपालिका-६ बैकुण्ठेको करिब ८ किलोमिटर दूरीमा पर्ने बैकुण्ठेको टुनेको फेद मुहानबाट मानेभञ्ज्याङका करिब साढे ३ सय घरलाई वितरण गरिएको छ। ल्याइएको खानेपानी मुहानकै स्थानीयलाई अपुग छ। मुहानबाट ल्याइएको पानी मानेभञ्ज्याङसम्म आइपुग्दा २५ प्रतिशत मात्र आइपुग्ने गरेको स्थानीय मानेभञ्ज्याङ बजारनिबासी निशा तामाङ सुनाउँछिन्। 

बसाइँ सरेपछि जीर्ण बनेको एक स्थानीय घर।

उक्त खानेपानी मुहानको विषयलाई लिएर करिब ३ वर्षअघि दुई गाउँलेबीच नै किचलो समेत बढेको थियो। पछि मुहानधनी स्थानीयबासीले मुहानको पानी आफूलाई पनि नपुग्ने भनेपछि जेनतेन बाँडेरै उपभोग गर्ने गरिएको मानेभञ्ज्याङका वडाध्यक्ष विरेन्द्र राईले बताए। मानेभञ्ज्याङबासीका लागि खानेपानीको अस्थायी श्रोत व्यवस्थापन गर्न गत आर्थिक वर्ष गाउँपालिकाले वडामार्फत् २ लाख बजेट पनि छुट्याइएको थियो।

१२ करोड बराबरको पिखुवा खोला लिफ्टिङ खानेपानी आयोजना

मानेभञ्ज्याङबजारबाट करिब १३ सय मिटर तल रहेको पिखुवा खोलाबाट पम्पिङ मेसिन राख्ने तयारी भइरहेको छ। सिंगो मानेभञ्ज्याङलाई खानेपानीको आपूर्ति पूरा गर्न उक्त खोलाबाट पानी ल्याउने काम सुरुआत गरिएको वडाध्यक्ष राईको भनाई छ। 

हालसम्म उक्त आयोजनाको भौतिक पूर्वाधारको ७० प्रतिशत काम सम्पन्न भइसकेको पिखुवा खोला लामडाँडा खानेपानी योजना समितिले जनाएको छ। कुल १२ करोड बराबरको सम्पूर्ण प्राविधिक इस्टिमेट रहेको उक्त पम्पिङ जडानमा चालु आर्थिकवर्षको प्रदेश सरकारबाट १ करोड ५० लाख बजेट थप गरेको थियो। हाल उक्त पम्पिङ मेशिन जडानको मोटर राख्ने, ६ वटा इन्टेक, खोलादेखि बजारसम्म ५ वटा ट्रान्समिटर जडान गर्ने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

जीर्ण बनेको स्थानीयको घर।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.