अधिकारका लागि पवित्राको विद्रोह
सिन्धुली : कलाकार पवित्रा रम्तेल दुई दिनदेखि सिन्धुलीमाढीको एउटा बन्द घरभित्र अधिकार खोजिरहेकी छन्। कालो पर्दाभित्रको जन्जिरमा बाँधिएकी रम्तेल चुलो चौकोदेखि, लोकतन्त्र, महिलाअधिकार, समानता, समावेशीजस्ता क्षेत्रमा महिला अधिकारको दर्बिलो आवाज निकाल्छिन्। तर, पुरुषार्थ समाजमा महिलाअधिकार, न्याय र समानता हात्तीको देखाउने दाँतजस्तै सावित भएको छ रम्तेलका लागि। न उनी जन्जिर चुँडालेर स्वतन्त्र हुन सकेकी छन् न त बन्दघरबाट मुक्ति।
अधिकारका नाममा नारा मात्र पस्कने पुरुषार्थ शैलीविरुद्ध सशक्त अभिनय हो यो कलाकार रम्तेलको। सिन्धुली कला घरको आयोजना तथा पकेट थ्रियटरको प्रस्तुतिमा सिन्धुलीमाढीको सभागृहमा प्रदर्शनमा आएको महिला अधिकारसम्बन्धी नाटक निधारमा सशक्त अभिनय गरेकी रम्तेल भन्छिन्, ‘एक दिन पक्कै पनि जन्जिर चँुडाल्छु र अधिकारका लागि सशक्त विद्रोह गर्छु।’
जिल्लामै पहिलो पटक थ्रियटर रंगमञ्च शैलीमा प्रस्तुत गरिएको नाटक निधारमा महिलामाथि हुने विभेदको अन्त्यका लागि जीवन्त अभिनय गरेकी कलाकार रम्तेललाई सयौं दर्शकको साथ छ। रम्तेलसँगै प्रगतिशील प्रतिभा केन्द्रका कलाकारहरू रीता पाख्रिन, निरुता लामा, सुस्मा हायू, आयुष्मा देवकोटा, पदम भाइ, पूजा गौतम, आकृति देवकोटालगायतले महिला मुक्तिका लागि बुलन्द आवाज उठाएका छन्।
महिलाको वास्तविक अवस्था उधिन्ने प्रयास गरिएको नाटक निधारको लेखन तथा निर्देशन कृष्ण खड्काले गरेका छन्। निर्देशक खड्का भन्छन्, ‘पाँच दिनसम्म प्रदर्शन हुने नाटक निधारमा कालकारले एउटा पुरुषले घर र समाजमा पाउने स्वतन्त्रता र महिलाले निभाउने सामाजिक तथा सांस्कृतिक भूमिकाका बारेमा कथाका माध्यमबाट पस्केका छौं।’
घरभित्र र घरबाहिरका गरुंगा बन्धनले थिचिएका महिलाले पुरुष समान न्याय र अवसरका निम्ति खोजेको अधिकारको कथालाई निधार नाटकले बोकेको कालाकार तथा सिन्धुली कलाघरका संयोजक नेपाली बाबु सुमन बताउँछन्।
कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्गबहादुर खत्रीबाट एक कार्यक्रमबीच शुभारम्भ गरिएको नाटक निधार दुई दिनमै निक्कै दर्शकले रुचाएका छन्।