कलंकी मालपोत नमुना घोषणा
काठमाडौं : बदनामी कमाएको काठमाडौं कलंकीस्थित मालपोत कार्यालयलाई नमुना कार्यालय घोषणा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना कार्यालयको उद्घाटन गरेका छन्। नमुना कार्यालय एकैद्वारबाट पारदर्शी सेवा प्रवाह उपलब्ध गराउन प्रबन्ध मिलाइएको छ।
नमुना कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताका प्रत्यक्ष सरोकार राख्ने कार्यालय आधुनिकीकरण गर्दै लाने अभियान मालपोत कलंकीबाट थालिएको बताए। उनले विकास र सेवा प्रवाहमा प्रविधिको प्रयोग गरी नयाँपन दिने बताए ।
उनले भौतिक पूर्वाधारको साथै कार्यालयको अन्तरवस्तुलाई नमुना बनाउन निर्देशन दिएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमाकुमारी अर्यालले मालपोत कार्यालय लथालिंग रहेको सेवा प्रवाहलाई व्यवस्थित गर्न कंलकीबाट सुरुवात गरिएको बताइन्।
उनले प्रविधिको प्रयोगबाट लिइने सेवाले मात्रै जनता खुसी हुनसक्ने निश्कर्षका साथ कलंकीमा प्रविधिमैत्री सेवा लिन थालिएको बताइन्। उनले कंलकीपछि साँखुहुँदै इलाम र पाँचथरलाई नमुना घोषणा गर्ने तयारी भइरहेको जानकारी दिइन्। उनले दुई वर्षभित्र प्रविधिमैत्री प्रणाली पेनडाइभमार्फत स्थानीय तहमा हस्तारन्तरण गर्ने घोषणा समेत गरेकी छन्। भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडीले नमुना कार्यालयको सेवाको बारेमा जानकारी दिए।