मेरो चिठी कहाँ पुग्यो !
काठमाडौं : तपाईंले हुलाकमार्फत पठाएको चिठीपत्र सम्बन्धित ठाउँमा कति दिनमा पुग्छ ? आज कहाँ पुग्यो होला ? भोलि कहाँ पुग्नेछ ? कहींकतै अलमल भयो वा अड्कियो ? विगतमा यस्ता जानकारी पाउन सकिन्नथ्यो। लेखिएकै ठेगानामा चिठी पुग्दैन या बाटोमै हराउँछ कि भन्ने चिन्ताले सताउँथ्यो प्रेषकलाई।
तर अहिले यसबारे कम्युटरको स्क्रिनमा घरबाटै जानकारी पाइनेछ। यसका लागि हुलाक सेवा विभागले विशेष ट्र्याकको व्यवस्था गरेको छ। गोश्वारा हुलाक कार्यालयको ‘डब्लूडब्लूडब्लु डट जीपीओ डट जीओभी डट एनपी’ मा लग अन गरी डोमेस्टिक ट्र्याकिङमा चिठीको कोड नम्बर राखेपछि सबै जानकारी प्राप्त हुन्छ।
हुलाक सेवा विभागले देशका सबै जिल्लामा चिठी र पार्सल ट्र्याकिङ गरेपछि प्रयोगकर्ताले सहज सेवा पाएका छन्। साथै चिठी हराउने वा समयमै नपुग्ने समस्या हटेको छ। हुलाक सेवालाई जिम्मेवार र कर्मचारीलाई जबाफदेही बनाउन प्रविधिले सघाएको गोश्वरा हुलाक कार्यालयका प्रमुख वेदप्रसाद भण्डारीले बताए। ‘यो प्रविधि प्रयोगमा आएपछि चिठी हराएको गुनासो आएको छैन’, उनले भने।
नेपालमा चिठीपत्रमार्फत खबर, सूचना र समाचार आदानप्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोदीप सिंहले १९३५ सालमा नेपाल हुलाक घर स्थापना गरेका थिए।
एक सय ४१ वर्षे इतिहास बोकेको हुलाक ढिलो गरी प्रविधिसँग हिँड्न खोजेको छ। तीन वर्षदेखि यस्तो प्रविधिबाट स्वदेशभित्र चिठी र पार्सलको ट्र्याकिङ सुरु भएको हो। अहिले देशका ७७ वटै हुलाकमा यो प्रविधि पुगेको छ।
यस्तो छ प्रक्रिया
चिठी रजिस्ट्रर गरेपछि हुलाकले सबै विवरण भएको ‘बारकोड’ चिठीमा टाँस्छ। सेवाग्राहीले एउटा भौचर पाउँछन्। भौचरमा रहेको कोड नम्बर स्क्यान गरी सर्भरमा राखिन्छ। चिठी कहिले दर्ता भयो ? कुन हलकाराले चिठी कसलाई बुझायो ? कसले बुझ्यो ? कुनै हुलाकले चिठीपत्र समयमा नबुझाएको वा थन्काएको जानकारी पनि पाउन सकिन्छ।
‘केन्द्रबाटै चिठी कहाँ पुग्यो र कहाँ अलमलियो कसले गर्दा भन्ने थाहा पाउन सजिलो बनेको छ। हामीले त्यहीअनुरुप आवश्यक निर्देशन र एक्सन लिने गरेको छौं’, विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले भने। ६ महिनापछि यसको प्रभावकारिता अध्ययन गरी थप सुधार गर्दै लैजाने महानिर्देशक ज्ञवालीले बताए। यो प्रविधि गाउँ र इलाका हुलाकसम्म भने पुर्याउन बाँकी छ। यसका लागि चालु आवमा २० लाख रुपैयाँ बजेट छुट्याइएको छ।
नेपालले सर्भर प्रयोग गर्दा वार्षिक २५ सय स्विस फ्र्यांक तिर्नुपर्छ। यो रकमबाट ३० पटक स्क्यान गर्न सकिन्छ। त्यसभन्दा बढी पटक स्क्यान गर्नुपरेमा थप पाँच हजारदेखि सात हजार फ्र्यांक तिर्नुपर्छ।
यो प्रविधिबाट चिठी दर्तादेखि तोकिएको ठेगानामा नपुग्दासम्म सबै कुरा थाहा पाइने हुँदा सेवाग्राहीलाई सोधखोज गर्न सजिलो भएको छ।
गोश्वारा हुलाक कार्यालयका अनुसार स्वदेशमा सन् २०१७ मा ११ लाख ५ हजार दुई सय २२ वटा चिठी रजिस्टर भएका थिए। २०१८ मा एक लाख २ हजार र सन् २०१९ जुनसम्म ५० हजार ९ सय ७० चिठी रजिस्टर भएका छन्। यसबापत राज्यले २१ करोड ६ हजार ७० रुपैयाँ राजस्व संकलन गरेको छ।
हुलाक सेवा विश्वसनीय र छरितो बनाउन अरू धेरै काम बाँकी रहेको विभागका महानिर्देशक ज्ञवाली बताउँछन्। गोश्वारा हुलाकले देशभर सडक यातायातबाटै चिठी पठाउँछ। त्यसैले समयमै पुर्याउन कठिन भएको महानिर्देशक ज्ञवालीको भनाइ छ।
गोश्वारा हुलाकको सर्वेक्षणअनुसार तीन साताभित्र देशका जुनसुकै ठाउँमा चिठी पुग्छ। काठमाडौंबाट नजिकै रहेको हेटौंडामा चिठी पुग्न तीन दिन र पाल्पा नौ दिन समय लाग्ने गरेको छ।
‘यो प्रविधिले हुलाकको गुम्न लागेको साख फिर्ता गर्न सहयोग गरेको छ। पछिल्लो समय हुलाकमा चिठीको भोलुम पनि बढेको छ’, गोश्वरा हुलाक काठमाडौंका प्रमुख वेदप्रसाद भण्डारीले भने। ‘हिजो हाम्रो काम देखिएको थिएन। अहिले प्रविधिले काम देखाइदिएको छ’, भण्डारीले भने।
सरकारले सरकारी चिठी हुलाकबाटै पुर्याउने भने पनि त्यो अझै कार्यान्वयन भएको छैन। निजी कुरियरबाट पनि त्यस्ता चिठी जान्छन्। सरकारी नीति कार्यान्वयन भए हुलाक सेवालाई दिगो र भरपर्दाे रूपमा अगाडि बढाउन सकिने उनको भनाइ छ।
अन्य देशमा हुलाक सेवा व्यवसाय बने पनि नेपालमा सरकारले सेवाका रुपमा मात्रै विकास गरेको छ। व्यवसाय बनाउन यो प्रविधिले सघाउने महानिर्देशक ज्ञवालीले बताए।
प्रतिक्रिया दिनुहोस !