पक्की घरको आसमा घर न घाट

पक्की घरको आसमा घर न घाट

सिरहा : लहान नगरपालिका–१२ भोटियाटोलकी दशनी मल्लिक (डोम)को परिवार बस्ने एक कोठे घर छ। त्यही घरमा उनी पति लगन मल्लिक र चारजना छोराछोरी प्रमोद, कविता, आनन्द र जिवनसँग बस्छिन्। एक कोठे घरमा आमाबुवासँगै सुत्न कठिनाई भएकाले उनका छोरा गर्मी महिनामा घर अगाडी रहेको हाटबजारको सेडमै रात बिताउँछन्। जाडोमा परिवारका सबै सदस्य एउटै कोठामा कोचिएर सुत्छन्।

खाना बनाउने अलग भान्सा कोठा छैन्। पानी नपर्दा घर बाहिर र पानी परेका बेला घरभित्रै खाना पकाउँन्। उनका छिमेकी शान्ति मल्लिकको पनि अवस्था त्यस्तै छ। उनको एउटै छानोमा दुई कोठे घर छ। एउटामा ढोका छ, अर्कोमा छैन। ढोका भएको कोठामा उनको छोरा रञ्जित बुहारी बबि र नाती शंकर सुत्छन्। शान्ति आफु छोरा सञ्जित, श्रवण र छोरी रञ्जुसहित अर्को कोठामा। शान्तिको पति केही वर्ष पहिले बितिसकेका छन्।

यी दुई डोम परिवारको ६ वर्षअघि सम्म फुसकै भएपनि बस्ने लायक घर थियो। उनीहरुलाई जनता आवास कार्यक्रमबाट पक्की घर बनाइदिने भन्दै पुरानो फुसको घर भत्काउन लगाइयो। पक्की घरका लागि जग हालेर केही काम पनि भयो। तर, ६ वर्ष बित्दा पनि उनीहरुको घर तयार भएको छैन। पक्की घरमा बस्ने उनीहरुको सपना अधुरै छ।

पक्की घर पाउने आसले भएको घर भत्काएपछि त्यही दिनबाट उनीहरुको परिवार बिच्चलीमा परेको हो। ‘पक्की घर पाउने आसले खुशी भइयो। केही नसोची पुरानो घर भत्कायौं’, लगनले भने, ‘तर, ६ वर्ष बित्दा पनि घर पाएका छैनौं। हाम्रो विजोग भएको छ।’ तत्कालिन समयमा घर बनाउने जिम्मा पाएका व्यक्तिलाई पटक–पटक भने पनि कसैले नसुनेको पीडितको भनाइ छ। गाउँमा अन्य दलित परिवारका घर भने बनिसकेको उनीहरुको भनाइ छ। घर निर्माण गर्दा मिस्त्री र सामग्री जनता आवास कार्यक्रमबाट दिएको र लेबर खर्च आफैँ तिरेको उनले सुनाए। ‘घर निर्माण समितिका व्यक्तिले लेबर खर्च दिनपर्छ भन्यो’, उनले भने, ‘परिवार सदस्य सबै खटे। लेबर खर्च पनि तिरेकै हो तर घर पुरा भएन। लेबर खर्च तिर्दा उल्टै ऋण लागेको छ।’

डोम समुदायको मुख्य पेसा बाँसको सामाग्री उत्पादन हो। शान्ति र लगनको घर परिवारले पनि बाँसको सामाग्री उत्पादन गर्दै आएका छन्। उनीहरुले बनाएको बाँसको सामग्री बेच्न भोटिया टोल आँधी गाउँ र गणेशपुर जानु पर्छ। डोम परिवार आफूले उत्पादन गरेको बाँसका सामग्री बेच्न गाउँ–गाउँ पुग्ने गर्छन्। यस समुदायमा आफुलाई तोकेको गाउँ बाहेक ठाउँमा गएर बाँसको सामग्री बेच्न बन्देज छ। ‘गरी खाने थोरै गाउँ छ। बाँसको सामग्री बेचेर बढी आम्दानी हुँदैन’, लगनले भने, ‘घर परिवारको गुजारा चलाउनु कि घर बनाउनु दुखै दुख छ ? ’

एक वर्षअघिदेखि वडा नम्बर–१३ को कार्यालयमा सरसफाई कर्मचारी नियुक्त भएका ,’ शान्तिले भनिन्, ‘पक्की घर पुरा गर्न वा त्यसलाई भत्काएर फेरी फुसकै घर बनाउन पनि पैसा चाहिन्छ। आयआर्जन कम भएकाले समस्या छ। रातदिन चिन्ताले सताउँछ।’ सुरुमा आफ्नो घर बनाइदिन ठेक्का लिएका व्यक्तिलाई भन्न जाँदा उल्टै गाली गरेको उनको भनाइ छ। ‘कहिलेकाहिँ घरमा पाहुना आउँदा बाहिरै सुताउनु पछै’, उनले दुखेसो पोखिन्।

०६९/०७० सालमै सरकारले जनता आवास कार्यक्रम लागु गरेको थियो। जसअन्तर्गत सिरहामा १ हजार घर निर्माण गरिने बताइएको थियो। त्यतिबेला बनाइएका घर गुणस्तरहीन भएको भन्दै व्यापक विरोध भएको थियो। यसबारे अख्तियारले अनुसन्धान पनि गरेको थियो। आर्थिक वर्ष ०७३/०७४ जनता आवास कार्यक्रमअन्तर्गत सिरहामा पुराना घर भत्काएर नयाँ बनाउने योजना ल्याइएको थियो। दुई वर्ष बित्दा पनि ९६० घर अधुरै छन्।

गत असारसम्ममा ४० वटा घर बस्न योग्य हुने गरी निर्माण भएको राजविराजस्थित सहरी विकास तथा भवन निर्माण कार्यालयको तथ्याकंमा उल्लेख छ। हाल जनता आवास कार्यक्रम प्रदेश सरकारअन्तर्गत छ। प्रदेश २ सरकारले दलित समुदायलाई प्राथमिकतामा राखेर घर बनाउने घोषणा गरेको छ। तर, कार्यालय र कर्मचारी व्यवस्थापन नहुँदा कार्यान्वयन हुन सकेको छैन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.