शंकास्पद प्रेसर कुकरभित्र कपडा भेटियो
गाईघाट : उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगानगरपालिका कार्यालय परिसरमा शंकास्पद प्रेसर कुकर तर्साउने उदेश्यले राखेको पाइएको सुरक्षा संयन्त्रले जानकारी दिएको छ । शुक्रबार बिहान त्रियुगा नगरपालिका–११ मा रहेको कार्यालय परिसरमा शंकास्पद अवस्थामा प्रेसर कुकर भेटिएको थियो । सेनाले वमको आशंका गरी निस्क्रिय पार्ने क्रममा कुकरभित्र कपडा र तरल पदार्थ मात्र फेला पारेको सुरक्षाकर्मीले जनाएका छन्।
भुल्केस्थित नेपाली सेनाको १८ नम्बर बाहिनीबाट खटिएको बम डिस्पोजल टोलीले विर्को खोल्न वाटर क्यान प्रयोग गर्दा कपडा र तरलपदार्थ मात्र भेटिएको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । ‘तर्साउने मनसायले कुकर राखिएको हो, यसमा हामी संवेदनशील छौ।’ बुढामगरले भने।
२४ सै घण्टा सुरक्षागार्ड बसेको नगरपालिका कार्यालयभित्र कसरी कुकर राखियो भन्ने बिषयमा अनुसन्धान भइरहेको एसपी बुढामगरले जानकारी दिए । सुरक्षागार्डसँग सोधपुछ गर्दा बिहीबार दिउँसो ५ बजेतिर उक्त बस्तु देखिएको र सुरक्षागार्डले फोहोर ठानी वेवास्ता गरेको भनेको एसपी मगरले बताए ।
सिसी क्यामेराको निगरानीमा रहेको कार्यालयमा रातभर कुनै व्यक्ति कार्यालयभित्र प्रवेश गरेको नदेखिएको एसपी मगरले बताए । बिहान सरसफाईका लागि ट्याक्टर झिक्न लाग्दा झोलाभित्र राखिएको प्रेसरकुकर फेला परेको हो ।
लगत्तै नगरपालिकाका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तु फेला परेलगतै प्रहरीले कार्यालय परिसर २ घण्टा घेरा हालेको थियो। पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधि बढिरहेकाले शंकास्पदे प्रेसर कुकर राख्नुमा उनीहरुकै हात हुनसक्ने आशंका गरिएको छ ।