नेपाल–चिन अन्तरदेशीय व्यापार मेला हुँदै
मुस्ताङ : उत्तरी सीमावर्ती क्षेत्र कोरलानाकामा शनिबारदेखि नेपाल–चिन अन्तरदेशीय व्यापार मेला हुने भएको छ। बर्सेनी दुईपटक हुने उक्त व्यापार मेला करिब २ सातासम्म सञ्चालन हुने इलाका प्रशासन कार्यालय लोमान्थाङले जनाएको छ।
सीमावर्ती क्षेत्रका बासिन्दाबीच एक अर्काको अति आवश्यकीय सामग्री किनमेलका लागि बर्सेनी व्यापार मेला आयोजना हुँदै आएको इलाका प्रशासन कार्यालय लोमान्थाङका प्रमुख मुरारी निरौलाले जानकारी दिए। व्यापार मेलामा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिक किनमेल तथा व्यापार गर्न कोरला जाने गरेका छन्। शनिबारदेखि सुरु हुने व्यापार मेलाका लागि यस पटक चिनिया पक्षले प्रवेशकार्ड अनिवार्य गराएको छ।
कोरलानाकामा हुने व्यापार मेलामा जान सरोकारवालालाई इलाका प्रशासनले धमाधम बोर्डर प्रवेश कार्ड वितरण गरेको कार्यालय प्रमुख निरौलाले बताए। कोरलानाकामा चिनिया पक्षले बर्सेनी असार र भदौ महिनामा व्यापार मेला सञ्चालन गर्दै आएको छ। व्यापार मेलाका लागि जिल्ला र इलाका प्रशासन कार्यालयलाई जानकारी गराउने गरेको कार्यालय प्रमुख निरौलाको भनाइ छ।
अन्तरदेशीय व्यापार मेलाका लागि प्रशासनले यसपटक ८ सय जनालाई बोर्डर पास उपलब्ध गराइसकेको र यो संख्या बढ्ने बताएको छ। उनका अनुसार यसअघि व्यापार मेलाका लागि जम्मा दुई सय ७४ जनाले मात्र बोर्डर प्रवेश बनाइ नवीकरण गर्दै आइरहेका थिए।
केही वर्षअघिसम्म दुई देशमा सीमावर्ती बासिन्दालाई सहज हुने गरी नेपाल र चिनको तिब्बतीयन भूमिमा आलोपालो व्यापार मेला लाग्ने गरेको मुस्ताङका नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले बताए। पछिल्लो समय सुरक्षाको कारण देखाइ चिनियाँ पक्षले मात्रै व्यापार मेला सञ्चालन गर्दै आइरहेको छ।