थबाङमा भुम्याको रौनक (फोटो फिचर)
थबाङ : मगरको भुम्या पर्वले थबाङ रोल्पामा रौनकता बढाएको छ । भुम्या नाच हेर्न जिल्लाका विभिन्न ठाउँबाट स्थानीय थबाङ गाउँपालिकाको केन्द्र ठूलो गाउँ पुगेका थिए ।
दमाहा, सहनाई, झ्याली र पैजनको तालमा सयौं महिला पुरुष नाचले सबैलाई तानिरहेको छ । थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीका अनुसार यहाँ असार १ गते भूमिको विशेष पुजाआजा गरेर भुम्या पर्वको आरम्भ हुन्छ ।
वर्षातको समयमा भल पहिरो नजाओस् भनेर भूमिको मान राख्दै यो पर्व परापूर्वकालदेखि मनाइदै आएको थबाङी मगर बताउँछन् । के बालक के बुढाबुढी, के तन्नेरी मगर, दलित सबै भुम्या नाचमा मख्ख थिए ।
कम्युनिस्ट किल्लाका रुपमा परिचित थबाङमा मगरको मौलिक संस्कृति देख्न सकिन्छ । तिनको संरक्षणमा यहाँका युवासमेत सक्रिय छन् ।
भुम्या संरक्षणका लागि २०७० सालमा भुम्या महोत्सव गरिएको थबाङी गिरिस पुन मगर बताउँछन् । विगत द्वन्द्वकालमा भुम्या पर्व मनाउन छाडिएको थियो । शान्ति प्रक्रियापछि भने प्रत्येक वर्ष मनाइदै आएको छ ।
असार १ गते विशेष पूजापछि २ गते ज्येष्ठ नागरिक सम्मान गरिन्छ । त्यसपछि असार पाँच गतेसम्मलगातार भुम्या नाचिन्छ । नाच नौ चालामा नाचिन्छ । नाचमा महिला र पुरुष लस्करै नाच्ने चलन छ ।
मौलिक गहना लगाएर र मगर जातिको पहिरनमा सजिएर नाच्छन् । पुरुषको गलामासमेत महिलाले लगाउने माला र गहना देख्न सकिन्छ ।