जोमसोम बिमानस्थलको कालोपत्रे अन्तिम चरणमा
मुस्ताङ : मुस्ताङ सदरमुकाम जोमसोम बिमानस्थल धावन मार्गको कालेपत्रेको काम अन्तिम चरणमा पुगेको बिमानस्थल सुधार आयोजनाले बताएको छ। आयोजना प्रमुख इन्जिनीयर कृष्णप्रसाद पौडेलका अनुसार बिमानस्थल कालेपत्रेको काम अन्तिम चरणमा पुगेको हो।धावन मार्ग कालोपत्रेका लागि करिब आधा दजर्न बढी मेसिन र दुई दर्जन मजदुरले धमाधम काम गरिरहेको इन्जिनीयर पौडेलको भनाइ छ।
नेपाल नागरिक उड्यन प्राधिकरणको चालु आर्थिक वर्ष बिनियोजित बजेटमा बिमानस्थल सुधारका लागि ९ करोड १२ लाख ६८ हजार बिनियोजन भएको हो।बिमानस्थल स्तरोन्नतिको जिम्मा एपेक्स कन्ट्रक्सनले लिएको छ। बिमानस्थल सुधारअन्तर्गत नदी नियन्त्रण तटबन्ध, एप्रोज बिमान पार्किङ (टेक्सीवे ), रनवे ग्रेड कटिङ, पर्खालसहित तारबारको फिनिसिङ र रनवे दायाँबायाँ साइड डेन ढलको काम भइरहेको इन्जिनीयर पौडेलले जानकारी दिए।
उनका अनुसार ८ सय १५ मिटर रनवेअन्तर्गत २ सय १५ मिटर हाइग्रेड रनवेलाई सम्याएर लेवल मिलाई नयाँ रन वे बनाएको जनाए।उनले रनवे कालोपत्रे अस्पाल प्रविधिबाट भइरहेको र सम्पूर्ण बिमानस्थल सुधारको औसत काम ८५ प्रतिशत सकिएको उल्लेख गरे।उनले रन वे कालोपत्रे सम्पन्नपछि रनवे मार्किङ हुने र तोकिएको समयभित्रै बिमानस्थल सञ्चालनमा आउने जानकारी दिए।
जोमसोम बिमानस्थल रनवेको काम भइरहँदा पोखरा जोमसोम बिमानस्थलको हवाई सेवा प्रभावित भएको हो ।जोमसोम आउने बिमान १५ दिनका लागि बन्द गरिएपछि जोमसोम बजार सुनसान भएको छ।सधैंजसो बिहानतिर निक्कै गल्जार छाउने जोमसोममा अहिले पर्यटक देख्न समेत मुस्किल परेको हो।गत वर्ष यही समयमा ९ दिनको अवधिमा १ हजार ९ सय २५ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए।
बिमानस्थल बन्दपछिको ९ दिनमा सडकमार्गहुँदै ८ सय ८९ जना मात्र विदेशी पर्यटक मुस्ताङ आएको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए।गाडी चढेर मुस्ताङ आउनेमा अधिकांश भारतीय पर्यटक रहेको उनले बताए।