रंगीचंगी डाँफे
डाँफे नेपालको राष्ट्रिय पन्छी हो। यो दुर्लभ र लोपोन्मुख सूचिमा सूचीकृत छ। चोरी सिकार गर्न प्रतिबन्धित डाँफे नेपालका सबै ठाउँमा पाइँदैन। यो हिमाली रेन्जको समुद्री सतहबाट तीन हजारदेखि तीन हजार मिटरको उचाइसम्म पाइन्छ।
यो चरा ओखलढुंगाको देम्वा, ताक्लुङ तथा सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज, पीके रेन्ज र खुम्जुङ तथा फोर्चेमा पाइन्छ। यो चरा रंगीचंगी हुने भएकाले आकर्षक र सुन्दर हुन्छ। यसलाई नौरंगी चरीका उपनामबाट पनि चिनिन्छ।
यसको वैज्ञानिक नाम लोफोफोरस इम्पेजानस हो। यस समूहअन्तर्गत मुनाल, कालिजलगायतका प्रजाति पनि पर्छन्। यसको खाना पनि अन्य चराजस्तै कीराफट्यांग्रा, घाँसे दाना, अन्नलगायत नै हुन्। यो ६ देखि आठ वर्ष बाँच्छ। यसको तौल दुईदेखि २.५ केजीसम्म हुने विज्ञहरू बताउँछन्। नेपालमा पाइने डाँफेका ६ प्रजातिमध्ये सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जमा तीन प्रजाति पाइने निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले बताए। मुना र चिरकालिज निकुञ्जमा रहेको र यिनको संख्या यकिन नभएको उनले जनाए।
हिमरेखा क्षेत्रमा बस्न रुचाउने यो चरा जाडोयाममा लालीगुँरास फुल्ने जंगल र गर्मीमा बुकी क्षेत्रमा समूह बनाई बस्छ। यो चरा चिल, काग र बाज देख्दा डराउने र भाग्ने गर्छ। यसले गुँड बनाउँदैन। माटोमा अन्डा पारेर चल्ला कोरल्छ। भाले डाँफेले गर्मीयाम चैत–वैशाखमा नाचेर, विभिन्न किसिमको स्वर निकालेर, विभिन्न कला प्रदर्शन गरेर पोथीलाई आफूप्रति आकर्षण गर्छ र प्रजनन प्रक्रियामा पोथी सहभागी हुन्छ। यसैलाई आधार मानेर बनाइएको ‘डाँफे नाचेर’ भन्ने गीत हामीले सुनेका छौं।
चैत–वैशाखमा अन्डा पार्ने डाँफेले दुईदेखि तीन हप्तामा चल्ला कोरल्ने चराविद् राजेन्द्र गुरुङले बताए। उनले पोथी डाँफेको रङ खैरो हुने भएकाले बाहिरी चलखेलबाट जोगिएर सुरक्षित हुन खैरौ झारमा लुक्ने, अन्य जनावर, मान्छे जान नसक्ने भीरमा माटोमा गुँड बनाएर चल्ला कोरल्ने जानकारी दिए। चैत वैशाखमा कोरलेका डाँफेका चल्ला भदौसम्म वयस्क भइसक्छन्।
अहिलेसम्म नेपालमा डाँफेको संख्या यकिन भएको छैन। तर, नेपालमा यसको संख्या तीन हजार पाँच सयदेखि पाँच हजारसम्म रहेको अनुमान छ। यो लजालु र डरपोक पन्छी भएकाले अन्य पन्छी, जनावर र मानिस देख्दा भाग्छ। भाग्ने क्रममा समेत ठोक्किएर मर्ने गर्छ यो पन्छी। कम संख्यामा रहेको, नेपालको बहुजातीय बहुभाषिक बहुसांस्कृतिक पक्षलाई समेट्ने बहुरंगी भएकाले यसलाई राष्ट्रिय पन्छीका रूपमा मानिएको हो।डाँफे केही देखेमा डराउने र भाग्ने भएकाले बासस्थान उपयुक्त हुनुपर्ने चराविद् गुरुङ बताउँछन्। यसका प्वाँख विभिन्न धार्मिक काममा प्रयोग हुने भएकाले चोरी सिकारी हुने गरेको छ। यस कारण पनि डाँफेको संख्या घट्दै गइरहेको छ।