किशोरीको खोजीमा भारतीय प्रहरी अछाममा
अछाम : भारतमा काम गर्दै आएका अछामका केशव टमटाले भारतीय किशोरीलाई विवाह गरी अछाम ल्याएपछि खोजीका लागि भारतीय प्रहरी अछाम आइपुगेको छ। भारतको छत्तिसगढ राज्यअन्तर्गत कोबरा जिल्लाकी किशोरीको खोजीमा भारतीय प्रहरी अफिसर अशोक पाण्डेको नेतृत्वमा सादा पोशाकमा ३ जना प्रहरीसहित ४ जनाको टोली अछाम पुगेको हो। आइतबार दिउँसो अछाम पुगेका भारतीय प्रहरीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको तर नियन्त्रणमा भने नलिइएको अछाम प्रहरीले जनाएको छ।
भगाएर ल्याएकी किशोरी र युवालाई जिल्ला प्रहरी कार्यालयमै राखिएको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक कलेन्द्रबिक्रम शाहीले बताए। उनले भने, 'भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छैन, उहाँहरु हाम्रो सम्पर्कमा आउनु भएको हो।उहाँहरु जयगढ पुगेपछि गाउँ नगएर प्रहरीको सम्पर्कमा आउनु भएको हो।अहिले यस विषयमा छलफल भइरहेको छ।'
सादा पोशाकमा रहेका भारतीय प्रहरी टोलीसँग हातहतियार भने नरहेको प्रहरी निरीक्षक शाहीले जनाए। अछामको बान्नीगढी जयगढ गाउँपालिका ६ का १९ वर्षीय दर्नाका टमटाले १६ वर्षीया काजोल राठोरलाई भगाएर दुई महिनाअघि अछाम ल्याएका थिए।
ती किशोरीलाई लिन ३ जना प्रहरीसहित ४ जनाको टोली अछाम आइपुगेको गाउँपालिकाका उपाध्यक्ष लोकबहादुर साउँदले जानकारी दिए। भारतीय प्रहरी टमटाको घर पुगेर दुवैजनालाई भारत लैजान खोजेपछि स्थानीय प्रहरी र वडाध्यक्षको पहलमा मुद्दा न्यायिक समितिमा पुगेको उनले जानकारी दिए।
उनले भने, 'यस विषयमा न्यायिक समितिमा छलफल पनि भयो, भारतीय प्रहरीले दुवैजनालाई लैजान खोजेका छन् तर हामीले लैजान दिएनौ, भारतीय प्रहरी र भागी विवाह गरेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा बुझाएका छौं। भारतीय प्रहरी टोलीसँग किशोरीकी आमाले दिएको उजुरी छ।' यसअघि पनी अछामको चौखुट्टेबाट हतियारसहित दुईजना भारतीय प्रहरी पक्राउ परेका थिए।
प्रतिक्रिया दिनुहोस !